प्राविधिक विषयको प्रबोधिकरण



कोहलपुर, माघ १७
उच्च माध्यामिक तहमा प्राविधिक विषयको प्रबोधिकरण कार्यक्रम कोहलपुरमा सञ्चालन गरिएको छ । उच्च माध्यामिक शिक्षा परिषद् पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा सानोठिमी, भक्तपुरको आयोजना र उच्च माध्यमिक शिक्षा परिषद् नेपालगञ्ज कार्यालय कोहलपुरको व्यवस्थापनमा एकदिने प्राबोधिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
यसै शैक्षिक सत्रदेखि उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगतको कक्षा ११ र १२ मा प्राविधिक शिक्षाको पाठ्यक्रम सञ्चालन हुँदैछ । जसअन्तरगत बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग र इलेक्ट्रोनिक इन्जिनियरिङ्ग गरी ५ किसिमका प्राविधिक विषयहरु रहेको उच्च माध्यामिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्यप्रसाद शर्माले जानकारी दिए । धरान र हेटौडामा यसअघि भैसकेको कार्यक्रम कोहलपुरमा तेश्रो चरण अन्तरगत सञ्चालन गरिएको उपाध्यक्ष शर्माले बताए ।
प्रबोधिकरण कार्यक्रममा नारायणी देखि सुदूरपश्चिमका २६ विद्यालयका ५२ जना प्राविधिक शिक्षकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रा.डा टंकनाथ शर्मा, प्रा.डा. दैनिक बहादुर नेपाली, प्रा.डा. शशिधरराम जोशी, प्रा.डा. गौतमवीर ताम्राकार, डा. संजिव पाण्डे, विष्णु भट्टराई र डा. इन्द्र आचार्यले प्रशिक्षण दिएको उच्च माध्यमिक शिक्षा परिषद् नेपालगञ्ज कार्यालय कोहलपुर प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए । उनले कोहलपुर कार्यालय अन्तरगत भेरी र कर्णालीका विद्यालयहरुमा २१६ जना विद्यार्थी प्राविधिक विषयका भएको बताए । कम्प्युटर इन्जिनियरिङ्गमा ७५, पशु विज्ञानमा ६१ र बाली विज्ञानमा ८० जना रहेको उनले बताए ।
प्रबोधिकरण कार्यक्रम उच्च माध्यमिक शिक्षा परिषद् पाठ्यक्रम तथा प्रशिक्षण प्रमुख जंगबहादुर अर्यालको सभापतित्वमा भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७२ माघ १७ गते आइतबार