कोहलपुर, बैशाख २
बाँके राष्ट्रिय निकुञ्जले २१ औं वन्यजन्तु सप्ताह बुधबारदेखि शुरु गरेको छ । नेपालको राष्ट्रिय झण्डा र बाँके राष्ट्रिय निकुञ्जको झण्डा झण्डोत्तोलन गरेर सप्ताह शुरु गरिएको हो । नेपालको झण्डा गोरखदल गणका निमित्त गणपती राम गुरुङ्ग र बाँके राष्ट्रिय निकुञ्जको झण्डा मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुन तथा निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले झण्डोत्तोलन गरेका थिए ।
साथै नयाँ वर्र्ष २०७३ को शुभकामना आदानप्रदान तथा वन्यजन्तु सप्ताहको कार्यक्रमको बारेमा जानकारी दिइएको थियो । सप्ताहका बारेमा जानकारी दिँदै निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने र समुदायलाई संरक्षणमा सहभागी गराउने उद्देश्यले सप्ताह मनाउन थालिएको बताएका छन् । उनले वन्यजन्तुको संख्या लोप हुँदै गएको अवस्थामा सप्ताहले वन्यजन्तुहरुको चोरी शिकार नियन्त्रण गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
‘वन्यजन्तु संरक्षणका निम्ती चुनौती धेरै छन्’ उनले भने ‘समुदाय पनि वन्यजन्तु संरक्षणमा सहभागी होऊन् भन्ने उद्देश्यले सप्ताह मनाउने गरिएको छ ।’
कार्यक्रममा मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनले वन्यजन्तु संरक्षणमा सबैको सहकार्य आवश्यक रहेको बताइन् । समुदाय स्तरबाट नै वन्यजन्तुको संरक्षण गर्नका लागि समुदायमा जनचेतना फैलाउन जरुरी रहेको धारणा व्यक्त गरिन् । साथै सप्ताहको अन्तिम दिन पशुचौपाया क्षतिको राहत वितरण गर्ने तयारी गरिरहेको समेत जानकारी दिइन् ।
‘वन्यजन्तुको भबिष्य हाम्रो हातमा’ भन्ने नाराका साथ शुरु भएको सप्ताह बैशाख ७ गते सम्पन्न हुनेछ । हरेक वर्ष झैं यसवर्ष पनि बाँके निकुञ्जले वन्यजन्तु सप्ताह शुरु गरेको हो ।
आज बिहीबार देखि ५ गतेसम्म निकुञ्ज अन्तरगत सल्यान र दाङ्गका ३ वटा मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिमा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम, सिबिएपियु गठन गरिनेछ । यस्तै ४ गते गिद्देनी चौर र ठुरिया क्षेत्रमा चरा अवलोकन वनस्पती पहिचान र स्कुल कार्यक्रम गरिने निकुञ्जको भनाई छ । ५ गते देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा सामुदायिक वन स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिनेछ भने ६ गते राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समिति कुसुममा निबन्ध प्रतियगिता, अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
सप्ताहको अन्तिम दिन ७ गते बरामद आखेटोपहार प्रदर्शन, संकलित अवैध हातहतियार सरोकारवाला निकायलाई हस्तान्तरण, क्यामरा ट्रयापको अवलोकन, वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान, प्रशंसापत्र प्रदान र वन्यजन्तु सप्ताहको समापन गरिने निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।
प्रकाशित मिति : २०७३ वैशाख २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्