20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

भूमिहिनको अधिकार कार्यान्वयन हुन नसकेको गुनासो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र २, २०७२  

कोहलपुर, चैत्र २
सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)ले आफ्नो २४ औं वार्षिक दिवस एक कार्यक्रमकाबीच मनाएको छ ।
भूमिहिन, गरिब तथा साना किसानलाई संगठित गरी नीति निर्माणमा पहुँच बढाउने, सामाजिक असमानताको अन्त्य गर्न सहयोग पु¥याउन र भूमि सम्बन्धी अनुसन्धान तथा ज्ञान निर्माणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थापना भएको सेवा केन्द्रले सोमबार कोहलपुरमा वार्षिक दिवस मनाएको हो । २४ औं वार्षिक दिवसको अवसरमा २४ वटा विरुवा रोपिएको छ ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय अध्यक्ष ल्यामबहादुर दर्जीले संविधानमा भूमिहिनको अधिकार समेटिएपनि कार्यान्वयनको पाटो भने फितलो भएको जिकिर गरे । उनले भूमिहिनको अधिकारलाई कार्यान्वयनमा ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
‘भूमि सुधार बिना मानवअधिकार र खाद्य अधिकार सुनिश्चित हुन सक्दैन’ उनले भने ‘त्यसैले भूमिहिनहरुको अधिकार कार्यान्वयन हुन जरुरी छ ।’
कार्यक्रममा सेवा केन्द्र र सेवा केन्द्रले हालसम्म गरेका उपलब्धि र चुनौतीका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सिएसआरसीका कोहलपुर स्रोत केन्द्रका संयोजक भागिराम चौधरीले सिएसआरसीको परिवेश र संक्षिप्त प्रतिवेदन पेश गरेका थिए । उपस्थित सहभागीहरुले सुझावका साथै जिज्ञासाहरु पनि राखेका थिए ।
सिएसआरसीका संस्थापक कार्यसमिति सदस्य मानबहादुर क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा खाद्य अधिकार सञ्जाल क्षेत्रिय अध्यक्ष धर्मलाल रोकाया, दलित गैरसरकारी संस्था महासंघका क्षेत्रीय अध्यक्ष डिलबहादुर परियार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र २, २०७२     10:07:27 AM  |