विगत केही दिनदेखि बाँकेसहित उपल्लो क्षेत्रका पहाडी जिल्लाहरूमा पानी परिरहेको छ । अविरल परेको पानीका कारण नदीनालाहरूमा बहावसमेत बढिरहेको छ । बाँकेस्थित राप्ती नदीको उपल्लो भेगका जिल्लाहरू रोल्पा, प्युठान, अर्घाखाँची, दाङ लगायतका जिल्लाहरूमा परिरहेको पानीका कारण राप्ती नदीमा पानीको सतह बढको छ । पानीको सतह बढेसँगै पहाडी जिल्लाहरूमा बाढी पहिरो लगायतका कारणबाट बगाएर ल्याउने गरेका काठ, दाउरा तथा मुढाहरू संकलन गर्नका लागि बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ सिधनवास्थित राप्ती नदी किनारामा स्थानीय नागरिकहरूको भीड लाग्ने गरेको छ । राप्ती नदी किनाराका बस्तीका सयौँ नागरिकहरूले हरेक वर्ष वर्षातको समयमा उर्लेर आउने राप्ती नदीमा ज्यानको जोखिम राखेर नदीको मध्यभागसम्म पुगेर काठ दाउरा संकलन गर्दै आएका देखिन्छन् ।
स्थानीयहरूले यसरी जम्मा गरेका काठ दाउराहरू आफैँले घरमा प्रयोग गर्ने तथा बजारसम्म पुराएर बिक्री गरी आम्दानीसमेत गर्दै आएका पाइन्छन् । नदी किनाराका बासिन्दाहरूले यो पटक मात्र नभइर पुस्तौँदेखि यसरी दाउरा संकलन गर्दै आएका छन् । यसरी दाउरा संकलन गर्दा हालसम्म कुनै अप्रिय घटना नघटेपनि सुरक्षा अपनाउन भने जरुरी छ । स्थानीय नागरिकहरूलाई ज्यानको जोखिमबाट दाउरा संकलन गर्नबाट रोकावट गर्न या सचेतना प्रदान गर्न तथा सुरक्षितरूपमा दाउरा संकलन गर्नका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिनु जरुरी देखिन्छ । कुनै अप्रिय घटना घट्नुअघि नै सुरक्षाको प्रबन्ध गर्न जरुरी छ । स्थानीयहरूलाई यसरी दाउरा संकलन गर्नबाट रोक्न नसकेपनि उनीहरूले दाउरा संकलन गर्ने समयसम्म उद्धारका बन्दोबस्तीका सामानसहित सुरक्षाकर्मीको एउटा उद्धार टोली त्यहाँ राख्न आवश्यक देखिन्छ । कुनै घटना घटिहालेमा तत्काल उद्धार गर्नका लागि विशेष सुरक्षाकर्मीको टोली परिचालन भई नागरिकको ज्यान जोगिन सक्नेछ । पौडी खेल्दै नदीको बीच भागसम्म पुगेर दाउरा, काठहरू तानेर ल्याउँदा जतिबेला पनि भवितव्य हुन सक्ने देखिन्छ ।
स्थानीय प्रहरी प्रशासनले सार्वजनिक सूचना जारी गरी सम्भावित हुनसक्ने दुर्घटनाका बारेमा स्थानीय नागरिकसम्म जानकारी गराउन जरुरी छ। राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्नका लागि हरेक दिन बिहानै झिसमिसेदेखि नै उक्त स्थानमा स्थानीयको भीड लाग्ने गरेको देखिन्छ । स्थानीयहरू ज्यानको जोखिम राखेर नदीमा पौडी खेलेरै र किनारामा आएका दाउरा संकलन गरिरहेका छन् । हरेक सालको वर्षातको समयमा राप्ती नदीले बगाएर ल्याएका दाउराहरू स्थानीयले यसैगरी जम्मा गर्ने, बिक्री गर्ने तथा घरमा प्रयोग गर्ने गर्दै आएका छन् । यसरी असुरक्षित तरिकाबाट काठ दाउरा संकलन गर्दा जतिबेला पनि घटना घट्न सक्ने देखिन्छ । तसर्थः यसतर्फ प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्