25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

आरनमा राधिका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३  

रुपा गहतराज

नेपालगन्ज । बाँके महादेवपुरी गाविसका अधिकांश युवा विदेशिएका छन्। भएकाले पनि आफ्ना पिता पुर्खाले गरी आएको परम्परागत पेशा गर्न छाडेका छन् । तर, त्यहीँकी २३ वर्षीया राधिका बिकलाई आफ्नो आरनमा भ्याइ नभ्याइ छ। फलामका हतियार बनाउने काममा आरनमा आगो फुक्दै फलाम पिट्न उनी विहानैदेखि जुट्छिन्।

बाँके महादेवपुर गाबिसको उदयनपुरमा उनी एक्ली हुन् जो गाउँले किसानका लागि ठुलो सहयोगी भएकी छन्। किसानका लागि अति आवश्यक फलामका औजार मर्मत गर्ने, धार लगाउने किसानको भीड राधिकाको आरनमा हम्मेशा हुन्छ।
पहिला श्रीमानले आरन चलाउँदा उनले श्रीमानकालाई सहयोग गर्थिन्। अहिले उनका श्रीमान रोजगारीका लागि काठमाडौ गएपछि यो पेशालाई उनले निरन्तरता दिँदै आएकी छन्।

फलाम ठटाउँदै

फलाम ठटाउँदै

‘श्रीमानलाई सहयोग गर्दागर्दै काम प्रति चाख बढ्न थाल्यो’, राधिकाले भनिन् । उनले दिनको १५ वटासम्म औजार मर्मत गर्छिन्। खेतीपातीको सिजनमा त उनीलाई भ्याइ नभ्याइ हुन्छ। अहिले उनले नयाँ हतियार बनाउन सिकीरहेकी छन्।

राधिका आफूले सिकेको सीपको सदुपयोग गर्ने बताउँछिन्। प्लसटुमा अध्ययनरत राधिकालाई आरनबाट हुने आम्दानीले खर्च चलेको छ। घरका सानादेखि ठूला आवश्यकता यही श्रमले जुटेको छ।

‘काम गर्दा हात बढी दुख्छ, उनले भनिन्, ठुला औजार पिट्न गाह्रो भएपनि अहिलेसम्म काम बिगारेको गुनासो सुन्नुपरेको छैन।’ ६ वर्ष अघि विवाह गरेर उनी महादेवपुरी आएकी हुन्। उनी र ४ वर्षीय छोरी, सासु, नन्द र देवरसँग महादेवपुरीमा बस्दै आएका छन्।

मजदुरीबापत उनलाई कसैले बाली दिन्छन् त कसैले नगद। तर, काम गराएर श्रमको मुल्य नदिने सँग उनको गुनासो छ। नयाँ हँसिया बनाउँदा उनले २०० देखि २५० रुपैयाँ ज्याला लिन्छिन्। हँसियामा धार लगाएबापत २५ , बन्चरोमा २०, खुर्पामा ३० रुपैयाँ उनको ज्याला हो।

काममा उनको सवैभन्दा ठुलो समस्या कोइला हो। कोइलाको अभावले काम सहज रुपमा गर्न नपाएको राधिकाले बताइन्। दाउरा सहजै नपाउँदा पेशाा नै संकटमा पर्ने हो की भन्ने डर उनलाइ छ। पुराना दाउराले अहिलेसम्म काम चलेको उनी बताउँछिन्।

सामान्यतया पुरुषले मात्र गर्ने चलन रहेको आरनको काम राधिकाले गरेको देखेर गाउँलेले पनि प्रशंसा गरेको उनी बताउँछिन्। मेहनत र लगनशिलता देखेर उनकी सासु देवमती सुनारले पनि उनको हौसला बढाएकी छन्। राधिका भन्छिन्– महिलाले सबै काम गर्न सक्छन्, सबै काम गर्नुपर्छ।

प्रकाशित मितिः शनिबार, बैशाख १८, २०७३     2:12:51 PM  |