25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

लाचार कोहलपुरका राजनैतिक दल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३  

यस विषयमा राज्यमन्त्रीले कुरा गर्न मानिनन्
अटेर गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्छ ः भार
विनोद पौडेल
केशव राना
कोहलपुर, बैशाख १६
‘कोहलपुर नगरपालिका प्रमुखविहीन छ र ?’ बाँके क्षेत्र नं. १ का सांसद देवराज भारले आश्चर्य प्रकट गरे । बुधबार मिसनकर्मीले गरेको टेलिफोन वार्तामा भारले आफूलाई कुनै पनि जानकारी नआएको बताए । ‘१९ दिन भैसकेछ तपाईले भनेर बल्ल थाहा पाएँ’ उनले भने ।
क्षेत्र नंं १ बाट प्रतिनिधित्व गर्ने सांसद भारलाई कोहलपुर नगरपालिका तथा यहाँका राजनैतिक दलका प्रतिनिधिले जानकारी गराएका रहेनछन् । यसबाट के देखिन्छ भने कोहलपुरका राजनैतिक दलले यस विषयमा जति चासो दिनुपर्ने हो त्यति नदिएको देखिन्छ । यहाँका राजनैतिक दलले दबाब दिनु त कता हो कता, यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदलाई समेत जानकारी नगराइएको पाइएको छ ।
सांसद भारले मन्त्रालयले खटाएको क्षेत्रमा जान्न भन्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने बताएका छन् । ‘म भोली (बिहीबार) नै मन्त्रालयमा गएर बुझ्छु’ उनले भने ‘मन्त्रालयले खटाएको क्षेत्रमा नगई अटेर गर्ने कर्मचारीलाई कारबाही गर्नका लागि कुरा उठाउँछु ।’ मन्त्रालयले तोकिसकेपछि कर्मचारी तुरुन्त कार्यक्षेत्रमा खटिनुपर्ने उनले धारणा राखे ।
राप्रपा नेपालका केन्द्रीय सदस्य हिक्मत ढकालले आफूले मन्त्रीलाई यस विषयमा जानकारी गराएका बताएका छन् । ‘राज्यमन्त्रीसँग कुरा भएको छ’ उनले भने ‘कोहलपुर नगरपालिका प्रमुखविहीन भएका कारण सेवाग्राही मर्कामा परेका छन्, भनेर ध्यानाकर्षण गराएका छौं ।’ कर्मचारीका कारण सेवाग्राहीलाई मर्का परिरहेको बताउँदै उनले भने मन्त्रालयले खटाएको कर्मचारी तुरुन्त आउनुपर्ने उल्लेख गरे । ‘कर्मचारी सरुवामा राप्रपा नेपालको कुनै चलखेल नभएर नेपाल सरकारको नीति अनुरुप सरुवा भई उपसचिवको दरबन्दी भएका कारण बढुवा भएका उपसचिवलाई यहाँ पठाइएको हो’ उनले भने ।
यता यसै विषयमा राज्य मन्त्री कुन्तीकुमारी शाहीसँग टेलिफोन सम्पर्क गर्न खोज्दा उनका प्रेस सल्लाहकारले उनी व्यस्त भएको र आज (बिहीबार) मात्रै कुरा गर्न सक्ने जानकारी दिए ।
मन्त्रालयमा हाजिर लाउँदै, तलब पड्काउँदै
कोहलपुर नगरपालिकामा आउने भनिएका नयाँ कार्यकारी अधिकृत माधवप्रसाद शर्मा मन्त्रालयमा हाजिर छन् । मन्त्रालयले उनलाई कोहलपुर नगरपालिकामा खटाएपनि उनले पत्र नबुझ्दा कोहलपुर नगरपालिका प्रमुखविहीन छ । कोहलपुर नगरपालिका आउनुपर्ने उनी मन्त्रालयमै हाजिर गरेर तलब भने जोगाइराखेका छन् । स्थानीय विकास मन्त्रालयका सहायक सूचना अधिकार कमल ज्ञवालीले कोहलपुर नगरपालिकामा जानुपर्ने कर्मचारी माधवप्रसाद शर्माले पत्र नबुझेको पुष्टी गरे । ‘पत्र बुझ्नु भएको छैन’ उनले भने ‘अहिले मन्त्रालयमै हाजिर हुनुहुन्छ ।’
कर्मचारी संगठनका नेता समेत रहेका उनी कोहलपुर नगरपालिकामा आउँदिन भन्दै अड्डी कसेर मन्त्रालयमा बसिरहेका छन् । शान्ति मन्त्रालयमा बारुदी सुरुंग व्यवस्थापन शाखा अधिकृत रहेका उनी उपसचिवमा बढुवा भएर स्थानीय विकास मन्त्रालयमा आएका हुन् ।
के भन्छन् नगरपालिकाका पार्टी प्रतिनिधि ?
कांग्रेस पार्टी प्रतिनिधि भुमबहादुर भण्डारीले आफूले नयाँ आउने भनिएका कार्यकारी अधिकृतलाई ‘कोहलपुरको विकास निर्माणको काम रोकियो’ भनेर व्यक्तिगत रुपमा पनि फोनबाट जानकारी गराएको बताएका छन् । ‘मैले व्यक्तिगत रुपमा पनि फोन गरेँ, तर बुवा विरामी भएको भन्नुभयो’ उनले भने ‘हामीले सम्बन्धित निकायमा पनि जानकारी गराएका छौं ।’ आर्थिक वर्षको अन्त्यतिर कोहलपुर नगरपालिका प्रमुखविहीन हुनु स्थानीय विकास मन्त्रालयको लापरबाही भएको बताएका छन् । ‘एउटा कार्यकारी अधिकृत पठाउन नसक्नु मन्त्रालयको चरम लापरबाही हो ।’
यता नेकपा एमाले कोहलपुर नगरकमिटी अध्यक्ष तथा नगरपालिकाका एमाले पार्टी प्रतिनिधि खिलप्रसाद भुषालले नयाँ आउने भनिएका कार्यकारी अधिकृतलाई भेटेरै छिटो आउनु भनेको जानकारी दिएका छन् । ‘नगरपालिकामा प्रमुखविहीन हुँदा डामाडोल भइसक्यो भनेर जानकारी पनि गराएको हुँ’ उनले भने ‘आउँछु भन्दै मिति सार्दै गर्नुभयो, अहिले आउन मान्नु हुन्न रे भन्ने सुनेको छु ।’ नगरपालिका प्रमुखविहीन हुँदा कोहलपुरको विकासका विभिन्न क्षेत्रका असर परेको बताएका छन् । मन्त्रालयले लापरबाही गरेका कारण अहिलेसम्म पनि नगरपालिका प्रमुखविहीन भएको बताए । आफूले पनि मन्त्रालयतहमा जानकारी गराएको बताएका छन् ।
यस्तै एमाओवादी पार्टी प्रतिनिधि ख्यामप्रसाद गौतमले नगरपालिका प्रमुखविहीन हुँदा सेवाग्राहीका काम रोकिएको बताए । साथै कर्मचारी परिचालनमा पनि समस्या उत्पन्न भएको उल्लेख गरे । उनले सम्बन्धित निकायमा आफ्नो पार्टीको च्यानलबाट पहल भैरहेको बताएका छन् । आफूहरुले नगरपालिका प्रमुख ल्याउन पहल जारी रहेको बताएका छन् ।
यसैगरी राप्रपा नेपालका पार्टी प्रतिनिधि तुलराज शाहीले आफूले दैनिक रुपमा ताकेता गरिरहेको बताएका छन् । ‘कार्यकारी अधिकृत छिटो पठाइदिन प¥यो भनेर भनेको भन्यै छु’ उनले भने ‘स्थानीय विकास मन्त्रीको स्वकिय सचिव, पार्टीका महामन्त्रीहरुलाई विकल्प दिनका लागि अल्टिमेटम पनि दिएको छु ।’ उनले आफ्नो तर्फबाट गर्न सक्ने सबै गरेको उल्लेख गरे ।
यस्तै राष्ट्रिय जनमोर्चाका पार्टी प्रतिनिधि भवानीप्रसाद पौडेलले आफू बाहिर भएकाले यसबारेमा कुनै पनि जानकारी नभएको बताए । यसैगरी नेकपा क्रान्तिकारीका पार्टी प्रतिनिधि तेजप्रसाद चापागाईले आफ्नो पार्टी सानो भएकाले स्थानीय स्तरमा पहल गरेपनि केन्द्रमा भने कुनै पहल गर्न नसकेको बताए ।
यी पार्टी प्रतिनिधिको कुराहरु बुझ्दा के लाग्छ भने यहाँका राजनैतिक दल एकदमै लाचार छन् । नयाँ आउने भनिएका कार्यकारी अधिकृत आउन मान्दैनन् भने नयाँ अधिकृत पठाइदिनका लागि पहल गर्नुपर्नेमा सम्बन्धित निकायमा जानकारी गराएको मात्रै भन्दै कुरा टार्न खोजेको जस्तो देखिन्छ । आर्थिक वर्षको अन्त्य हुने अवस्थामा कार्यकारी अधिकृत नहुँदा कोहलपुरको विकासमा अवरोध सिर्जना भएको छ । यति हुँदा पनि यहाँका राजनैतिक दल दबाब सिर्जना गर्न सकेका छैनन् ।
स्थानीय विकास मन्त्रालयले ‘माधवप्रसाद शर्मालाई कोहलपुर नगरपालिकामा पदस्थापना गरिएको’ भनेर कोहलपुर नगरपालिकामा चैत्र २३ गते फ्याक्स पठाएको थियो । तर, १९ दिन बितिसक्दा पनि कार्यकारी अधिकृत आउने टुंगो लाग्न सकेको छैन । नगरपालिका प्रमुखविहीन हुँदा सामान्य सिफारिसका कामहरु निमित्तबाट भएपनि नक्सा पास, नीतिगत निर्णय, बैठक छलफलबाट गर्नुपर्ने निर्णय र खर्चको भुक्तानीको काम रोकिएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     1:25:10 PM  |