16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

हावाहुरीले विद्यालयको टिनको छानो उडायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३  

कोहलपुर, जेठ ११
सोमबार आएको हावाहुरीले कोहलपुर २ विकासनगरस्थित जनता प्रा.वि.को टिनको छाना उडाएको छ । बिहान आएको हावाहुरीले विद्यार्थीहरु भित्र बसेकै समयमा तीन कोठे भवनको छाना उडाएको हो ।
हावाहुरीसँगै आएको वर्षाले विद्यालयमा सम्पूर्ण कागजातहरु भिजेको विद्यालयकी प्रअ रुपा पुनले बताइन् । यद्यपी विद्यार्थीहरु समेत सुरक्षित रहेका छन् । ‘विद्यार्थीहरु विद्यालयमा रहँदा आएको हावाहुरीले छानो उडायो’ प्रअ पुनले भनिन् ‘अर्को दुई कोठे पक्की भवनमा विद्यार्थीहरुलाई सुरक्षित रुपमा राखेका थियौं ।’
कक्षा ३ सम्म अध्यापन हुने सो विद्यालयमा ७८ जना विद्यार्थी रहेका छन् ।
यस्तै नेपालगन्जमा छिनभरको वर्षाले नगर क्षेत्र डुबान भएको
छ । नगरको घरवारी टोल, बेलासपुर, शान्तिनगर, गणेशपुर लगायतको ठाउँ डुबानमा परेका हुन् ।
नगरमा छिनभरको पानीले जलमग्न हुनु नेपालगन्ज उप–महानगरपालिकाको लापरवाही भएको स्थानिय हरी ज्ञवालीले बताए । उपमहानगरपालिकामा विभिन्न स्थानमा ढल निर्माण तथा सडक निर्माणको काम समयमै सम्पन्न नभए अझैं डुबानको सामना गर्नुपर्ने देखिएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाले असार मसान्त भित्र नगरका विभिन्न भागलाई डुवान मुक्त बनाउन ढल निर्माण तथा सडक निर्माणका कामलाई तीव्रता दिएको छ । तर, अझै ढल निर्माणको काम सम्पन्न हुन नसक्दा नगर डुवानको खतरा बढेको स्थानीयको भनाई छ । यस्तै सोमबारको हावाहुरीले जिल्लाका फलफुल उत्पादन गर्ने किसानहरु मारमा परेका छन् । हावाहुरीले आँप , लिचि लगायतका फलफुल झारेपछि किसानहरु मारमा परेका हुन् । यसैबिच अत्याधिक गर्मीका कारण कष्टकर जिवन बिताइरहेको यस क्षेत्रका नागरिकहरु सोमबार परेको पानीका कारण हर्षित भएका छन् ।  नेपालकै अत्याधिक गर्मी हुने स्थानका रुपमा परिचित नेपालगन्जका नागरिकहरु हावाहुरीसंगै पानी परेपछि शितलताको महसुस गरेका छन् । पानी परेपछि धान खेती गर्ने किसानहरु समेत खुसी भएका  छन् ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३     11:48:36 AM  |