वीरेन्द्रनगर ।
नेकपा (एमाले) नेतृ तथा पूर्वसांसद शान्ता चौधरीको ‘शान्ताको अचार’ उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शाखामा आगलागी भएको छ । शुक्रबार मात्रै उद्घाटन भएको यस शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । आगलागीको घटनालाई नेतृ चौधरीले ‘शङ्कास्पद’ भन्दै तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेकी छिन् ।
प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर नगरपालिकाको दमकल गणेशचोकतिर पानी भर्न जाँदै गर्दा दमकलका चालकले बजारमा धुवाँको मुस्लो देखेका थिए । चालकले नै प्रहरीलाई खबर गरी दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए । प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ ।
आगजनीबाट चौधरीको करिब १५ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । तर, प्रहरीले क्षतिको यकिन विवरण तयार पारिरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार विद्युत् सट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । चौधरीले सामाजिक सञ्जालमार्फत तत्काल अपराधी पत्ता लगाई कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेटमा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’ उनका अनुसार नेपालगन्जमा शाखा विस्तार भइसकेको छ, भने बुटवल र धनगढीमा पनि नयाँ आउटलेट खोल्ने तयारी भइरहेको थियो । यसका साथै अप्रत्यक्ष रूपमा यसले सयौँ किसानलाई पनि लाभ पु¥याइरहेको उनको भनाइ छ ।
स्थानीय किसानका मुला, काँक्रो, लसुन, खुर्सानीलगायत उत्पादनहरू सिधँै खरिद गरेर अचार बनाइने हुँदा बजारको सुनिश्चितता भई उनीहरूलाई आर्थिक टेवा पुगेको चौधरीले स्पष्ट पारिन् । यसरी ‘शान्ताको अचार’ले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनसमेत मद्दत पु¥याएको उनको भनाइ छ । उनका अनुसार आर्थिक रूपमा पनि यो उद्योगले सफलता प्राप्त गइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्