भेरीमा शल्यक्रिया गर्दा बालिकाको पेटभित्रै छाडियो कपडा



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको शल्यक्रिया गर्दा एक गम्भीर लापरबाही भएको पाइएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सर्जन सुरेश नागलगायतको टोलीले शल्यक्रिया गर्दा प्रयोग गरिने कपडा एपेन्डिसाइटिसको शल्यक्रिया गराइएका १० वर्षीया बालिकाको पेटमै छुटाउँदा गम्भीर अवस्था आएको पाइएको हो । गत पुस महिनामा शल्यक्रिया गराइएका ती बालिकालाई शल्यक्रियापश्चात् पनि दुईपटक घाउ पुनः सिलाउने काम गरिएपनि चिकित्सकहरूले कपडा ननिकालेको पाइएको हो ।

ती बालिकाको शल्यक्रिया गर्न काटिएको घाउ शल्यक्रिया भएको आठ महिनासम्म पनि निको नभएपछि बालिकाले पीडा महसुस गर्ने क्रम बढ्दै गएपछि अभिभावकहरूले घाउ सफा गर्ने क्रममा घाउबाट कपडाजस्तो केही वस्तु बाहिर आइरहेको देखेको बताए । त्यसपछि निकाल्दै जाँदा शल्यक्रिया गर्दा प्रयोग गरिएको कपडा पेटभित्र रहेको थाहा पाएपछि उनीहरू आत्तिदै भेरी अस्पताल पुगेका थिए । ती बालिकाकी आमाका अनुसार २०८१ पुस २३ गते बालिकाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

तर चिकित्सकले टाँका खोलिने भनेको समयमा पनि घाउ निको नभएपछि मासु पलाएको भन्दै पुनः सिलाउने काम गरेका उनले बताइन् ।त्यसपछि पनि घाउ निको नभएपछि पुनः अस्पताल लग्दा घाउ पाकेको रहेछ भन्दै तेस्रोपटक घाउ सिलाइएको पाइएको छ । यसरी हरेकपटक शल्यक्रिया गर्दा बालिकाको भिडियो एक्स–रे गराइएको ती बालिकाका पिताको भनाइ छ । तर, चिकित्सकहरूले बालिकाको पेटमा कपडा रहेको भेउ पाउन नसकेको पाइएको छ । यसरी चिकित्सकको लापरबाहीले बालिकाको ज्यान जोखिममा पर्ने अवस्था उत्पन्न भएको पाइएपनि अस्पताल र बिरामी पक्षबीच बालिकाको उपचार खर्च अस्पतालले व्यहोर्ने सहमति भएको छ ।

भेरी अस्पतालका निमित्त प्रमुख डा. प्रकाश थापाले उक्त घटना जानकारीमा आएपछि बिरामीका आफन्तहरूसँग अब बालिकाको उक्त घाउ निको नहुन्जेलसम्म लाग्ने सबै खर्च अस्पतालले व्यहोर्ने सहमति भएको बताए । उक्त सहमतिपश्चात् बालिकाको फेरि शल्यक्रिया भई कपडा निकालिएको र अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको डा. थापाको भनाइ छ । डा. थापाले ती बालिकाको शल्यक्रियामा संलग्न चिकित्सकसहितको टोलीले लापरबाही गरेको स्वीकार गरे ।

उनका अनुसार धेरै बिरामीको चापका बेला कहिलेकाहीँ शल्यक्रियामा प्रयोग गरिएका सामानहरू भित्रै रहने जोखिम हुने गरेको डा. थापाको भनाइ छ । तर, हरेक शल्यक्रियाअघि र पछि सामानहरूको गन्ती गर्नुपर्ने आधारभूत नियम रहेको उनले बताए । तर, उक्त शल्यक्रियामा खटिएको टोलीले सामानको गन्तीमा लापरबाही गरेको हुनसक्ने वा धेरै चापमा बिर्सिएको हुनसक्ने डा. थापाको भनाइ छ । त्यसरी सामान गन्दा केही भूलचुक भएको रहेछ भने तत्काल सुधार्ने अवसर देओस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ ।

तर, यसरी शल्यक्रियामा कपडा छुट्ने घटना चिकित्सा क्षेत्रका लागि नौलो घटना नभएपनि सबैलाई सचेत पार्ने घटना भएको उनले बताए । ‘अब यस्तो घटना हुन नदिन सबैलाई सचेत पार्ने घटना भएको छ । मुख्य कुरा बिरामीको स्वास्थ्य अवस्था ठिक छ । तर, यसलाई फेरि हुन नदिन हामी सबैले उच्च सावधानी अपनाउनुपर्छ भन्ने पाठ यसले सिकाएको छ,’ डा. थापाले भने । डा. थापाले अहिले देखिएको लापरबाहीबारे उक्त शल्यक्रियामा खटिएका चिकित्सक टोलीलाई कारबाही अघि बढाउने नबढाउने बारे बिदामा रहेका अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी आएपछि थाहा हुने बताए । ‘म केही दिनको लागि निमित्त प्रमुखको भूमिकामा छु ।

डा. निराजन आउनुभयो भने घटनाबारे सबै जानकारी गराउँछौँ । बाँकी उहाँले निर्णय गर्नुहुन्छ,’ डा. थापाले भने । चिकित्सा पेशामा शल्यक्रिया गर्दा पेटभित्र कपडा छुट्नु वा शल्यक्रिया गर्ने सामग्री छुट्नुलाई गम्भीर लापरबाहीको घटनाका रूपमा लिने गरिएको एक चिकित्सकले बताए । यस्तो लापरबाहीले बिरामीको ज्यानै जोखिममा पार्ने भएकोले यो घटना सामान्य नभएको उनको भनाइ छ । कपडा शरीरमै छुट्दा त्यसले पेटभित्र संक्रमण गराउन सक्ने ज्यान जाने जोखिम हुने उनको भनाइ छ ।

यसैगरी कपडाले आन्द्रामा अवरोध उत्पन्न गराउन सक्ने भएकाले तत्कालै दोस्रो शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन्छ । तर, ती बालिकाको पेटमा उक्त कपडा करिब ८ महिनासम्म रहेको देखिन्छ । यसरी अड्किएको कपडा बिस्तारै शरीरले बाहिर धकेल्ने प्रक्रिया हुने चिकित्सकहरूको भनाइ छ । यस घटनाले संलग्न चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले कारबाहीको लागि आधार प्रदान गर्ने पनि ती चिकित्सकको भनाइ छ । तर, उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन र बिरामीबीचको उपचार खर्च व्यहोर्ने सहमतिमै यो विषय टुंगिने सम्भावना रहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २२ गते आइतबार