‘संसद पुर्नस्थापना हुँदैन, तोकिएकै समयमा चुनाव हुन्छ’



कोहलपुर (बाँके) ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री प्रकाश ज्वालाले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् । आइतबार कोहलपुरमा पार्टी नेता कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै नेता ज्वालाले फागुन २१ गते तोकिएको निर्धारित समयमै निर्वाचन हुने बताएका हुन् ।उनका अनुसार अहिलेको अवस्थामा प्रतिनिधिसभा पुर्नस्थापनाको माग जायज छैन । संसद कुनैपनि हालतमा पुर्नस्थापना नहुने भन्दै भ्रममा नपर्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘नेकपा एमालेले संसद पुर्नस्थापनाको माग गरिरहेको छ । त्यो माग जायज छैन । ओलीले आफू सत्ताबाहिर जानुपरेको रिस फेर्न यस्तो कुरा गरिरहेका छन् । नेपाली काँग्रेसपनि ओलीकै बाटो हिँडेमा त्यो उनीहरूका लागि घातक हुन्छ । हामीले सुरुदेखि नै चुनावमा जाने भनिरहेका छौँ। सोही अनुसार तयारी पनि गरिरहेका छौँ । तपाईँहरू ढुक्क भएर चुनावको तयारीमा लाग्नुहोस् ।’ चुनाव गराउन राजनीतिक दलहरूले सरकारलाई सहयोग गर्नुको विकल्प नभएको उनले बताए ।

अहिलेको सरकारको मुख्य कार्यभार नै चुनाव गराउने भएकोले कुनैपनि हालतमा चुनाव सार्न नहुनेमा नेता ज्वालाले जोड दिए । फरक प्रसंगमा केपी शर्मा ओलीले वास्तै नगरेकाले माओवादीसँगको एकतामा जानु परेको बताए । सो अवसरमा नेता ज्वालाले १२ कम्युनिस्ट घटकहरू मिलेर नयाँ दल बनेको भन्दै उक्त पार्टी नेपाली विशेषतासहितको पार्टी भएको जिकिर गरे । अब यहीँ पार्टीले देशलाई निकास दिने उनको भनाइ छ ।

आगामी चुनावबाट देशको प्रमुख शक्ति बन्नेसमेत उनले दाबी गरे । उनले भने, ‘भर्खर पार्टी एकता भएको छ । अब केही दिनमा शीर्ष तहको बैठक बस्छ । केही दिनमा देशका विभिन्न जिल्लामा एकता सभा हुन्छ । कमिटीहरू एकीकृत हुन्छन् । हामी चुनाव केन्द्रित हुन्छौँ । चुनावी माहोल बनाउन सबैलाई आग्रह गर्दछु ।’ उनले केही समयमा अन्य कम्युनिस्टहरूसमेत यही पार्टीमा गोलबन्द हुने बताए । अशोक राई नेतृत्वको पार्टी लगायतका केही घटकसँग आन्तरिक रूपमा छलफल भइरहेको नेता ज्वालाको भनाइ थियो ।

‘वृहत् कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो लक्ष्य हो । सोही अनुसार हामी लागिरहेका छौँ । केही पक्षसँग सकारात्मक रूपमा कुराकानी भइरहेका छन् । केहीसँगमा छलफलमै छौँ,’ उनले भने । भेटघाटमा कार्यक्रममा तत्कालीन नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १ गते सोमबार