कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः उपकुलपति बन्न चर्चित अनुहारदेखि रैथानेको दौडधुप



संक्षिप्त सूचीमा अटाएका ६ जनामध्ये गिरी, रोकाया र धामी प्रमुख दाबेदार हुन् । गिरी ६ जनामध्ये सिनियर, अनुभवी र चर्चित अनुहार हुन् । जुम्लाका स्थानीयसमेत रहेका रोकायाकोसमेत प्रमुख दाबेदारी रहेको छ । उनको पक्षमा जुम्ला काँग्रेस वृत्त लागिपरेको छ । कार्यवाहक उपकुलपति रहेका धामी अर्का दाबेदार हुन् । नेपाली काँग्रेसको मूल नेतृत्वमा सुदूरपश्चिमको वर्चश्व छ । बझाङका धामी उपकुलपतिको कुर्सी हत्याउन अन्य प्रतिस्पर्धीसहित शक्ति केन्द्र धाइरहेका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैतदेखि उपकुलपति पद खाली छ । तत्कालीन उपकुलपति डा. मंगलबहादुर रावलको पदावधि सकिएपछि प्रतिष्ठान उपकुलपतिविहीन छ । प्रतिष्ठानका शिक्षाध्यक्ष रहेका सहायक प्राध्यापक डा. डबलबहादुर धामी निमित्त उपकुलपति छन्। कर्णालीसहित देशभरका चार वटा प्रतिष्ठानमा एकैपटक उपकुलपति पद रिक्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिफारिस समिति गठन गरेको थियो ।

रिक्त पदपूर्ति गर्ने उद्देश्यले गत जेठ ४ चार गते गठित समितिको संयोजकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल छन् । समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा.आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा छन् । समितिले असार ४ गते सूचना जारी गर्दै ७ दिनभित्र इच्छुक उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको थियो । कर्णालीको उपकुलपति बन्नका लागि १५ जनाले आवेदन दिएका थिए ।

असार १० गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार आवेदन दिनेमा प्रा.डा. विजय अर्याल, प्रा.डा. शेषनन्द सञ्जेल, डा. उत्सव चापागाईं, प्राडा प्रमोदकुमार सर्राफ, डा. पवनजंग रायमाझी, डा. पुजन रोकाया, प्रा.डा. सूर्यमान मेन्यान्ग्वोे, डा. एलिजा श्रेष्ठ, डा. डबलबहादुर धामी, डा. कालु शर्मा सुवेदी, डा. विष्णुप्रसाद शर्मा, डा. प्रमोद यादव, प्रा.डा. श्रीकृष्ण गिरी, डा. लक्ष्मीनारायण सिंह र डा. अरुणकुमार सिंहले आवेदन दिएका थिए ।

उनीहरूको आवेदनमा प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाएको थियो । प्रारम्भिक सूची सार्वजनिक भएको लामो समयसम्म उपकुलपति सिफारिसको प्रक्रिया सुरु हुन सकेन । प्रारम्भमा कर्णाली र वीपीमा नेपाली काँग्रेस, पाटन र पोखरा एमालेको सिफारिस अनुसार नियुक्ति गर्ने सहमति थियो । तर, पोखरामा नेपाली काँग्रेसले दाबी गरेपछि एमालेले मानेको थिएन । स्वास्थ्यमन्त्री पौडेल पोखरा एमालेलाई दिन तयार भएनन् । तर एमाले नेतृत्वले पोखरा छोड्न मानेनन् ।

पोखरामा दुवै दलले अडान नछाडेपछि उपकुलपति नियुक्ति प्रक्रिया झन लम्बियो । त्यसको डेढ महिनापछि साउन २० गतेको निर्णयअनुसार मन्त्रालयले संक्षिप्त सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक संक्षिप्त सूचिमा सह. प्रा.डा.हरू एलिजा श्रेष्ठ र डबलबहादुर धामी, पुजनकुमार रोकाया, डा. पवनजंग रायमाझी, प्रा.डा. श्रीकृष्ण गिरी र प्रा.डा. सूर्यमान मेन्यान्ग्वो अटाएका छन् । सार्वजनिक सूचीअनुसार वीपी र कर्णाली काँग्रेस र पोखरा र पाटन एमालेको भागमा परेको देखिन्छ ।

