धरानको एन्फा एकेडेमी जहाँ गल्लीमा खेलिएको बलले अन्तर्राष्ट्रिय मैदानको ढोका ढक्ढक्याउँछ । अहिले हजारौँ युवा यस एकेडेमीमा पस्दा आफ्ना सपनाहरू लुकाउँदैनन् । अहिले धेरै युवा यही बाटो समाएर अघि बढिरहेका छन्, फुटबलको भरमा देश चिनाउने सपना बोकेर फुटबल सिक्दै सपना बुन्दै र देशको नाम संसारमा चम्काउने भरोसा बोकेर । फुटबल क्षेत्रमा झण्डै २७ वर्ष अनुभव बटुलेका अनुभवी प्रशिक्षकले अहिले एन्फा एकेडेमीमा ३१ जना खेलाडीलाई नियमित तालिम दिइरहेका छन् ।
सङ्गीता राई । सुनसरी ।
सङ्खुवासभामा जन्मिएका रोजेश ओझाले बाल्यकालमै देखेका थिए बललाई लात्तीले हानेर धेरै टाढा पु¥याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरूसँग गाउँका गल्लीहरूमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न उनका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास पनि बन्न पुग्यो । उनी अहिले यही धरान एन्फा एकेडेमीमा एक वर्षदेखि प्रशिक्षणरत छन् ।
उनले भने, ‘छ÷सात वर्षको उमेरदेखि नै ममा फुटबल खेल्ने सोख पलाएको थियो । पनि एक दिन फुटबलको राष्ट्रिय टिममा पुग्न सक्छु भन्ने सोचले आफू सानो हुँदा गाउँमा सञ्चालन भइरहेका फुटबल प्रतियोगिताहरू हेर्न पुग्थेँ । दाइहरूले खेलेको बललाई एकपटक हान्न पाए हुन्थ्यो भन्दै खेल मैदानको वरपर ढुकेर बस्थेँ । उहाँहरूले खेल्ला उछिटिएर बाहिर गुडेको बल समात्न पाउँदा ठूलो सफलता मिलेको जस्तो लाग्थ्यो ।’ त्यतिबेला देखेको सपना आज आफूलाई एन्फा एकेडेमीमा पाउँदा निकै रोमाञ्चक लागेको उनी बताउँछन् । सपना देख्न मात्र ठूलो कुरा हैन रहेछ त्यसलाई पूरा गर्न कति मिहेनत चाहिन्छ भन्ने आज आफ्नै भोगाइले पुष्टि गरेको छ,’ उनी भन्छन् ।
‘एकेडेमीमा दिनमा दुई पटक अभ्यास गराइन्छ । सुरुका दिनहरूमा घण्टौँसम्मको उफ्राई र दौडाइले गर्दा गोडा दुख्थ्यो, जिउ गल्थ्यो, शरीर पूरै थकित हुन्थ्यो । तर जब प्रशिक्षकले तिमी पनि राष्ट्रिय टिममा खेल्न सक्छौ भनेर भन्नुहुन्थ्यो, क्षणभरमै शरीरमा एकाएक ऊर्जा भरिएर आउँथ्यो, जिउ हलुका र फूर्तिलो हुन्थ्यो ।’ उनी भन्छन्, ‘उतिबेला पछि म पनि पक्कै राम्रो खेलाडी बन्न सक्छु भन्ने भाव मनमा जाग्ग्थ्यो । एन्फा एकेडेमीले मलाई सपना देख्न मात्र हैन त्यहाँ पुग्ने बाटो पनि देखाइदिएको छ ।’
धरानको एन्फा एकेडेमी जहाँ गल्लीमा खेलिएको बलले अन्तर्राष्ट्रिय मैदानको ढोका ढक्ढक्याउँछ । अहिले हजारौँ युवा यस एकेडेमीमा पस्दा आफ्ना सपनाहरू लुकाउँदैनन् । अहिले धेरै युवा यही बाटो समाएर अघि बढिरहेका छन्, फुटबलको भरमा देश चिनाउने सपना बोकेर फुटबल सिक्दै सपना बुन्दै र देशको नाम संसारमा चम्काउने भरोसा बोकेर ।
