20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भौतिक पूर्वाधार थपिँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ २६, २०७३  


मनै लोभ्याउने ‘गाभर भ्याली’

 कोहलपुर, २६ माघ / कोहलपुर चौराहाबाट रत्न राजमार्ग हुँदै ७ किलोमिटर उत्तर पुगेर करिब एक किलोमिटर वनको ग्राभेल बाटो हिँडेपछि ‘गाभर भ्याली’ पुगिन्छ । चिसापानीमा रहेको सो गाभर भ्यालीमा रहेको डाँडामा गोलाकार बस्ती, बीचमा खेतियोग्य जमीन, एकान्त ठाउँ, स्वच्छ र रमणीय वातावरणले जो कोहीको पनि मन लोभ्याउँछ । झन् चराहरुको चिरबिर आवाजले वातावरण नै रमाइलो बनाउँछ । केही दुरीमै जंगली जनावरहरु देख्न पाइन्छ । रातीमा विभिन्न जंगली जनावरहरु वस्ती नजिक पनि आउने गरेका छन् ।
४÷५ वर्ष अघि गुमनाम यो ‘भ्याली’ मा अहिले आन्तरिक तथा बाह्य पर्यटकको भिडभाड हुने गर्छ । कारण यहाँ हिमालदेखि तराईसम्मका भेषभूषा, त्यस्तै प्रकारका परिकारको स्वाद र सांस्कृतिक रहनसहन रहेको छ d
अहिले गाभर भ्यालीमा अहिले ६ वटा सामुदायिक होमस्टे पुगेको छ । ५ वटा होमस्टे पहिले नै भएपनि अहिले एउटा होमस्टे निर्माण भएको छ । यहाँ थारू, मुगाली, हुम्ली लगायतका होमस्टे संचालनमा आएका छन् । बिदाका दिनमा त्यहाँका होमस्टे खचाखच भरिन्छन् । पारिवारिक जमघटदेखि सानाठूला बैठक तथा कार्यक्रमहरु पनि होमस्टेमा भइरहेका छन् ।
होमस्टेमा पर्यटकको इच्छानुसार थारू नाच, देउडा नाच, पञ्चेबाजा लगायतका नाच पनि देखाउने गरेको गाभर भ्याली सामुदायिक होमस्टे अध्यक्ष कृष्ण चौधरीले बताए । भ्यालीमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण हुने क्रम जारी छ । यहाँ अहिलेको आकर्षणको केन्द्रका रुपमा अष्ट्रिच फर्म पनि रहेको छ । ५ विगाहा क्षेत्रफलमा रहेको सो फर्ममा ८७ वटा अष्ट्रिच रहेका छन् ।
दैनिक रुपमा ५० बढी आन्तरिक पर्यटकले अवलोकन गर्ने खप्तड कृषि उद्यम व्यापार केन्द्रका मार्केटिङ्ग अफिसर वकिलजंग शाहले बताए । अष्ट्रिच अवलोकनका लागि विद्यार्थीलाई ५० र अन्यलाई १०० रुपैंया टिकट दर तोकिएको छ । उनका अनुसार सोही ठाउँमा कटेज र पानी पोखरी पनि बनाउने योजना रहेको छ । त्यस्तै अहिले लायन्स जैविक पार्कको पनि काम थालनी भएको छ । २० विगाहा क्षेत्रफलमा रहेको पार्कमा अहिले स्तम्भ र प्रवेशद्वारको काम चलिरहेको छ । त्यससँगै जोडिएको चिल्डे«न पार्क पनि निर्माण भैरहेको छ । केही भौतिक संरचना बनाइएपनि व्यवस्थित गर्न भने बाँकी नै छ । पर्यटन कार्यालयको सहयोगमा थारू संग्रहालयका लागि पनि भवन निर्माण भइसकेको छ । गाभर क्षेत्रमा पर्ने च्यामा गाउँमा थारू जातीय संग्रहालय निर्माण गरिएको हो । संग्रहालय पनि चाँडै नै सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

दिनप्रतिदिन गाभर भ्यालीले चर्चा पाएसँगै सो क्षेत्रमा विभिन्न संघसंस्थाहरुले आफ्नो व्यवसायलाई पनि विस्तार गर्दै लगेका छन् । शिवशिखर सहकारीले गाभर मै कृषि अनुसन्धान केन्द्र स्थापना गरेको छ । त्यस्तै अहिले करोड लगानीमा च्याऊ खेतीका लागि भौतिक संरचना बनिरहेको छ । यस्तै भ्यालीको दृश्यावलोकनका लागि भ्यु टावर पनि निर्माण गर्ने योजना छ । त्यस्तै घोडामा चढेर गाभर क्षेत्र अवलोकन गराउने र रिङ्ग रोड निर्माण गर्ने योजना रहेको छ । जसका लागि बाटोहरु पनि खोलिएको छ । अब यसै क्षेत्रबाट जंगल सफारीका लागि पनि बाटो खोलिएको छ । पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रका वासिन्दा वन तथा वन्यजन्तु संरक्षणमा पनि सक्रिय छन् ।

प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     3:41:44 PM  |