दाङ, माघ १९ गते । दाङका ९० जना नमुना किसानलाई उन्नत कुखुराका चल्ला वितरण सुरु गरिएको छ । जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रमअन्तर्गत गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्न थालिएको हो ।
कोइलावास, राजपुर र वेला गाविसका २७ जना किसानलाई प्रतिकिसान १० वटा कुखुरा प्रदान गरिएको सु–आहारा कार्यक्रमका जिल्ला कृषि अधिकृत नवीन श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाका कोइलावास, राजपुर, वेला, डुरुवा, फूलबारी, सैघा, स्यूजा, काभ्रे, लुहारपानी र हाँसीपुर गाविसका किसानलाई न्यू हेम्पसायर, ब्ल्याक अस्ट्रलोर्प र गिरिराज जातका कुखुरा बाँडिएको छ ।
“गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाका लागि पोषण धेरै आवश्यक पर्छ, त्यो पोषण कुखुराको अन्डामा पाइने भएकाले गर्भवती महिला र बच्चाको पोषण सुधार गर्न कुखुराका चल्ला बाँडेका हौँ” – जिल्ला कृषि अधिकृत श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार एउटा वडाका एक किसानलाई कुखुराका चल्ला दिएको र कुखुराले अन्डा दिन थालेपछि गाउँका अन्य गर्भवती महिला र बच्चा भएका घरमा सहुलियत दरमा बिक्री गरिने छ ।
यसैबीच किसानलाई कुखुरापालनसम्बन्धी पाँच दिनको तालिम दिइएको छ । अर्धबन्देज खोरमा कुखुरा पाल्नका लागि परियोजनाले सहयोग गरेको छ । यसरी कुखुरा पाल्दा राम्रोसँग हुर्कने, रोगको सङ्क्रमण कम हुने, चाँडो अन्डा दिने श्रेष्ठले बताउनुभयो ।
यसका साथै किसानलाई उन्नत तरकारीको बीउ पनि निःशुल्क बाँडिएको छ । रासस