भवन निर्माण गर्दा ३० प्रतिशत अनिवार्य खुला क्षेत्र राख्नुपर्ने



कोहलपुर, माघ २०
कोहलपुर नगरपालिका क्षेत्रभित्र घर तथा भवन निर्माण गर्दा अनिवार्य रुपमा ३० प्रतिशत खुला क्षेत्र अनिवार्य राख्नुपर्ने भएको छ । भौतिक संरचना निर्माण गर्दा ३० प्रतिशत खुला क्षेत्र नराखिएमा नक्सा पास नहुने नगरपाालिकाले जनाएको
छ ।
यस्तै नक्सा पास नगरी भवन निर्माण गरिएमा नगरपालिकाले कानुन बमोजिम कारबाही प्रक्रिया अघी बढाउने कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द प्रसाद पाण्डेले जानकारी दिएका छन् ।
भवनको नक्सा निर्माण गर्दा न्यूनतम ८ मिटरबाटो, १.५ मिटर सेटब्याक, १२×१२ को पिल्लर तथा टाइबिम, सेफ्टी ट्यांकी, एक घरमा ५ रुख लगाउने ठाउँ र ३०% खुला क्षेत्र अनिवार्य रुपमा राख्नुपर्ने पाण्डेले बताए ।
यस्तै भवन मापदण्ड लागू हुनुभन्दा पहिला बनेका घरहरुको भने २०७२ माघ १ गतेदेखि एकवर्षभित्र नगरपालिकाबाट नक्सा प्रमाणित गराई राख्नुपर्ने र तोकिएको समयमा नक्सा पास नगराउनेहरुलाई नियमानुसार जरिवाना लाग्ने नगरपालिकाको भनाई छ ।
‘भवन मादपण्ड लागू हुनु अघि बनिसकेका घरहरुको एकवर्षभित्र नक्सा प्रमाणित गराइ सक्नुपर्छ’ पाण्डेले भने ‘नयाँ बन्ने घरहरु भने भवन मापदण्ड अनुसार नै अनिवार्य रुपमा बनाउनुपर्छ, नत्र नगरपालिकाबाट नक्सा पास हुँदैन ।’
यसैगरी जग्गा प्लटिङ्ग गर्नुपूर्व नगरपालिकाबाट अनिवार्य रुपमा प्लटिङ्ग अनुमति लिनुपर्ने भएको छ । प्लटिङ्ग गरिएको जग्गामा न्यूनतम ८ मिटरको बाटो हुनुपर्ने, प्लटिङ्ग गरिएको जग्गामा नियमानुसार खुला क्षेत्र छोडिएको हुनुपर्ने कार्यकारी अधिकृत पाण्डेले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ २० गते बुधबार