नेपालगन्ज म्याराथनको तयारी पूरा



नेपालगन्ज ।

मंसिर ६ गते शनिबार हुने ११औँ नेपालगन्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् । यसपटकको म्याराथनका विजेताहरूले दुई लाख रूपैयाँ पुरस्कार पाउने पनि सोही अवसरमा जानकारी दिइएको छ ।

सोही अवसरमा हुने महिलातर्फको हाफ म्याराथन विजेतालाई ७५ हजार रूपैयाँ पुरस्कार राखिएको ठकुरीले जानकारी दिए । म्याराथनमा दोस्रोलाई एक लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौँलाई १५ हजार, छैठौँलाई १० हजार पुरस्कार राखिएको जानकारी दिइएको छ । शीर्ष दश स्थानसम्म र दौड पूरा गर्ने सबैलाई पाँच हजार नगद पुरस्कार दिइने पनि जनाएको छ ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार म्याराथनसँगै हुने अर्काे इभेन्ट ४५ वर्षमाथिको भेट्रान दौडको शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ । महिला हाफ म्याराथानमा दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई १५ हजार र पाँचौँलाई १० हजार पुरस्कार राखिएको छ ।

यसैगरी १० किलोमिटर खुल्ला पुरुष तथा महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार राखिएको छ भने पाँच किलोमिटर स्कुलस्तरीय छात्र एवं छात्रा दौड र ह्वीलचियरतर्फका तीन जनालाईका शीर्ष तीन जनालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार, पाँचहजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

किड्स रनका सम्पूर्णलाई नगद तथा कर्पाेरेट रन तर्फका शीर्ष तीन जनालाई पदक, प्रमाणपत्र र सरप्राइज उपहार प्याकेज प्रदान गर्ने पनि जानकारी दिइएको छ । म्याराथनमा यसपालीदेखि एक स्कुललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिने, म्याराथनमा रोमान्चकता थप्न फोटो सम्बन्धि फिपिक्स कार्यक्रम कार्यान्वयनको तयारी गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ४ गते बिहीबार