भर्भराउँदा युवामाथि सरकारको बर्बरता



वीरेन्द्र जैसी । नेपालगन्ज ।

नागरिकहरू चरम बेथितिले आजित भएको बेला सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय ग¥यो । आफ्नो भविष्यलाई लिएर चिन्तित १३ देखि २८ वर्ष उमेर समूहको पुस्ताले सामाजिक सञ्जाल बन्द भएको आक्रोशलाई भ्रष्टाचार विरुद्धको प्रदर्शनमा बदल्ने उद्घोषसहित सडकमा आएका बेला सरकारले उनीहरूको मागलाई सुन्नु त परै जाओस्, सोमबार राति साढे १० बजेसम्म १९ जना निहत्था नागरिकलाई गोली ठोकेर हत्या गरेको छ ।

यो पुस्ताले बेरोजगारीले आक्रान्त भएर अन्तर्राष्ट्रिय विमानस्थलमा आँसु चुहाउँदै देश छाड्न विवश युवाका दर्दनाक भिडिओहरूसँग नेता र शक्तिशालीहरूका सन्तानहरूले बाँचिरहेको विलासी जीवनशैलीसँग तुलना गरेर सामाजिक सञ्जालमा एक सिर्जनात्मक प्रदर्शन गर्दै थियो ।उनीहरूलाई सडकमा ल्याउन सरकारकै सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक, गैरसंवैधानिक र कच्चा निर्णयले बाध्य पारेको थियो । सामाजिक सञ्जाल बन्द गरेर सरकारले उनीहरूको बोल्ने जिब्रो बन्द गरेको थियो नै यो पुस्ताले चुपचाप आफ्नो भविष्यको निर्माण गर्ने बाटो खोजिरहेको सञ्चारमाध्यम नै बन्द गर्दा तुरुन्तै सडकमा आउनु अपरिहार्यता पनि खडा गरिदिएको थियो ।

तर, सरकारले उनीहरूको प्रदर्शनमा घुसपैठ भएको र अराजक बनेको भन्दै अन्धाधुन्ध गोली ठोकेर आफ्नो भविष्यका लागि जायज माग राखेर सडकमा आवाज उठाइरहेका युवाहरूलाई मारिदियो । सोमबार भ्रष्टाचारको विरोध गर्दै स्तःस्फुर्तरूपमा सडकमा उत्रिएका नागरिकहरूमाथि प्रहरीले गोली चलायो । बिहान नौ बजे नै माइतीघरमा जम्मा भएर सुरु भएको प्रदर्शनले बानेश्वरतर्फको निषेधित क्षेत्रको घेरा तोडेर अघि बढेपछि काठमाडौँ जिल्ला प्रशासनले दिउँसो १२ बजे कफर््यु लगायो । यसबीचमा प्रहरीले पनि प्रदर्शनकारीहरूलाई संसद् भवनतर्फ जान दिएको पाइएको छ । प्रदर्शन जब संसद भवन पुग्यो केही प्रदर्शनकारीहरूले संसद् भवनको गेटमा रहेको प्रहरी बिटमा आगजनी गरे ।

संसद् भवनको पर्खाल तोडफोड गरे । यहीबीचमा सडकमा सेना परिचालन गरियो । यहीबीचमा प्रहरीले प्रदर्शनकारीमाथि अन्धाधुन्ध अश्रुग्यास र गोली प्रहार ग¥यो । कतिपय घाइतेहरूले आफूहरूलाई कफ्र्यु लागेको थाहा नै नभएको बताएका छन् । निरन्तर गोली चलाए पनि प्रदर्शनकारी पछि नहट्दा प्रहरीले झनै व्यापक रूपमा दमन ग¥यो । जसले सयौँ प्रदर्शनकारीहरू घाइते हुन पुगे । सिभिल अस्पतालको इमर्जेन्सी कक्षमा बेड अभावले गर्दा बिरामीको उपचार भुइँमै गराउनुपर्ने स्थिति आयो । प्रहरीले अस्पताल पनि छोडेन ।

प्रहरीले अस्पतालको कम्पाउन्ड भित्रको चौरमा बसेकाहरूलाई समेत लक्षित गरेर अश्रु ग्याँस प्रहार ग¥यो । प्रहरीले सिभिल अस्पताल नजिकैको अग्लो भवनबाट अश्रु ग्याँस प्रहार गर्दा इमर्जेन्सी कक्षमा उपचार गराइरहेका बेला प्रवेशद्वार अगाडि नै अश्रु ग्याँस प्रहार गरेको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लीली थापाले विरोध प्रदर्शनकारीहरू माथि सुरक्षाकर्मीबाट अत्यधिक बल प्रयोग भएको देखिएका बताएको बिबिसीले लेखेको छ ।

