ड्ड घाटा खाएर पेट्रोल कसरी ल्याउने ः पेट्रोल पम्प सञ्चालक
ड्ड जनतालाई दुःख दिनका लागि बहाना बनाइरहेका छन् ः ढुवानी व्यवसायी
केशव राना
कोहलपुर , बैशाख २६
कोहलपुर क्षेत्रमा पेट्रोलको हाहाकार भएको छ । पेट्रोल पम्प सञ्चालकहरुले पेट्रोल नल्याउँदा कोहलपुरमा पेट्रोलको हाहाकार भएको हो । बढी नाफा कमाउन पल्केका पम्प सञ्चालकहरुले डिजल मात्रै विक्री गर्ने गरेका छन् । तर, पेट्रोलमा घाटा हुने भएकाले नल्याएको उनीहरु बताउँछन् । कोहलपुर क्षेत्रमा रहेका पेट्रोल पम्प सञ्चालकहरुले ट्यांकरमा तोकिएको परिमाणभन्दा ५०–६० लिटर कम हुने गरेकाले पेट्रोल नल्याएको दावी गरेका छन् ।
भारतीय अघोषित नाकाबन्दीका बेला पेट्रोल ल्याउन तछाड मछाड गर्ने पम्प सञ्चालकहरु अहिले सहज हुँदा ल्याउन मानिरहेका छैनन् । यसबाट के पुष्टी हुन्छ भने यहाँका पेट्रोल पम्पहरुले नाकाबन्दीका बेला कालोबजारी गर्ने गरेका थिए । अघोषित नाकाबन्दीका बेला कोहलपुरबाट देशका विभिन्न ठाउँमा ग्यालेनमार्फत तेलको कालोबजारी हुने गरेको थियो ।
कोहलपुर १२, चप्परगौडीस्थित कनोडिया अटोमोबाइल्सले कालोबजारी गरी जिल्ला बाहिर पठाउन राखिएको पेट्रोलियम पदार्थको भरी ग्यालेन नै स्थानीयले नियन्त्रणमा लिएका थिए । त्यस्तै अन्य पेट्रोल पम्पबाट पनि धमाधम ग्यालेनमा पेट्रोलियम पदार्थ विक्री वितरण भैरहेको थियो । अहिले अघोषित नाकाबन्दी अघोषित रुपमै खुल्यो । तर, पनि कोहलपुर क्षेत्रमा पेट्रोलको हाहाकार भने अझैं कायमै रहेको छ ।
पेट्रोल पम्प सञ्चालकहरुले पेट्रोल कम दियो भनेर उजुरी गरेपनि आयल निगमले चासो नदिएको गुनासो गरेका छन् । कोहलपुर ११, बजारमा रहेको धिताल एण्ड धिताल्स पेट्रोल पम्पका संचालक चिन्तामणि धितालले पेट्रोल कम दिएका कारण पेट्रोलको माग नगरेको बताए । ‘घाटा खाएर पेट्रोल बेच्न सकिन्न’ उनले भने ‘पेट्रोल कम दियो भनेर आयल निगममा उजुरी दिएका छौं, आयल निगमले चासो दिएको छैन ।’ यता नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ बाँके अध्यक्ष अरजित सिंहले कोहलपुरका पेट्रोल पम्पहरुले जनतालाई दुःख दिनका लागि बहाना बनाएको आरोप लगाएका छन् । ‘अन्य ठाउँका पेट्रोल पम्पहरुले पेट्रोल माग गरिरहेका छन्’ उनले भने ‘कोहलपुरबाट पेट्रोलको माग आएको छैन, ट्यांकरमा पेट्रोल कम हुन्छ भनेर माग नगर्नु जनतालाई दुःख दिने बहाना हो ।’ उनले त्यस्तो शंका लागे ट्यांकरको जेकजाँच गर्नका लागि उजुरी दिनुपर्ने धारणा राखे । ‘यदि पेट्रोल कमी भएको पाइएमा त्यस्ता ट्यांकरहरुलाई कारबाही गरिन्छ’ उनले भने । साथै कम भन्ने लाग्यो भने भाडामा पनि पम्प सञ्चालकहरुले काट्न सक्ने उनको भनाई छ । यसै विषयमा छलफलका लागि आज (आइतबार) ढुवानी व्यवसायीहरु आयल निगमको क्षेत्रिय कार्यालय राँझा जाने भएका छन् । पेट्रोलको माग नगरेर जनतालाई दुःख दिने पेट्रोल पम्पहरुलाई डिजल पनि नदिनका लागि कुरा उठाउने नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघ बाँके अध्यक्ष सिंहले बताए ।
यता नेपाल आयल निगम नेपालगञ्ज क्षेत्रिय प्रमुख बिनितमणि उपाध्यायले आफू राजधानी भएकाले निमित्त प्रमुखलाई सम्पर्क गर्न आग्रह गरे । यता निमित्त क्षेत्रिय प्रमुख विक्रम गुभाजुसँग यसबारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन । यस क्षेत्रबाट पेट्रोल हाल्नकै लागि गनापुर, नेपालगञ्जसम्म धाउनुपर्ने बाध्यता छ । चिसापानी, महादेवपुरी, वनकट्वा लगायत क्षेत्रका उपभोक्ताहरु यसको प्रत्यक्ष मारमा परेका छन् । अन्य ठाउँमा सहज भएको पेट्रोल कोहलपुरमा भने हाहाकार छ ।