काठमाडौं, वैशाख ६ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो खेल जितेको छ । प्रतियोगिता अन्तर्गत सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले हरायो । नामिबियाले प्रस्तुत गरेको दुई सय ४० रनको लक्ष्य नेपालले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि कप्तान पारस खड्काले शतकीय पारी खेले । उनले सात छक्का र पाँच चौकाको मद्दतमा एक सय तीन रन बनाए । सुरुमा धर्मराएको पारी पारस र शरद भेषावाकरले सम्हाले । पारस र शरदले एक सय ६४ रनको साझेदारी गरे । शरदले नटआउट ७७ रन बनाए । विनोद भण्डारीले १२ तथा सागर पुनले दुई रन बनाए । यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा राजेश पुलामि र सोमपाल कामीले एक एक रन बनाए । बसन्त रेग्मीले एक रन बनाए । नामिबियाका सारेल बर्गरले तीन, जिभागो ग्रोइनेवाल्ड दुई तथा गेरी स्नाइमन र जेजे स्मिथले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ९ विकेटको क्षतिमा दुई सय ३९ रन बनाएको थियो । नामिबियाका कप्तान स्टीफन बार्डले ६० बलमा ५१ तथा जेन ग्रिनले ८७ बलमा ४७ रन बनाए ।
सारेल बर्गरले नटआउट ४३ रन बनाए । यस्तै जेपी कोट्जेले ३२, निकोलाश स्चोल्ट्सले २२, जेजे स्मिथले १४, लोहान लरेन्सले १०, पिक्की या फ्रान्स चार तथा ग्रेहार्ड इरामस तीन रन बनाएर आउट भए । गेरी स्नाइनम डक आउट भए । नेपालका शक्ति गौचन, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान दुई विकेट लिए ।
शनिबार भएको खेलमा नामिबियालाई पाँच विकेटले हराएको नेपाल सोमबारको खेल पनि जितेपछि विश्वकप छनौट खेल्ने सम्भावना बलियो भएको छ । प्रतियोगितका ६ खेलमा दुई मा जित र चार खेलमा हारेको नेपालको चार अंक भएको छ ।
प्रतिक्रिया दिनुहोस्