कोहलपुर, साउन ४
बढ्दो विषादी प्रयोग हटाउन बाँकेमा विषादी जाँचका लागि प्रयोगशाला निर्माण हुने भएको
छ । खासगरी तरकारीहरुमा विषादीको प्रयोग हुने भएकाले नेपालगन्जको रानीतलाउस्थित कृषि उपज बजारमा प्रयोगशाला स्थापना गरिने छ ।
जिल्ला कृषि विकास कार्यालय, बाँकेका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णबहादुर बस्नेतले विषादी जाँचका लागि काठमाडौंमा उपकरण आइसकेको बताए । उनले रानीतलाउ कृषि बजारमै एउटा कोठामा विषादी जाँचका लागि प्रयोगशाला स्थापना गरिने जानकारी दिए । अबको ३÷४ महिनामा प्रयोगशालाको स्थापना गरेर चेकजाँच शुरु गरिने उनले बताए । विषादी जाँच प्रयोगशाला स्थापना गरेपछि विभिन्न सरोकारवाला निकायलाई यससम्बन्धी प्रशिक्षण दिइने उनले बताए ।
हाल विषादी जाँच प्रयोगशाला नहुँदा बजारमा जस्तोसुकै किसिमको तरकारी पनि विक्री भइरहेको छ । प्रयोगशाला स्थापना भएपछि विषादीको मात्र चेकजाँच गरेर मात्र उपभोक्तालाई विक्री गर्न पाइने प्रमुख बस्नेतले बताए । हाल बाँकेका विभिन्न ठाउँबाट उत्पादन हुने विभिन्न खाले तरकारी नेपालगन्जको रानीतलाउस्थित कृषि उपज बजारबाट विक्री वितरण हुँदै आएकाले सोही ठाउँमा प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
विषादीको सट्टा आइपिएम प्रविधि अपनाउन किसानलाई कृषि विकास कार्यालयले आग्रह गरे पनि कतिपय किसानले भने विषादीको प्रयोग नगर्दा किराको प्रकोपका कारण उत्पादन कमी भएको भन्दै विषादी प्रयोग निरन्तर गर्दै आएका छन् । सचेतना र विषादी जाँचको कामसंगसंगै अगाडि बढाउन सकेमा मात्र विषादी नियन्त्रण हुने विश्वास गरिएको छ ।
प्रकाशित मिति : २०७३ साउन ३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्