ओझाजस्तै यही भीडमा देखिन्छन् सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल । उनले पनि ठूलो सपना देखेका थिए । छ वर्षको उमेरदेखि नै फुटबलप्रति मोह राख्ने प्रजल अहिले पनि दिनहुँ धरान एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहेका छन् । ‘गाउँका गल्लीहरूमा फालिएका मोजामा कपडा खाँदेर बनाइएका बल साथीहरूसँग खेल्थ्यौँ,’ उनले भने, ‘कहिलेकाहीँ त बारीमा फलेका भोगटे पनि टिपेर फुटबल खेल्थ्यौँ ।’ साथीहरूसँग त्यही बेलादेखि फुटबलप्रतिको मोह बढ्दै गयो भुजेललाई । ‘राष्ट्रिय फुटबल खेलाडी बन्ने मन छ, हिम्मत पनि छ,’ उनी भन्छन्, ‘आफूमा विश्वास पनि छ, फुटबल नखेलेको भए म तेक्वाण्डो खेलाडी कि त लाहुरे बन्थेँ होला,’ अहिले उनी फुटबलमै मन झुमाइरहेका छन् ।’
घरपरिवारको साथ सहयोगले उनलाई अझ थप हौसला दिएको छ । उनले भने, ‘अहिले प्रशिक्षकले पनि राम्रोसँग सिकाउनुहुन्छ लाग्छ यो सिकाइले मिहेनत गरियो भने सफल भने हुन्छाँै ।’ कुनै एक समय हरेक सहरका गल्लीहरूमा खेलिने फुटबललाई रमाइलो मानिन्थ्यो । तर अहिले ती गल्लीका खेलाडी नै राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउन थालेका छन् । त्यो सम्भव भएको छ, धरान एन्फा एकेडेमी टेक्निकल सेन्टरको प्रभावका कारण । ‘हामीले यहाँ केबल फुटबल खेलाडी मात्र तयार गर्दैनाँै, यहाँ अनुशासन र आत्मविश्वास पनि सँगै सिकाउँछाँै,’ एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइली भन्छिन् ।
एन्फा एकेडेमीमा प्रशिक्षक बनेका पूर्वराष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री समेत रहेकी रसाइली २०५७ सालदेखि यहाँ खेलाडीलाई प्रशिक्षण दिँदै आएकी छिन् । फुटबल खेलमै जीवन समर्पण गरेकी रसाइलीले एन्फा एकेडेमी सुरु हुनुअघि विभिन्न ठाउँहरूमा प्रशिक्षकको रूपमा काम नगरेको भए पनि राष्ट्रिय बुढासुब्बा गोल्डकपजस्ता प्रतियोगिताहरूमा रेफ्रीको महत्वपूर्ण भूमिका निभाउँदै आएकी छिन् । अहिले उनको प्रशिक्षणमा विशेष ध्यान खेलाडीहरूको खेल्ने तरिका र रणनीतिमा केन्द्रित रहेको बताइन् ।
उनले भनिन्, ‘अहिले यहाँका खेलाडीहरूलाई बल कसरी हान्ने, कुन समयमा पास दिने, कसरी डिफेन्स भाँच्ने जस्ता कुरामा तालिम दिइरहेका छौँ,’ रसाइली भन्छिन्, ‘खेलाडीमा आत्मविश्वाससँगै प्राविधिक दक्षता विकास गर्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’ उनको अनुभव र प्रशिक्षण शैलीले अहिलेको पुस्ताका खेलाडीलाई नयाँ ढङ्गले सोच्ने र खेल्न प्रेरित गरिरहेको छ । खेलाडीको खेलप्रतिको लगाव र दशकौँको अनुभवका साथ रसाइली अझ पनि युवामाझ फुटबलको भविष्य निर्माणमा जुटिरहेकी छिन् ।
धरानका एलिन थापा विगत एक वर्षदेखि एन्फा एकेडेमीमा नियमित तालिम लिइरहेका छन् । सानै उमेरदेखि फुटबल खेलमा रुचि राख्ने उनी पनि यहाँ आएपछि फुटबलप्रतिको अभिरुचि र लगाव झन बढेको बताउँछन् । उनी भन्छन्, ‘तालिमको क्रममा मैले अनुशासन, समयको मूल्य, ‘टिमवर्क’ र निरन्तर अभ्यासको महत्व बुभ्mन पाएँ ।’
फुटबल क्षेत्रमा झण्डै २७ वर्ष अनुभव बटुलेका अनुभवी प्रशिक्षकले अहिले एन्फा एकेडेमीमा ३१ जना खेलाडीलाई नियमित तालिम दिइरहेका छन् । बिहान र बेलुका गरेर दुई समय तालिम सञ्चालन गरिरहेका उनीहरूले खेलाडीहरूको शारीरिक प्राविधिक र मानसिक विकासमा केन्द्रित भएर काम गरिरहने बताए । उनीहरू भन्छन्, ‘कहिले फुटबल नै नछोएका खेलाडी छैनन्, फुटबल सिक्नका लागि जिल्ला हुँदै केन्द्रबाट छनोट भएर आएका खेलाडी छन् । तालिम दिन गाहे भने छैन, खेलाडीको इच्छा शक्ति र लगनशीलता छ भने उनीहरूलाई सक्षम बनाउन सहज भएको छ ।’
इलामका १६ वर्षिय प्रनिश राई अहिले एन्फा एकेडेमीमा नियमित तालिम लिइरहेका छन् । एक वर्षदेखि निरन्तर तालिममा लिइरहेका प्रनिशलाई फुटबलप्रतिको प्रेम भने बाल्यकालदेखि नै लागेको थियो । उनका बुबा पनि खेलाडी भएका कारण त्यसको प्रभाव उनमा पनि परेको हुनसक्छ । सानो उमेरमै घरका आँगन र गल्लीतिर प्लाष्टिकका बल त कहिले पुराना फालिएका कपडाको पोको पारेको बल बनाएर खेल्थे । सानै उमेरबाट फुटबलमा रुचि राख्ने प्रनिश अहिले फुटबलमै भविष्य देखिरहेका छन् ।
धरानको एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहेका उनले भने, ‘छोरालाई राष्ट्रिय खेलाडी बनाउने बुबाको सपना छ, मैले त्यो सपना पूरा गर्नु छ घरपरिवारको माया र सहयोगको कारण फुटबलप्रतिको लगाब र हौसला बढेको हुनसक्छ ।’ अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल ‘सेट’ पनि गरिरहेका छन् ।
‘फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ,’ धरानस्थित एन्फा एकेडेमीका व्यवस्थापक तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी किशोर राईले भने । पूर्वी नेपालको खेलकुदको सहर र खेलकुदको केन्द्र मानिने धरानमा २०५७ सालमा धरान उपमहानगरपालिका–१७ मा स्थापना भएको एन्फा एकेडेमी टेक्निकल सेन्टर हाल प्रदेशस्तरमा अत्याधुनिक खेल प्रशिक्षण दिने संस्था बनेको छ । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रूपमा आफ्नो ‘करियर’ सुरु गरेका राईकै नेतृत्वमा एन्फा एकेडेमी स्थापना गरिएको हो ।
नेपाली फुटबलको जरा बलियो बनाउने उद्देश्यका साथ स्थापना गरिएको यो एकेडेमीबाट अहिलेसम्म सयभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । विभिन्न सहरहरूका गल्लीहरूमा रहेका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै थलोमा भेला गराई व्यवस्थित थियो । गाउँ सहरका गल्लीहरूमा फुटबल खेल्दै हुर्केका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने वातावरण बनाउने सपना बोकेर यो एकेडेमी सथापना गरिएको उनले बताए । अहिले धरान एन्फा एकेडेमीमा ३० जना बढी खेलाडीले तालिम लिइरहेका छन् । उनीहरूको सबैको सपना एउटै छ, राष्ट्रिय जर्सी लगाएर मैदान उत्रनु । गल्लीमा बल खेल्दै हिँड्ने बालकहरू अहिले सङ्गठित प्रशिक्षणमार्फत राष्ट्रिय प्रतिनिधि बन्ने बाटोमा लागिरहेका छन् । –रासस









प्रतिक्रिया दिनुहोस्