पश्चिम राप्ती नदीमा जलसतहले सतर्कता तह पार



बाँके ।

पश्चिम राप्ती नदीको जलसतहले सतर्कता तह पार गरेको छ । बाँके जिल्लास्थित राप्तीसोनारी जलमापन केन्द्रमा भएको मापनअनुसार आज बिहान ६ः४० बजे राप्ती नदीको जलसतहले सतर्कता तह पार गरेको हो ।

आज बिहान ९ः२० बजेको तथ्यांकअनुसार राप्तीमा बाढीले सतर्कता तह पारेर गरेर ४.८८ मिटर रहेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार नदीको पानीको सतह निरन्तर बढ्दो क्रममा छ, जसले गर्दा तटीय क्षेत्र र डुबान हुने होचा भू–भागमा जोखिम थपिएको छ ।

डुबानको जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका स्थानीयवासीलाई दिउँसोभर उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विशेषगरी तटीय बस्ती, खेतबारी र पहिले प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा जान विभागले अनुरोध गरेको हो ।

विभागका अनुसार पानीको बहाव अझै केही समय बढ्न सक्ने अनुमान गरिएको छ । वर्षा निरन्तर भएमा जलसतह थप माथि जान सक्ने सम्भावना छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र विपद् व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार