देशभर विभिन्न कार्यक्रम गरी मंगलवार निजामती सेवा दिवस, २०७८ मनाइएको छ ।
निजामती सेवा ऐन जारी भएको दिनको सम्झनामा भदौ २२ गते निजामती सेवा दिवस मनाइने गरिन्छ । बाँके, बर्दिया लगायतका जिल्लाहरुमा समेत विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस, २०७८ मनाइएको थियो ।
यस वर्ष कोरोना भाइरसका कारण स्थानीय तह तथा सरकारी कार्यालयले आफ्नै कार्यालयमा दिवस मनाएका थिए । दिवसको अवसरमा बाँकेको नरैनापुरमा मंगलवार वृक्षारोपण कार्यक्रम गरिएको थियो ।
निजामती सेवा दिवस, २०७८ को अवसर पारेर नरैनापुर गाउँपालिकाको आयोजनामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा गाउँपालिकाको वडा नम्बर ६ कोहलामा वृक्षारोपण गरिएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।
नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष एवं वडा नम्बर २ का वडाध्यक्ष मसुद अहमद शाह र गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको नेतृत्वमा कोहलास्थित सन्तानेश्वर महादेव जाने बाटोमा वृक्षारोपण गरेको थियो ।
राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान अन्तरगत पिपल, गुलमोहर, लिची, आँप, जामुन, सुपारी लगायतका विभिन्न जातको एक सयभन्दा बढी बिरुवाहरु रोपिएको लेखापाल अधिकारीले बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले वृक्षारोपण गरिएका विरुवाहरुलाई हुर्काउन स्थानीयहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

‘रोपिएका विरुवालाई राम्रोसँग रेखदेख गरि सतप्रतिशत बिरुवा हुर्कुनुपर्दछ’ उनले भने, ‘यसका लागि स्थानीय नागरिकहरुको जिम्मेवारी महत्वपूर्ण हुन्छ ।’ मंगलवार नै दिवसको अवसर पारेर गाउँपालिकाका कार्यरत कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
सर्वउत्कृष्ट कर्मचारीको रुपमा भरतराज बुढाथोकी, उत्कृष्ट कर्मचारीको रुपमा विजय कुमार यादव, नागेन्द्र कुमार शाह, सदन भण्डारी र लक्ष्मीकान्त मिश्रा पुरस्कृत भएका हुन् ।
गाउँपालिका कर्मचारी पुरस्कारबाट मुकदर अलि मुकेरी, बुद्धि प्रसाद चौधरी, कृष्णा कुमारी चन्द, निर्मला कुमारी बोहरा र सगिर अहमद दर्जी पुरस्कृत भएका थिए । निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रमूख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
यस्तै बाँकेका राप्ती सोनारी, जानकी लगायतका स्थानीय तहहरुमा समेत दिवसको अवसर पारेर वृक्षारोपण गरिएको थियो । स्थानीय तहका कर्मचारीहरुले दिवसको अवसर पारेर वृक्षारोपण गरेका हुन् ।
सो अवसरमा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । नेपालमा करिब ८० हजार निजामती कर्मचारीहरु रहेको बताइएको छ ।
बाँकेमा रक्तदान
बाँकेमा निजामती सेवा दिवसको अवसरमा मंगलवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कर्मचारी मिलन केन्द्र बाँकेको आयोजनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको हो ।
दिवसको अवसरमा गरिएको रक्तदान कार्यक्रममा ५४ जना राष्ट्रसेवक कर्मचारीले रक्तदान गरेको कर्मचारी मिलन केन्द्र बाँकेका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख रामचन्द्र शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, जिल्लाका विभिन्न कार्यालयका कार्यालय प्रमुख, एवम राष्ट्रसेवक कर्मचारीको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्