उनले भनेकी छन्, ‘अत्यधिक बल प्रयोग गरेर कहिले हवाई फायर, कहिले रबरको गोली, कहिले लाठी, कहिले फोहरा गरेर प्रदर्शनकारीलाई आक्रोशित बनाउने काम प्रहरी र सरकारबाट भएको छ ।’ सरकारले शान्त रहन, संयमित हुन आह्वान गर्नुपर्ने ठाउँमा उत्तेजित बनाएको उनले आरोप लगाएकी छन् । आयोगले पनि प्रदर्शनका क्रममा सुरक्षा निकायको अत्यधिक बल प्रयोगका कारण प्रदर्शनकारीहरूको मृत्यु र घाइते भएका बताएको छ । प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरूको यथोचित रूपमा समयमै सम्बोधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारलाई राष्ट्रिय मानव अधिकारी आयोगले निर्देशन दिएको छ । साथै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।

मानवअधिकारकर्मीहरूको जवाफदेही निगरानी समितिले पनि सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक मात्रामा अन्धाधुन्द र असमानुपातिक घातक बल प्रयोग गरेको निष्कर्ष निकालेको छ । समितिले घातक बलकै प्रयोगका कारण दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु हुनुका साथै सयौं घाइते भएको निष्कर्ष निकालेको हो । समितिका संयोजक राजु चापागाईसहित सहसंयोजकहरू राजन कुईकेल, रुक्मिनी महर्जन, सदस्यहरू चरण प्रसाई, डा. गौरीशंकर लाल दास, डा. मन्दिरा शर्मा, दिनेश त्रिपाठी, ओमप्रकाश अर्याल लगायतले संयुक्त रूपमा विज्ञप्ति निकालेर प्रदर्शनमा भएको दमनको विरोध गरेका हुन् ।

पूर्वघोषित प्रदर्शन देशव्यापी रूपमा भड्किन सक्ने र घुसपैठ हुनसक्ने आँैल्याउदै जवाफदेही निगरानी समितिले आन्दोलनलाई ‘व्यवस्थित र शान्तिपूर्ण बनाउन होशियारी, तदारुकता र सावधानी अपनाउन सरकार चुकेको निष्कर्ष मानवअधिकारकर्मीहरूको छ । समितिले विज्ञप्तिमार्फत भनेको छ, ‘सरकार पूर्णतः असफल भएको परिणामस्वरूप नै आज नितान्त दुःखद र त्रासदीपूर्ण घटना घट्न पुगेको हो भन्ने जवाफदेहिता निगरानी समितिको प्रारम्भिक ठहर छ ।’

समितिले बल प्रयोगका स्थापित मूल्यमान्यताहरू मिचेर नागरिकको जीउज्यानमा भयानक क्षति पुग्ने गरी घटना भएको भन्दै उनीहरूले निन्दनीय घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने माग गरेको हो । समितिले घटनाप्रति क्षमा माग्नुपर्ने अनि सञ्चार तथा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको थियो । समितिले मानव अधिकार उल्लंघनका घटनाको अनुगमन गर्नसमेत राष्ट्रिय मानव अधिकार आयोग असफल भएको पनि निष्कर्ष निकालेको छ । मानव अधिकार उल्लंघनको रोकथामका लागि हरबखत प्रयत्न गर्नुपर्नेमा मानव अधिकार आयोग असफल भएको भन्दै उसले घटनाको स्वतन्त्र छानबिन गर्न पनि माग गरेको छ ।

सामाजिक, आर्थिक, मनोवैज्ञानिक, शैक्षिक लगायतका आयामवारे युवामा पर्नसक्ने प्रतिकुलताको बेवास्ता गरी सरकारले सामाजिक सञ्जाल बन्द गरेको र त्यसको चौतर्फी विरोध हुँदासमेत पुनर्विचार गर्न सरकार तयार नभएको भन्दै समितिले त्यसक्रममा प्रधानमन्त्री र मन्त्रीहरूका हठपूर्ण अभिव्यक्ति समेत घटनाको कारक रहेको निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन पनि राज्यले नागरिकको ज्यान लिन नमिल्ने टिप्पणी गरेको छ ।

नेपाल बारका महासचिव केदार कोइरालले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्तिसमेत उपलब्ध गराउन अनुरोध गरेको छ । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीको ज्यान गएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते हुने गरी सुरक्षा निकायबाट बल प्रयोग भएको घटनाको बारले भ्रत्र्सना गरेको छ । हालै सरकारले सामाजिक सञ्जाल निर्देशिका, २०८० अन्तर्गत दर्ता नभएको सामाजिक सञ्जाल निष्क्रिय बनाएको विषयमा पनि बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । जनताको जीउज्यानको संरक्षणलाई व्यवहारतः प्रत्याभूत गर्न पनि नेपाल सरकारसँग बारले माग गरेको छ ।

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानव अधिकारको पूर्ण प्रत्याभूति, विचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शनमार्फत अभिमत व्यक्त गर्न पाउनु पर्ने पनि बारको भनाइ छ । जेनजी मुभमेन्ट नेपालले भने आन्दोलनमा घुसपैठ भएको भन्दै शान्तिपूर्ण आन्दोलन जारी राख्ने भनेको छ । एक सूचना जारी गर्दै मुभमेन्टले भनेको छ, ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौँ, यो हाम्रो मूल उद्देश्य कहिल्यै थिएन ।’

‘जेनजीको आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै भएको पनि सूचनामा भनिएको छ । सम्पूर्ण नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरूका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस् । हाम्रो आवाज चोइटिन सक्दैन । न त अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौँ । हामी न्यायका पक्षमा छौँ । हामी भविष्यको पक्षमा छौँ,’ सूचनामा भनिएको छ ।
राजनीतिक रूपमा परिचालितहरूले प्रदर्शनलाई हिंसात्मक बनाएको जेनजी मुभमेन्टको भनाइ छ । ‘हाम्रो मूल उद्देश्य सदैव सुशासन, शान्ति तथा भविष्यको सुरक्षा हो । संसद् भवन हाम्रो शत्रु होइन । संसद् हाम्रो आफ्नो सम्पत्ति हो ।

जनताको पसिना र करले बनेको संस्था हो । र हाम्रो लक्ष्य हाम्रो सम्पत्तिलाई हानि गर्नु होइन,’ सूचनामा भनिएको छ, ‘यसको बाबजुद केही द्वन्द्वात्मक मनासय बोकेका, यस प्रदर्शनलाई आशान्ति र तोडफोड तर्फ तान्नेहरू राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरू हुन् । उनीहरूले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन् ।’

सरकारले मा¥यो नरेन्द्रका एक्ला छोरा

काठमाडौँमा भएको जेनजीहरूको प्रदर्शनमा नेपालगन्जका एक युवाको पनि ज्यान गएको खुलेको छ । ज्यान गुमाउनेमध्ये एक नेपालगन्जका सुलभ श्रेष्ठ रहेका छन् । २४ वर्षीय श्रेष्ठ नेपालगन्ज उपमहानगरपालिका–१ निवासी नरेन्द्र श्रेष्ठका एकमात्रै छोरा हुन् । पारिवारिक स्रोतका अनुसार काठमाडौँको इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका श्रेष्ठ प्रहरीले हानेको गोली लागेर घाइते भएपछि उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

सुलभका बुवा नरेन्द्र श्रेष्ठ नेपालगन्ज वडा नम्बर १ धम्बोझीस्थित भेरी स्कुलका सञ्चालक हुन् । नेपालगन्ज वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालका अनुसार नरेन्द्र सोमबार साँझै हवाईमार्ग हुँदै काठमाडौँ गएका छन् । सुलभका छिमेकी एवं शिक्षक भोजराज शर्माका अनुसार सुलभ एकदमै मेधावी विद्यार्थी थिए । उनले केही समय आफूले पढाएका विद्यार्थी रहेका भन्दै अहिले टोल नै शोकमा डुबेको बताए ।

देशभरका ठूला सहरहरूमा पनि प्रदर्शन

जेनजी पुस्ताको आन्दोलन काठमाडौैँमा मात्रै सीमित नरही देशका विभिन्न सहरहरूमा पनि भयो । सुनसरीको इटहरीमा भएको प्रदर्शनमा पनि प्रहरीले २ जनाको हत्या गरेको छ । त्यहाँ गोली लागेर अन्दाजी २५ र ३० वर्षीय पुरूषको मृत्यु भएको हो । प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएकालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरान पु¥याएलगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
काठमाडौँमा प्रहरीले गोली हानेर युवाहरूको हत्या गरेपछि आक्रोशित युवा समूहले इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा गर्न थालेपछि गोली चलाएको थियो ।

प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका थिए । सोमबार दिउँसो पालिका परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाईफायर गरेको थियो । लगत्तै प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन् । यसबाहेक ठूला सहरहरूमा पनि आन्दोलन चर्किएको छ । कतै कफ्र्यु लागेको छ । कतै आगजनी भएको छ । काठमाडौँमा १७ जनाको ज्यान गएपछि अन्यत्र पनि झन् आक्रोश बढेको हो । इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कफ्र्यु लगाएको छ ।

झापाको दमकमा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा ढुंगामुढा प्रहार गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीलाई प्रहरीले रोकेपछि दमकस्थित निवासबाट करिब १ मिटर टाढाबाट ढुंगामुढा प्रहार गरेका हुन् । सोमबार दिउँसो दमक नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन र आगजनीपछि प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ लागेका थिए । कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय जेनजीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध ¥याली घण्टाघर अगाडि कोणसभामा परिणत भएको थियो ।

‘जुरुक्क जेनजी’ जीउँदो कर्णाली नामक अभियान थालेका युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए ।प्रदर्शनकारीहरूले बुटवलस्थित नेकपा एमाले पार्टी कार्यालय घेराउ गरेका छन् । जेनजीहरूले त्यसअघि बुटवल उपमहानगरपालिकाको मुख्य गेट अगाडि प्रदर्शन गरेका थिए भने राजमार्ग केन्द्रित प्रदर्शन समेत गरेका थिए ।  जेनजीहरूको प्रदर्शनलाई मध्यनजर राखेर जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कफ्र्युसमेत जारी गरेको थियो । काभ्रेको बनेपामा पनि जेनजीहरूले प्रदर्शन गरेका छन् । उनीहरूले प्रदर्शनमा प्रहरीले गोली चलाएकोमा आपत्ति जनाएका छन् । उनीहरूले रगतको हिसाब मागेको प्लाकार्डसहित प्रदर्शन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार