भेरी अस्पतालका सेवा र सुधारका पक्ष



अस्पतालले आफूलाई कोरोनाकालमा सक्षम, सबल र आवश्यक परेको बेला जस्तोसुकै उपचार सेवा दिन सक्ने अस्पतालका रूपमा स्थापित गरिसकेको छ । निजी अस्पतालमा भर्ना भएका कतिपय बिरामीको पैसा सकिएपछि यहाँ रेफर गरिन्छ र त्यस्ता बिरामीको न्यून शुल्कमा वा निःशुल्क उपचार गर्ने भारी पनि यो अस्पतालले लामो समयदेखि बोक्दै आएको छ । भेरी अस्पतालका सेवाहरू उपयोगी र प्रभावकारी भए तापनि यो अस्पताललाई थुप्रै चुनौतीहरूको सामना गरिरहनु परेको पनि देखिन्छ ।

सिराज खान ।

पश्चिम नेपालको केन्द्रविन्दु नेपालगन्जमा अवस्थित भेरी अस्पताल गत १३४ वर्षदेखि तत्कालीन मध्य तथा सुदूरपश्चिम तथा हालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरेर तीनवटा प्रदेशका जनताको स्वास्थ्य सेवाको केन्द्रविन्दु बनेको छ । सरकारी स्वामित्वमा सञ्चालित यस अस्पतालले हरेक दिन सो क्षेत्रका सयौँ, हजारौँ बिरामीको उपचार गर्दै आइरहेको छ । विशेषगरी आर्थिक रूपमा कमजोर वर्गका नागरिकका लागि यो अस्पताल आशाको केन्द्र रहेको छ । आज सोमबार यो अस्पतालले आफ्नो १३५औँ वार्षिकोत्सव मनाउँदैछ ।

यो अस्पताल विसं १९४७ सालमा पृथ्वी वीर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना गरिएको थियो । पछि यसलाई २०१६ सालमा रत्न राज्यलक्ष्मी देवी प्रसूति गृह नामाकरण गरियो । त्यसपछि २०२२ सालमा यसलाई ५० शय्याको भेरी अञ्चल अस्पताल बनाइएको थियो । २०४३ सालमा यो १०० शय्याको अस्पतालमा स्तरोन्नति गरियो भने २०७५ सालमा यसलाई पुनः ३०० शय्याको केन्द्रीय अस्पतालको रूपमा स्तरोन्नति गरिएको हो ।

नेपालमा स्वास्थ्य सेवाबाट अझै ठुलो वर्ग वञ्चित छ । ग्रामिण भेगका जनताका लागि सुविधासम्पन्न निजी अस्पतालमा उपचार गराउनु सपना जस्तै हो । यस्तो अवस्थामा भेरी अस्पतालजस्ता सरकारी स्वास्थ्य संस्थाहरूको भूमिका झनै महत्वपूर्ण हुनजान्छ । यहाँ आउने अधिकांश बिरामीहरू यस क्षेत्रका पहाडी, हिमाली र तराईका जिल्लाहरूबाट मात्र नभई सीमापारी भारतबाट पनि आउने गर्छन् जसले यसको महत्व अझ बढाएको छ ।

भेरी अस्पतालले सामान्य चेकअपदेखि लिएर प्रसूति सेवा, विभिन्न शल्यक्रिया, आकस्मिक सेवा, नवजात शिशु सेवा, ट्रमा केयर, मानसिक स्वास्थ्य, क्षयरोग उपचार, सर्पदंश उपचार, मुटुरोगको उपचार, रक्तसञ्चार केन्द्र, डायलाइसिस सेवा, मृगौला प्रत्यारोपण, सिकलसेलको उपचार र एमरजेन्सी लगायतका सुविधा प्रदान गर्दै आएको छ ।

विपन्न वर्गका लागि भेरी अस्पताल सस्तो, सुलभ र भरपर्दो सेवा दिने संस्थाको रूपमा परिचित छ । यहाँ बिरामीहरू न्यूनतम शुल्कमा उपचार गर्न पाउँछन् र धेरैजसो सेवा निःशुल्क रूपमा समेत उपलब्ध हुँदै आएको छ । जुनसुकै वर्गका मानिसले उपचार पाउन सकुन् भन्ने उद्देश्यले सरकारले चलाइरहेको निःशुल्क औषधि वितरण कार्यक्रम, आर्थिक अवस्था हेरेर सहुलियत दिने उपचार प्रक्रिया र स्वास्थ्य बीमा योजनाको कार्यान्वयन भेरी अस्पतालमा प्रभावकारी रूपमा लागु गरिएको देखिन्छ ।

यो अस्पतालले आफूलाई कोरोनाकालमा सक्षम, सबल र आवश्यक परेको बेला जस्तोसुकै उपचार सेवा दिन सक्ने अस्पतालका रूपमा स्थापित गरिसकेको छ । निजी अस्पतालमा भर्ना भएका कतिपय बिरामीको पैसा सकिएपछि यहाँ रेफर गरिन्छ र त्यस्ता बिरामीको न्यून शुल्कमा वा निःशुल्क उपचार गर्ने भारी पनि यो अस्पतालले लामो समयदेखि बोक्दै आएको छ । भेरी अस्पतालका सेवाहरू उपयोगी र प्रभावकारी भए तापनि यो अस्पताललाई थुप्रै चुनौतीहरूको सामना गरिरहनु परेको पनि देखिन्छ । बिरामीको सङ्ख्या अत्यधिक हुँदा जनशक्ति, औषधि, उपकरण र बेडको अभाव प्रायः सधैँजसो देखिने चुनौती हो । अत्याधुनिक नयाँ र ठुलो भवनबाट सेवाहरू सञ्चालन गरिएपनि बेडको अभाव लगायतका अन्य समस्याहरू अझै पनि कायमै छन् ।

विशेषज्ञ डाक्टरको अभाव, कतिपय उपकरणको अभाव र भएका उपकरण पनि बिग्रनु तथा बिग्रिएपछि लामो समयसम्म मर्मतसम्भार नहुनु र धेरै पहिलेदेखि पर्याप्त जनशक्ति नहुनुजस्ता समस्याले सेवा प्रभावित हुँदै आएको छ । विशेषगरी विभिन्न शल्यक्रिया, डायलासिस सेवा, एमआरआई र अन्य केही सेवाका लागि कतिपय विपन्न बिरामीहरूले लामो समय कुर्नुपर्ने बाध्यता अझैपनि जस्ताको तस्तै छ । सोही बाध्यताका कारण धेरै विपन्न बिरामीले ज्यान पनि गुमाउनु परेको छ ।

सोही प्रकारले अस्पतालको सरसफाइ, ओपिडीको व्यवस्थापन र प्रशासनिक झन्झट पनि सुधार गर्नुपर्ने प्रमुख क्षेत्र हुन् । धेरै बिरामी पुग्ने नेपालगन्जकै केही निजि अस्पतालमा जाँदा निकै सफा र व्यवस्थित देखिनु तर भेरी अस्पतालमा पुग्दा सधैँ सरसफाइको समस्या तथा अव्यवस्थित देखिनुमा व्यवस्थापनको कमजोरी प्रष्ट झल्किन्छ । यसतर्फ तत्काल सुधारको आवश्यकता छ । करोडौँको लागतमा तयार भएका भवन, ल्याइएका उपकरण र अन्य पूर्वाधारको राम्रो रेखदेख तथा संरक्षण हुन नसक्नु पनि यो अस्पतालको ठुलो समस्या हो । यसतर्फ पनि अस्पताल व्यवस्थापनको ध्यान जानु आवश्यक छ ।

पश्चिम नेपालका लाखौँ जनताको आशा र भरोसाको केन्द्र रहेको यो अस्पतालमा चिकित्सकहरू समयमा अस्पतालमा नभेटिने, ओपिडीमा पनि पूरा समय नबस्ने, अस्पतालका नर्स र स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार नगर्ने, कतिपय उपकरण चलाउँदा लापरबाही गर्ने तथा निःशुल्क औषधि र उपचार विपन्नले नै नपाउने जस्ता जनगुनासाहरू बेला बेलामा सुनिने गरेका छन् । यस्ता गुनासाहरूको उपचार पनि अस्पताल प्रशासन र व्यवस्थापनले समयमै गर्नु अतिआवश्यक देखिन्छ ।

भेरी अस्पतालका सेवाहरूलाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन संघीय, प्रदेश र स्थानीय सरकारले मिलेर थप लगानी गर्न आवश्यक छ । दक्ष जनशक्ति बढाउने, डिजिटल प्रणालीमार्फत सेवा प्रक्रिया सहज बनाउने, विभिन्न औषधि र उपकरणको आपूर्ति नियमित बनाउने तथा बिरामी अनुगमन प्रणालीमा कडाइ गर्ने हो भने यो अस्पताल देशकै उत्कृष्ट सरकारी अस्पताल बन्ने देखिन्छ । अस्पतालको वर्तमान प्रशासन र व्यवस्थापन पक्ष सेवा प्रवाहलाई राम्रो तथा गुणस्तरीय सँगै व्यवस्थित बनाउन क्रियाशील देखिन्छ तर, सो क्रियाशिलतालाई अझै बढाउनुपर्ने देखिएको छ ।

साथै, नागरिकस्तर र जिल्लाको प्रशासनिकस्तरबाट पनि अस्पतालको निरन्तर निगरानी, सेवा मूल्यांकन र अनुगमन निरीक्षण आवश्यक देखिएको छ । भेरी अस्पताल केवल एक स्वास्थ्य संस्था मात्र नभई लाखौँ विपन्न नेपालीको जीवनरक्षाको केन्द्र पनि हो । सस्तो, सुलभ र समावेशी सेवाले यो अस्पतालले विपन्न जनतालाई सहज उपचारको अवसर दिएको छ । यसको निरन्तर सुधार, विस्तार र पारदर्शितामा विशेष ध्यान दिनु आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १२ गते सोमबार