कर्णाली बैंक घोटालामा राजनीतिक कनेक्सन



मुख्य अभियुक्त एवं बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र दल बदलु तथा स्वार्थ अनुकूल राजनीति रङ बदल्ने पात्र हुन् । उनीहरू कहिले कुनै त कहिले कुनै राजनीतिक दलको आड लिएर राजनीतिक संरक्षण लिँदै आएका व्यक्तिहरू हुन् । पछिल्लोपटक यी दुवैलाई संरक्षण दिने एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकमा भएको ठूलो आर्थिक घोटाला रहेका प्रतिवादीमध्ये चारजना राजनीतिकर्मीहरू रहेका छन् । मुख्य अभियुक्त एवं बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, बैंकका सञ्चालक ओमप्रकाश आजाद र एकजना ऋणी रहेका तिलकवीर सुनार बैंक घोटालामा प्रतिवादी रहेका छन् ।

प्रतिवादी राय र मिश्र दल बदलु तथा स्वार्थ अनुकूल राजनीति रङ बदल्ने पात्र हुन् । उनीहरू कहिले कुनै त कहिले कुनै राजनीतिक दलको आड लिएर राजनीतिक संरक्षण लिँदै आएका व्यक्तिहरू हुन् । पछिल्लोपटक यी दुवैलाई संरक्षण दिने एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।

मुख्य प्रतिवादी राय सुरुमा महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा थिए । २०७० सालको संविधान सभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर १ बाट तमलोपा उम्मेदवार बनेका उनी असफल भएपछि तमलोपा परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट राप्रपाका उम्मेदवार बनेका उनी त्यहाँपनि असफल भएपछि उनले फेरि पार्टी बदले । उनलाई पार्टीमा ताने एमालेका अध्यक्ष केपी शर्मा ओलीले ।

२०७९ को भदौ १५ गते ओलीले पार्टी प्रवेश गराएका राय लगत्तै एमालेबाट प्रतिनिधि सभा निर्वाचनमा सल्यानबाट उम्मेदवार बनाइए । तर, उनलाई जनताले हराइदिए । उनले त्यसपछि एमाले पनि छोडिदिए । राय त्यसपछि बाँके फर्किएर रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा पुगे । २०७९ साल माघ ११ गते उनी नागरिक उन्मुक्तिबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बने । तर त्यहाँपनि असफल भएपछि उनी पछिल्लोपटक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका पाइएको छ । यसरी पार्टी बदल्दै आएका रायले कर्णाली विकास बैंकमा आफ्ना आफन्त र परिवारका सदस्यहरूसमेत प्रयोग गरी गरेको घोटालामाथि अहिले मुद्दा अदालतमा विचाराधीन छ ।

राय जस्तै अर्का प्रतिवादी पशुपतिदयाल मिश्र पनि बाँकेको राजनीतिक वृत्तमा दलबदलुका रूपमा परिचित व्यक्ति हुन् । उनी हरेक चुनावको बेला चर्चामा आइरहने पात्र हुन् । मिश्र अहिले एमालेका केन्द्रीय सदस्य रहेको भएपनि उनी प्रतिनिधि सभा निर्वाचन २०७४ वाम दलका साझा उम्मेदवार थिए । उनलाई एमाले माओवादी लगायतका दलहरूले साझा उम्मेदवार बनाएका थिए । तर, उनी त्यसबेला मधेशी जनअधिकार फोरमका इश्तियाक राईसँग पराजित भए ।

२०७९ को चुनावअघि एक स्वतन्त्र राजनीतिक समूहमा रहेका मिश्रलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँ नेपालगन्ज आएर पार्टी प्रवेश गराएका थिए । त्यसपछि एमालेको केन्द्रीय सदस्य बनेका मिश्रबाट २०७९ को स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखका लागि एमालेका उम्मेदवार बनेका थिए । उनी उक्त निर्वाचनमा नेपाली काँग्रेसका प्रशान्त विष्टसँग पराजित भए ।

मिश्रको राजनीतिक यात्रा पनि नेपाली काँग्रेस, विभिन्न मधेशी दल राजपा, लोसपा हुँदै अन्तमा एमालेकहाँ आइपुगेका थिए । उनलाई जीवन नै एमालेको राजनीतिमा खर्चिएका नेताहरूलाई पाखा लगाउँदै एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विश्वासपात्रका रूपमा उभ्याएका थिए ।

यसैगरी अर्का पात्र ओमप्रकाश आजाद पनि राप्रपाका केन्द्रीय सदस्य हुन् । उनी पनि प्रतिनिधि सभा निर्वाचन २०७४ मा काँग्रेस–राप्रपाका साझा उम्मेदवार थिए । उनी नेपालगन्ज उपमहानगरको वडाध्यक्ष हुँदै राप्रपाको विभिन्न तहमा नेतृत्वको तहमा रहँदै आएका व्यक्ति हुन् । अहिले बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव रहेका उनी नेपालगन्जको एक मन्दिरमा करिब दुई दशकदेखि अध्यक्ष रहँदै आएका छन् । राज, मिश्र र आजादको कर्णाली बैंक घोटालामा संलग्नताबारे मिसन टुडेले समाचार प्रकाशन गरिसकेको छ ।

यसैगरी, बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष तिलकवीर सुनार पनि कर्णाली बैंक घोटालामा प्रतिवादीका रूपमा रहेका छन् । सुनारले टुथ ब्रस, टुथ पेष्ट, सेनिटरी प्याड, नेप्किन, कार्टुन उत्पादन गर्ने नेचर नेपाल इण्डष्ट्री प्रालिका लागि एघार करोड ५० लाख कर्जा लिएकोमा उक्त कर्जा दुरुपयोग गरेको अभियोग लगाइएको छ ।

उनले जुन प्रयोजनको लागि कर्जा लिएको हो सो प्रयोजनमा प्रयोग गरी कर्जाको भुक्तानी गर्ने कार्य गर्नु पर्नेमा उनले आफ्नो नजिकको व्यक्तिहरूले सञ्चालन गरेको अर्काे कम्पनिमा कर्जा बापतको रकम रकमान्तर गरी बैंकमा रहेको बचत रकम दुरुपयोग गरेको अभियोगपत्रमा भनिएको छ । सुनार वडाध्यक्षमा नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । उनी नेकपा (एमाले)का जिल्ला स्तरीय नेता समेत हुन् ।

यस्तो भूमिकाका व्यक्तिहरू तानिए मुद्दामा

यसरी कर्णाली विकास बैंकमा भएको घोटालामा यी चार जना राजनीतिकर्मीहरूसहित एक सय नौ जना प्रतिवादी छन् । ५० जना बैंकका कर्मचारी रहेका छन् । यसैगरी १३ जना जना बैंकका सञ्चालक र सेयरधनीहरू रहेका छन् भने ३९ जना ऋणीहरू, पाँच जना लेखापरीक्षक र एकजना राष्ट्र बैंकका कर्मचारी रहेका छन् । प्रतिवादीमध्ये दुईजनाको मृत्यु भइसकेको छ ।

सञ्चालकहरूले निर्णय तहबाटै बचत अपचलनको काम गरेको, बैकिङ असल अभ्यासहरूको घोर उल्लंघन गरेको र कर्जामार्फत बचत दुरुपयोग गरेका मुख्य अभियोग छन् भने प्रतिवादी सेयरधनीहरूले गलत निर्णयमा साथ दिएको पाइएको छ । सेयरधनीहरू गैरकानुनी कर्जा प्रवाहमा पनि सहभागी भई कसुर गरेको अभियोग लगाइएको छ ।

कर्मचारीहरूमध्ये उच्च तहको व्यवस्थापनमा बस्नेहरूले तल्लो तहका कर्मचारीहरूलाई प्रयोग गरेर अपचलन, कर्जा दुरुपयोग गरेको आरोप छ । उनीहरूले सञ्चालकहरूको गलत कदममा मिलोमतो गरी बैंकको बचत हिनामिना गरेका पाइएको छ । अरु बैंकबाट ल्याएको बचत जम्मा नै नगरी जम्मा गरेको कृत्रिम रेकर्ड राख्ने, राष्ट्र बैंकलाई गलत रिपोर्टिङ गर्ने गरेको पाइएको छ । तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारी र सञ्चालकहरूसँग मिलोमतो गरी उनीहरूका गलत क्रियाकलापमा साथ दिएको आरोप अभियोगपत्रमा लगाइएको छ ।

यसैगरी लेखापरीक्षकहरूले बैंकको खराब अवस्थालाई ढाकछोप गरेको आरोप छ भने राष्ट्र बैंकका कर्मचारीले सुपरीवेक्षणमा सञ्चालकहरूसँग मिलेर बैंक समस्यामा हुँदा पनि अवस्था ठिकठाक छ भनेर ढाकछोप गरेको अभियोग लगाइएको छ । बैंकमा बचत हिनामिना भई बचतकर्ताको निक्षेप फिर्ता हुन दिन नसकेपछि नेपाल राष्ट्र बैंकले २०८१ साल पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीलेसमेत अनुसन्धान गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बाँकेमा बुझाएको थियो । अनुसन्धानपश्चात तीन अर्ब २० करोड ११ लाख ५४ हजार बिगो दाबी गरिएको छ । जसमध्ये एक अर्ब २७ करोड २१ लाख ६३ हजार रूपैयाँ संस्था र विभिन्न बैंकबाट अनाधिकृत रूपमा आपसी मिलेमतो गरी हिनामिना भएको पाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २२ गते बिहीबार