नेपालगन्ज ।
नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी (आईसिपी)को भारततर्फको रुपैडिहामा रहेको चाँच चौकीमा मालबाहक सवारी साधनको पार्किङ्ग शुल्क बढाइएपछि नेपालगन्जको जमुनाह नाका हुँदै आयात निर्यात प्रभावित हुने देखिएको छ । भारततर्फको आईसिपीको पार्किङ व्यवस्थापन गर्ने ल्याण्डपोर्ट ल्याण्डपोर्ट म्यानेजमेन्ट अथोरिटीले पार्किङ शुल्क बढाएपछि भन्सार एजेन्टहरूले विरोध जनाइरहेका जानकारी पाएको नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले बताए ।
पौडेलले पार्किङ शुल्क बढाइएको विरोधमा नयाँ आयात रोकेका बताइएको पनि जानकारी दिए । तर, आईसिपीमा आइसकेका मालवस्तु भने आयात भएका उनले बताए । यसैगरी पेट्रोलियम पदार्थको आयात पनि नरोकिएको भन्सारका सूचना अधिकारी भन्सार अधिकृत पवित्रकुमार खड्काले जानकारी दिए । भन्सार प्रमुख पौडेलले भारततर्फको आईसिपीमा ४८ घण्टाका आधारमा पार्किङ शुल्क तय गरिएकोमा त्यसलाई २४ घण्टामा झारिएको र शुल्कमा पनि पाँचदेखि ६ सय रूपैयाँँ बढाइएको जानकारी पाएको बताए ।
पार्किङ शुल्क बढ्दा आयात निर्यातको लागत बढ्ने भन्दै व्यवसायी र एजेन्टहरूले विरोध जनाएका उनले बताए । उक्त निर्णय कहिलेदेखि लागु हुने भन्ने यकिन जानकारी आफूले नपाएको पौडेलको भनाइ छ । नेपालगन्ज उद्योगा वाणिज्य संघका प्रथम उपाध्यक्ष एवं उद्योगी चिरिन्जिवी ओलीले पनि भारतीय पक्षले बढाएको पार्किङ शुल्कले व्यवसायीहरू अब यसको विकल्प खोज्नेतिर जानसक्ने बताउँछन् ।
उनका अनुसार बढाइएको पार्किङ शुल्कले चन्द्रौटा र महेन्द्रगनगर तर्फका नाकाहरू प्रयोग गर्नु फाइदाजनक भएमा व्यापारीहरूले ती नाका प्रयोग गर्न सक्ने अवस्था आउन सक्छ । तर, भन्सारका सूचना अधिकारी खड्का सबै मालवस्तु सबै नाकाबाट आयात गर्न दिन भारतले पनि नदिने हुँदा सबै व्यापारी डाइभर्ट हुन्छन् भन्न नसकिने बताए ।
तर, यसको प्रभाव थाहा पाउनका लागि केही दिन कुर्नुपर्ने खड्काको भनाइ छ । ओलीका अनुसार भारततर्फको जाँच चौकीमा २४ घण्टामा जाँचपास नगरिदिने, सिस्टम नचलेको भनेर समय लम्ब्याइदिने गर्दा पनि व्यापारीहरू निकै मर्कामा परिरहेका बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्