कर्णालीमा यसअघि एमाले निकट रावल उपकुलपति थिए । सार्वजनिक सूचीमा चर्चित अनुहारदेखि जुम्लाकै रैथानेसम्मका अनुहार छन् । संक्षिप्त सूचीमा अटाएकामध्ये रोकाया जुम्लाकै हुन् । उनी अस्पताल निर्देशक छन् । धामीपनि प्रतिष्ठानकै रेक्टर हुन् । हाल उनी निमित्त उपकुलपति छन् । रायमाझी स्वास्थ्य मन्त्रालयमा कार्यरत छन् ।

श्रीकृष्ण गिरी : चर्चित अनुहार, अनुभवी व्यक्तित्व

६ जनामध्ये गिरी सबैभन्दा चर्चित अनुहार हुन् । उनीसँग स्वास्थ्य क्षेत्रमै रहेर लामो समयदेखि नीतिगत तहमा काम गरेको अनुभव छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनार्थ ऐन तयार गर्ने अवधिदेखि उनी सलंग्न थिए । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सम्भाव्यता अध्ययन समितिको संयोजकको रूपमासमेत काम गरिसकेका छन् । ‘प्रतिष्ठान स्थापनाको अवधारणा सुरु हुँदादेखि नै संलग्न छु । पछि प्रतिष्ठानको फ्याकल्टी र पाठ्यक्रम विकासमा काम गरेँ । विभिन्न कार्यक्रम सुरु गर्ने काममा संलग्न छु । सुरुदेखि नै प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएको छु ।,’ डा. गिरी भन्छन् ।

विगतमा विभिन्न क्षेत्रमा हासिल गरेको अनुभव, आयोगमा काम गरेको अनुभव र योग्यताले गर्दा कर्णालीलाई मोडल संस्थान बनाउने आफ्नो योजना रहेको उनले बताए । उनी चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्षसमेत हुन् । हाडजोर्नी विशेषज्ञसमेत रहेका गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्वरजिष्ट्रार हुन् । चिकित्सा शिक्षा ऐन शुल्क निर्धारण समितिमा रहेर गरेको अनुभव पनि उनीसँग छ । विगत ४० वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् । कर्णालीको उपकुलपतिका लागि उनी प्रमुख दाबेदारसमेत हुन् ।

पुजनकुमार रोकाया : जुम्लाकै स्थानीय, आरजुसम्मको आर्शीवाद

जुम्ला जिल्लाकै स्थानीयसमेत रहेका रोकाया हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशक छन् । उनी प्रतिष्ठानमा स्थानपनाकालदेखि कार्यरत छन् । विभिन्न विभागको नेतृत्व सम्हालिसकेका उनी पनि उपकुलपतिको संक्षिप्त सूचीमा अटाएका छन् । प्रतिष्ठानको उपकुलपति पद नेपाली काँग्रेसको भागमा परेको छ ।

उनी विगतदेखि नै नेपाली काँग्रेससँग आस्थावान छन् । ६ जनामध्ये जुम्लाका एकमात्र पात्र भएका कारण उनलाई उपकुलपति बनाउन जुम्ला काँग्रेससमेत सक्रिय छ । पार्टी राजनीतिमा तीव्र गुटगत प्रतिस्पर्धा भएपनि रोकायाको हकमा सिंगो पार्टी पंक्ति एकमत देखिन्छ । सोहीअनुसार पार्टी नेतृत्वसँग रोकाया स्वयम् र पार्टी पंक्ति दौडधुप छ । रोकाया जुम्लाकै स्थानीयसमेत भएकोले उनी नै उपकुलपति हुनुपर्नेमा काँग्रेस वृत्त एकमत भएको नाम नबताउने सर्तमा नेपाली काँग्रेस जुम्लाका एक नेताले मिसन टुडेलाई बताए ।

यतिसम्म कि रोकायाका विषयमा बाहिर मुखरित नहुने र मौन समर्थन गर्नेसम्मको आन्तरिक सर्कुलेसन गरिएको चर्चा छ, जुम्ला काँग्रेसभित्र ।
उनलाई उपकुलपति बनाउन प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालदेखि कर्णाली प्रदेश सभापति ललितजंग शाहीसम्म भित्रभित्रै सक्रिय रूपमा लागिरहेका छन् । रोकाया शाहीका भान्जा नाता पर्छन् । शाही देउवा निकट नेता हुन् । रोकायाकी पत्नी नेकपा एमालेको सक्रिय राजनीतिमा छिन् ।

उनको परिवार एमालेको सक्रिय राजनीतिमा छ । उनका परिवारसमेत शीर्ष तहमा नेपाली काँग्रेसको उच्च तहसम्म रोकायाकै लागि लविङ गरिरहेका छन् । रोकायाका लागि सभापति शाही देउवा दम्पतीसम्म पुगेको स्रोत बताउँछ । परराष्ट्रमन्त्रीसमेत रहेकी आरजु राणाको आर्शीवाद रहेको स्रोतको दाबी छ । विशेषतः नेपाली काँग्रेसको उच्च राजनीतिक शक्ति केन्द्रसँग सुदूरपश्चिम हाबी नभए रोकायाकै पल्लाभारी हुने देखिन्छ।

डबलबहादुर धामी : विकट बझाङदेखि उपकुलपतिको दौडसम्म

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कार्यवाहक उपकुलपति एवं रेक्टरका रूपमा सेवा गरिरहेका सह प्रा.डा.डबलबहादुर धामी नेपाली स्वास्थ्य शिक्षाको क्षेत्रमा समर्पित छन् । उनी पश्चिम नेपालको विकट बझाङ जिल्लाको थलारा गाउँपालिकामा जन्मिएका हुन् । डा. धामीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २०१० मा दन्त चिकित्साशास्त्रमा स्नातक उपाधि प्राप्त गरेका थिए ।

पछि काठमाडौँ विश्वविद्यालयअन्तर्गत नेपालगन्ज मेडिकल कलेजबाट सन् २०१४ मा क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा स्नातकोत्तर (एमडी) उपाधि हासिल गरे । हाल त्रिभुवन विश्वविद्यालयमा लोक प्रशासन (एमपीए)मा अध्ययनरत छन् । उनीसँग स्वास्थ्य क्षेत्रमै एक दशकदेखि काम गरिरहेको अनुभव छ । धामीले नेपालगन्ज मेडिकल कलेज हुँदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन् । हाल प्रतिष्ठानमा फार्माकोलोजी विभागमा एसोसिएट प्रोफेसरको रूपमा कार्यरत छन् ।

उनले विभिन्न अनुसन्धान परियोजनाहरूमा संलग्न भई औषधि प्रवर्तन, स्वास्थ्य नीतिमा सुधार र औषधि सुरक्षासम्बन्धी महत्वपूर्ण पहलहरूमा योगदान दिएका छन् । २०७९ सालको असार १७ गतेदेखि हालसम्म प्रतिष्ठानका रेक्टर हुन् । २०८२ सालको वैशाख ४ गतेदेखि कार्यवाहक उपकुलपतिका रूपमा सेवा दिइरहेका छन् । उनले आफूले अनुसन्धानको नैतिकता र गुणस्तरमा ध्यान केन्द्रित गरेको बताए ।

उच्च राजनीतिक शक्ति केन्द्रसम्म पहुँच भएका धामी उपकुलपतिका मुख्य दाबेदारमध्येका एक हुन् । उनी नेपाली काँग्रेस निकट हुन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको समर्थन रहेको बताइन्छ ।

डा. पवनजंग रायमाझी

डा. पवनजंग रायमाझी हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखाको निर्देशक छन् । नेपाली काँग्रेसको पृष्ठभूमिका रायमाझी २०८० सालमा भेरी अस्पताल नेपालगन्ज बाँकेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका थिए । डा. बद्री चापागाईं मेसु भएकै बेला उच्च राजनीतिक दबाबका बीच तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले रायमाझीलाई नियुक्त गरेका थिए । उनीसँग परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशकको रूपमा काम गरेको अनुभव छ ।

सह प्रा.डा. एलिजा श्रेष्ठ टिचिङ अस्पतालमा कार्यरत छिन् । उनी ६ जनामध्ये एकमात्र महिना उम्मेदवार हुन् । प्रा.डा.सूर्यमान मेन्यान्ग्वो पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामै कार्यरत छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिका लागि छोटो सूचीमा परेका ६ जनाको आज साउन २३ गते अन्तर्वार्ता तोकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार छोटो सूचीमा परेका ६ जनाको आज शुक्रबार बिहान ९ बजे स्वास्थ्य मन्त्रालयमा अन्तर्वार्ता छ । मन्त्रालयमा उनीहरूले आफ्नो व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण गर्नेछन् । अन्तर्वार्तापश्चात् सिफारिस समितिले अन्तिम ३ जना छनौट गर्नेछ । समितिले अन्तिम छनौटमा परेका ३ जनाको प्रतिष्ठानको कुलपति रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष पेस गर्नेछ । कर्णालीले सम्भवतः साउन अन्तिमसम्म नयाँ उपकुलपति पाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार