सम्पादकीयः जंगली धानको संरक्षण आवश्यक



हालैमात्र बाँकेका विभिन्न स्थानहरूमा जंगली धान देखिएको छ । पानी जम्ने खाल्डा, नाला, ताल तलाउ लगायतका जलीय कुण्डमा प्रशस्त मात्रामा जंगली धान देखिएको छ । जंगली धान भनेको हाल प्रचलनमा आएका सबै प्रकारका धानका पुर्खा मानिन्छ । जंगली धानबाटै अहिले खेती लगाइने धानहरू विकसित भएका हुन् । तथ्यांकअनुसार नेपालमा हालसम्म पाँच प्रजातिका जंगली धान पाइएको छ । पूर्वदेखि पश्चिमसम्म जलीय कुण्डमा देखिने जंगली धानलाई संरक्षण, संवद्र्धन र प्रवर्धन गर्न आवश्यक छ । नेपालमै पाइएका जंगली धानले नेपालबाटै धानको उत्पत्ति भएको भन्ने पुष्टि गर्दछ । सम्बन्धित सरोकारवाला निकायहरू सबै मिलेर जंगली धानको संरक्षण गर्न जरुरी छ । यसलाई संरक्षण गर्नका लागि कुनै एक व्यक्ति मात्र लागेर पुग्दैन् । विशेषगरी समुदायस्तरमा यसका बारेमा व्यापकरूपमा चेतना जगाउन जरुरी छ ।

समुदायलाई नै परिचालित गरेमात्र यसको संरक्षण गरेर दीर्घकालीन रूपमा प्रवर्धन गर्न सकिन्छ । जंगली धान पानी जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डमा पाइने गर्दछ । यो नेपालको तराईका विभिन्न जिल्लामा पाइन्छ, बाँकेमा पनि पानी जम्ने ठाउँमा प्रशस्तै छ, विशेषगरी कोहलपुर नगरपालिका क्षेत्रभित्र करिब एक बिघा क्षेत्रमा यो धान देखिएको छ । यहाँ देखिएका धान हालसम्म पहिचन भएका पाँच प्रजातिभित्र पर्छ कि कुनै नयाँ प्रजाति हो ? यसको बीउलाई संरक्षण गरेर सम्बन्धित ठाउँबाट परीक्षण हुनु आवश्यक छ । आफैँ जताततै उम्रने भएकाले यसलाई गाईवस्तुबाट जोगाउन र घाँस काट्नबाट रोक्नका लागि समुदाय सचेत हुनु जरुरी छ जसका लागि समुदायलाई जागरुक र यसका बारेमा जानकारी गराउन आवश्यक देखिन्छ । जंगली धानको बीउ संरक्षण गर्नका लागि स्थानीय सरकार, नगर कृषि शाखा, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार, संघीय सरकारको ध्यानाकर्षण हुनु आवश्यक छ ।

जंगली धान नेपालमा पाइनु सबै धानको मूल बीउ नेपालबाट नै उत्पादन भएको भन्ने जनाउँछ, यसको जैविक विविधतामा पनि ठूलोे भूमिका रहन्छ । समुदायमा जनचेतना जगाउनुका साथै सुरक्षा, संरक्षण, प्रवर्धन गर्ने तथा तालतलैया भएको ठाउँमा यसको बेर्ना सारेर यसलाई जोगाउनु आवश्यक छ । साथै तालतलैया, नाला, कुला, पोखरी, सिमक्षेत्र लगायतका जलीय कुण्डलाई पनि आवश्यक संरक्षण गर्न जरुरी देखिन्छ । स्थानीय सरकार र राज्यले यसमा गम्भीर चासो देखाउन जरुरी छ । हालसम्म नेपालमा पाइएका विभिन्न पाँचवटा प्रजातिका जंगली धानको पहिचान र नामाकरणसमेत भइसकेको र पहिचान भएका धानको बीउ, हाङ्गाहरू जीन बैंकमा सुरक्षित छन् । नेपालमै उत्पत्ति भएका कारण यी धानहरू किसानले सदियौँदेखि चिन्दै आएको तर वैज्ञानिक हिसाबले करिब सन् १९६० तिरबाट पहिचान सुरु भएको पाइन्छ । नेपालका वैज्ञानिकले भने २५ वर्षअघि सन् २००० बाट जंगली धानका बारेमा अनुसन्धान सुरु गरेका तथ्यांक छ ।

यसको संरक्षणका लागि विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिनुका साथै जलीय कुण्ड जीन बैंकको समेत स्थापना गर्न आवश्यक छ । विश्वमा हालसम्म जंगली धानका २०–२२ वटा प्रजाति पत्ता लागिसकेको तथ्यांक छ । यो धानको नजिकै खेती गरिएका धान हुने भएकाले सजिलैरूपमा एकआपसमा क्रसिङ हुने र उत्पादनसमेत बढ्ने हुने गर्दछ । जलीय क्षेत्रको संरक्षण गरेर यो धानलाई संरक्षण, प्रवर्धन गर्नका लागि समुदायस्तरबाटै अग्रसर हुनु जरुरी छ । नेपालकै विभिन्न स्थानहरूमा जंगली धान पाइनु देशकै लागि गौरवको समेत विषय हुन आउँछ । बाँकेमा पछिल्लो समयमा पाइएको यो धानलाई विशेष संरक्षण गरेर कुन प्रजातिको हो सो परीक्षण गरी पहिचान हुन जरुरी छ । र यसको बीउ संरक्षण गर्न आवश्यक देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २० गते शुक्रबार