पश्चिम क्षेत्रकै रेफरल अस्पतालको पहिचान बनाएको नेपालगन्जस्थित भेरी अस्पतालबाट अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्न लागिएको विषय खुसीको र सराहनीय छ । यसअघि उक्त रोगसम्बन्धी बिरामीहरूले पैसा तिरेर सो सेवा लिँदै आएका थिए । स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८० अन्तर्गत ती सेवाका लागि भेरी अस्पताललाई सूचिकृत गरिएसँगै उक्त रोगका बिरामीले निःशुल्क डायलाइसिस सेवा पाउने विषय अत्यन्तै सकारात्मक हो । अस्पताल सूचिकृत भएसँगै लामो समयदेखि डायलाइसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका उनीहरूलाई ठूलोे राहत मिल्ने देखिएको छ ।
अस्पतालबाट हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डायलाइसिस, स्पाइन इञ्जुरी, हेड इञ्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट निःशुल्क सेवा लिँदै आएकामा आजैबाट सो निःशुल्क डायलाइसिस सेवाबाट बिरामीहरूले सेवा लिन सक्नेछन् । भेरी अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचिकृतको अन्तिम तयारी थालिएको छ ।
मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि अस्पताल सूचिकृत भएमा मिर्गौला प्रत्यारोपणका बिरामीले भेरी अस्पतालबाटै सात लाख रूपैयाँ पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि चार लाख, औषधि खर्चवापत दुई लाख र अहिले एक लाख थप गरेसँगै उनीहरूले सात लाख पाउनसक्ने छन् ।
महाशाखाले त्यसबारेमा भेरी अस्पतालको अध्ययन प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयमा पठाउने तयारी गरिसकेको छ । यसअघि गत साउन दोस्रो साताबाट मानव अंग प्रत्यारोपण केन्द्रसँगको सम्झौतामा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ । दैनिक हजारभन्दा बढी बिरामीलाई विभिन्न रोगसम्बन्धी उपचार गर्दै आएको भेरी अस्पतालले विभिन्न विशिष्टिकृत सेवा प्रदान गर्दै आइरहेकोमा हाल थपरूपमा उक्त सेवाहरू पनि सञ्चालन हुँदा नागरिकप्रति सरकार उत्तरदायी बनेको देखिन्छ । यतिमात्र नभएर हरेक रोग र औषधिमा विपन्न, गरिब तथा पहुँच नभएका नागरिकहरूलाई सेवा प्रदान गर्न जरुरी छ । सरकारले आफू नागरिकको अभिभावक भएको महशुस गराउन आवश्यक छ ।
अधिकांश नागरिकहरू गरिबीको रेखामुनि छन् । उनीहरू स्वास्थ्य, शिक्षालगायतका मौलिक हकअधिकारबाट अझै पनि वञ्चित छन् ।
सबै नागरिकलाई स्वास्थ्य तथा शिक्षाजस्तो क्षेत्रमा पहुँचमा ल्याउनका लागि विभिन्न सहुलियतका कार्यक्रमहरू ल्याएर आम नागरिकलाई सरकार भएको महशुस गराउन सक्नुपर्दछ । विभिन्न बाहानामा नागरिकले तिरेको करबाटै सरकारले उनीहरूलाई सेवा प्रदान गर्ने हो । जनताले तिरेको कर उनीहरूको विकास तथा सेवामै प्रयोग हुनु जरुरी छ । सरकारले नागरिकलाई सरल र सहजरूपमा सेवा प्रवाह गर्दै जानु आवश्यक छ । भेरी अस्पतालबाट मात्रै नभएर दूरदराजका नागरिकलाई पनि यो सेवा प्रवाह गर्न जरुरी छ । सहरभन्दा पनि ग्रामीण क्षेत्रका नागरिकहरू स्वास्थ्य सेवाबाट अझै पनि वञ्चित छन् । त्यहाँका नागरिकलाई लक्षित गरेर यसप्रकारका विभिन्न सेवाहरू सञ्चालन हुन आवश्यक छ । सहर बजारका भन्दा पनि दुर्गम बस्तीका नागरिकहरूलाई सरल स्वास्थ्य सेवा प्रवाह गर्न सरकार गम्भीर बन्न जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्