जाजरकोट अदालतबाट ८० प्रतिशत मुद्दा फछ्र्यौट



जाजरकोट ।

जिल्ला अदालतले आर्थिक वर्ष २०८१–०८२ मा ८० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जसमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।
जिल्ला अदालतबाट यो आर्थिक वर्षमा ४११ वटा मुद्दा दर्ता भएका थिए । जसमा ३३१ वटा मुद्दा फछ्र्यौट भएका छन् भने ८० वटा मुद्दा फैसला हुन बाँकी छन् । अदालतका स्रेस्तेदार इन्द्रबहादुर कार्कीका अनुसार दुनियाँवादी देवानी, सरकारवादी देवानी, सरकारवादी फौजदारी, विशेष ऐनअन्तर्गत सरकारवादी फौजदारी र दुनियाँवादी फौजदारी मुद्दाहरू दर्ता भएका थिए ।

४२० वटा मुद्दा दर्ता हुने अनुमान गरिएको जिल्ला अदालतमा ४११ वटा मुद्दा दर्ता भएको स्रेस्तेदार कार्कीले जानकारी दिए । ३०७ वटा मुद्दा फछ्र्यौट हुने अनुमान भएपनि ३११ वटा मुद्दा फछ्र्यौट गर्न सफल भएको स्रेस्तेदार कार्कीको भनाइ छ । ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने वार्षिक लक्ष्य लिइएकामा दर्ता भएका मुद्दा संख्याका आधारमा ८० प्रतिशत मुद्दा फछ्र्यौट गर्न सफल भएको स्रेस्तेदार कार्कीले बताए ।

जिल्ला अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । दर्ता भएका १९८ वटा सम्बन्ध विच्छेदका मुद्दामध्ये १७२ वटा फछ्र्यौट भएका छन्, भने २६ वटा फछ्र्यौट गर्न बाँकी रहेको छन् । तथ्यांकअनुसार अंशबण्डासम्बन्धी दर्ता भएका २२ वटा मुुद्दामध्ये १७ वटा मुद्दा फछ्र्यौट भएका छन्, भने चार वटा बाँकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार