सम्पादकीयः असल कार्यबाट सिक्न आवश्यक



शिक्षक भन्ने शब्द नै अत्यन्तै माननीय र पवित्र छ । शिक्षक पद नै सम्मानित छ । शिक्षकबिना शिक्षाको कल्पनासमेत गर्न सकिन्न । तर पछिल्ला दिनहरूमा भने शिक्षकको अपहेलना गर्ने, शिक्षकलाई कुटपिट गर्ने, शिक्षकमाथि नै अभद्र व्यवहार गर्ने, अपमान गर्ने, शिक्षकलाई मानमर्दन नगर्ने लगायतका अनुशासनहिन बानी व्यहोराका कारण र उच्छृङ्खल व्यवहारका कारण शिक्षक भन्ने पदको मान सम्मान घटिरहेको पाइन्छ । देशका भविष्यका कर्णधार, देशको नेतृत्व लिने वर्ग, सामाजिक व्यक्तित्व, बुद्धिजीवी वर्ग, पत्रकार, वकिल, न्यायाधीश, नेता, व्यापारी लगायतका हरेक क्षेत्रमा नेतृत्व लिने वर्ग भनेकै विद्यार्थीहरू हुन् । पहिलाको जस्तो अहिलेका विद्यार्थीहरू अनुशासित देखिँदैनन् । अनुशासन नभएमा त्यो व्यक्तिमा न त इमान्दारीता रहन्छ, न त इज्जत हुन्छ, न त उसले व्यक्तिगत चरित्र नै निर्माण गर्न सक्छ ।

एउटा विद्यार्थीका लागि शिक्षक भनेको महान व्यक्ति हो, जसले उसको भविष्य निर्माण गर्छ, उसको चरित्र निर्माण गर्छ र उसलाई सही दिशानिर्देश गर्दछ । विदेशमा हेर्ने हो भने शिक्षकलाई विभिन्न सेवासुविधा प्रदान गरिएको हुन्छ । उनीहरूलाई उचित मानसम्मान प्रदान गरिएको हुन्छ । उसका सबै आवश्यकताहरू सरकारले पूरा गरिदिएको हुन्छ र उक्त शिक्षकलाई राम्रोसँग विद्यार्थीलााई अध्ययन गराइ असल नागरिक बनाउनमा ठूलोे भूमिका निर्वाह गर्दछ । तर नेपालमा भने सबै क्षेत्रमा राजनीति घुसाउँदा शिक्षक पनि उक्त घानमा परेका छन् । उनीहरूका आवश्यकताहरू पूरा गर्न सरकार गम्भीर बनेको देखिँदैन् । पछिल्लो समयमा शिक्षकहरू पनि विभिन्न पार्टी निकट संगठनहरूमा आबद्ध भइ खुल्लमखुल्ला राजनीति गर्नाले पनि आफ्नो आफैँ घटाइरहेका पनि पाइन्छन् । तर जे जस्तो भए तापनि शिक्षक नहुने हो कुनै पनि विद्यार्थीको भविष्य सुनिश्चित हुँदैन् तसर्थः शिक्षकलाई उचित सम्मान प्रदान गर्न आवश्यक छ र सम्बन्धित सरोकारवाला निकायहरूले पनि उनीहरूका उचित आवश्यकताहरू पूरा गरी उनीहरूलाई स्वतन्त्र र खुला ढंगबाट अध्यापन गराउने वातावरण सिर्जना गर्न जरुरी छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरपालिकामा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने निर्णय गरेर सराहनीय कार्यको थालनी गरेको छ । शिक्षकहरूका आवश्यकताकाको पहिचान गरेको छ । हुन त उनीहरूलाई यसले मात्रै केही पनि धेरै राहत नहोला तर पनि पालिकाले गरेको निर्णयले उनीहरूलाई प्रोत्साहन भने पक्कै मिल्ने छ । विद्यार्थीलाई पढाउँदा थप अभिरुचि जाग्नेछ । सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई एउटा पालिकाले यस्तो सेवासुधिवा थप गर्दा पक्कै पनि सम्पूर्ण शिक्षा क्षेत्रमा र समाजमा एउटा सकारात्मक सन्देश फैलिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको भत्ता वृद्धि गर्ने उल्लेख गरेर सोही नीतिअनुसार चालू आवको बजेटमा प्रधानाध्यापकहरूको भत्ताका लागि नगरपालिकाले आवश्यक बजेटसमेत विनियोजन गरेको छ । यो कार्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको मनोबल उच्च राखी कुशल नेतृत्व र जवाफदेहिता अभिवृद्धि गर्न जिम्मेवारबोध गराउने छ । संघीय सरकारलेसमेत भत्ता उपलब्ध गराउँदै आए तापनि स्थानीय तहबाट त्यसैमा तहगत रूपमा थप हुने गरेर गरिएको निर्णयालाई सकारात्मक मान्न सकिन्छ ।

ठाकुरबाबाले जस्तै अन्य पालिकाले पनि यसको सिको गर्न जरुरी छ । अरु पालिकाहरूले पनि सिर्जनात्मक एवं नवप्रवर्तनात्मक कार्य गर्नका लागि अन्य आवश्यक सहायता प्राप्त गरेमा पक्कै पनि प्रधानाध्यापकको नेतृत्वले विद्यालयमा सही पठनपाठनका लागि पहल गर्दै राम्रो परिणाम दिन सक्नेछन् । र असल नागरिक उत्पादनमा उल्लेख्य भूमिका निर्वाह गर्नेछन् । यसबाट समग्र शिक्षाको गुणस्तर वृद्धि गर्नमा अहम् भूमिका खेल्ने विश्वास गर्न सकिन्छ । गुणस्तरीय शिक्षासँगै शिक्षामा नवीनतम पद्धतिको अवलम्बन शिक्षाको हब बनाउनका लागि शिक्षा विकासलाई प्राथमिकता दिनु जरुरी छ । यसबाट प्रधानाध्यापकलाई थप जिम्मेवार बन्ने तथा उनीहरू अतिरिक्त खटिनेछन् साथै थप जिम्मेवार र जवाफदेही बनेर विद्यार्थी तथा विद्यालय र समाजप्रति उत्तरदायी हुनेछन् । अन्य पालिकाले पनि यो असल कार्यबाट पाठ सिक्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार