21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

दाङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २३, २०७२  

पुष २३
२३ पुस, दाङ । तुलसीपुर घोराही सडकखण्डको सौडिकुलामा बुधबार बिहान स्कुल बस र यात्रुवाहक माइक्रो बस ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिएको जानकारीअनुसार कोहलपुरमा उपचारका क्रममा रोल्पा दुविडाँकाका २२ वर्षीय छविलाल नेपालीको मृत्यु भएपछि मृतकको सङ्ख्या आठ पुगेको हो । यसअघि बुधबार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पाँचजनाको मृत्यु भएको थियो भने दुईको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच दुर्घटनामा परी उपक्षेत्रीय अस्पताल घोराहीमा मृत्यु भएका तर खनाखत हुन नसकेका दुई महिलाको पनि सनाखत भएको छ । सनाखत भएकामा तुलसीपुर नगरपालिका–१ रानागाउँकी ३० वर्षीया सुशीला खड्का र तुलसीपुर नगारपालिका–६ की ४९ वर्षीया पवित्रा डाँगी रहेका छन् ।
सो दुर्घटनामा परी गम्भीर घाइते भएका २१ जनाको कोहलपुर र बुटवलमा उपचार भैरहेको छ । बुधबार बिहान करिव ९ बजे घोराहीबाट नारायापुरतर्फ विद्यार्थी लिन जाँदै गरेको रा १ क १९१ नम्बरको स्कुल बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको बस सौडिकुलामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, पुस २३, २०७२     1:08:48 PM  |