सम्पादकीयः दीर्घकालीन र स्थायी तटबन्धको आवश्यकता



केही दिनयता मौसम सक्रिय रहने मौसम पूर्वानुमान गरिएको छ । देशभर अत्यधिक वर्षा भई नदीहरुमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्नसक्ने विभागको पूर्वानुमान छ । पश्चिममा राप्ती, बबई र महाकाली नदीको तटीय क्षेत्रमा बाढी आउनसक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ । तर, वर्षाको मौसम लागेसँगै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ फत्तेपुरस्थित खल्लाझगडियाका स्थानीय चिन्तामा रहेका छन् । प्रत्येक वर्ष नदी कटान हुने गरेकाले स्थानीय पीडित बन्दै आएका छन् । चुनावको बेला सधैँ उक्त क्षेत्रको तटबन्ध स्थायी रुपमा बनाउने राजीनितक दल र नेताका मुख्य एजेन्डा बन्ने गरेको छ । तर, अहिलेसम्म स्थायी तटबन्ध निर्माण हुन सकेको छैन् । अहिले तत्कालका लागि आपतकालीन रुपमा बाढीको कटान रोक्न बाँस र बोराको सहायताले अस्थायी तटबन्ध निर्माण भइरहेको छ । हरेक वर्ष बाढीले कटान गर्दै आएको सल्लाझगडियामा राप्ती नदी किनारमा प्लाष्टिकको बोरामा माटो भरेर नदी किनारमा राख्ने काम गरिएको छ । तर, स्थानीयबासिन्दाले उक्त क्षेत्रमा बलियो तटबन्ध बनाउन माग गरेका छन् । स्थानीयवासीहरु बाढीको डरले अहिले पनि चिन्तामा रहेका छन् । अहिले गरिएको अस्थायी व्यवस्थाले तत्कालका लागि बस्ती र जनधन जोगाउने अपेक्षा गरिएपनि त्यहाँका नागरिक विश्वस्त हुन सकेका छैनन् । त्यसैले सरकारले दीर्घकालीन रुपमा सोच्न जरुरी देखिन्छ ।

खल्लाझगडियामा राप्ती नदीले कटान गर्दा बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ६ को ढलैया, वडा नम्बर ७ को पिप्रहवा, खल्लाझगडिया, देवपुरवा, नरैनापुर गाउँपालिकाको वडा नम्बर ६ स्थित सोनवर्षा, गंगापुर, भोजभगवानपुर तथा डुडुवा गाउँपालिकाको पूर्वी भेगका बस्तीहरु बाढीको जोखिममा रहेका छन् । अहिले खासखुसे रुपमा बोरा र बाँसले तटबन्ध बनाएपनि दीर्घकालीन रुपमा बलियो र भरपर्दाे देखिँदैन । त्यसैले समयमै दीर्घकालीन तटबन्ध निर्माणमा ध्यान पुग्न आवश्यक छ । दीर्घकालीन रुपमा भरपर्दाे बलियो स्थायी तटबन्ध बनाउन आवश्यक छ । लामो समयदेखि त्यहाँका स्थानीय त्रासत जीवन बिताइरहेका छन् । विपद् बाजा बजार नआउने भएकाले समयमै सरोकारवालाको ध्यान पुग्न आवश्यक रहेको छ । बेलाबखत पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुले अनुगमन गरेपनि तटबन्ध निर्माण हुन सकेको छैन्। गत वैशाखदेखि असारसम्म देशभर विपद्मा परी ९३ जनाको ज्यान गएको तथ्यांक छ । त्यसैले नागरिकको धन र ज्यानको सुरक्षाको लागि सोच्न आवश्यक छ ।

हराजौँ नागरिकको धन र ज्यानको सुरक्षामा राज्य उदासीन बन्दा लाखौँ करोडौँको भौतिक सम्पत्ति र मानव जीवनमा क्षति हुनसक्ने सम्भावना रहेको छ । वर्षैँदेखि नागरिकहरु त्रसित बन्दा र सरकार हारगुहार गर्दापनि अहिलेसम्म सरकारको पूर्णरुपमा ध्यान पुग्न सकेको छैन् । कतिञ्जेलसम्म नागरिकहरु त्रसित बस्नु पर्ने हो ? के तटबन्ध निमार्ण हुन बस्ती र नागरिकले ज्यान गुमाउनुपर्ने हो ? के उक्त क्षेत्रका स्थानीय नेपाली होइनन् र ? होइन् भने सरोकारवालाको ध्यान समयमै किन पुग्न सकेको छैन् । त्यसैले समयमै स्थायी बलियो तटबन्ध निर्माण गरेर त्रसितमय रात बिताउन बाध्य उक्त क्षेत्रका स्थानीयका चिन्तामुक्त बनाउन आवश्यक छ । मौसम सक्रिय भए पुनः विपद्ले कतिबेला के हुने हो ? भनेर स्थानीय डरमा छन् । त्यसैले पूर्वतयारी गर्न आवश्यक छ ।

समयमै बलियो तटबन्ध निर्माण गरेर नागरिकलाई सुरक्षित भएको अनुभूति दिलाउन खाँचो छ । अहिले निर्माण भएको बोरा र बाँसले तटबन्ध निर्माण भएपनि केही मात्रमा क्षति कम गर्ला । तर, त्यसबाट त्यहाँका नागरिक पूर्णरुपमा सुरक्षित महसुस गर्न सकेको छैनन् । त्यसैले अब तीनै तहको सरकारको ध्यान पुग्न आवश्यक छ । नागरिकको सुरक्षाको लागि समन्वय गरेर दीर्घकालीन तटबन्ध निर्माण गर्न जोड दिनुपर्छ । स्थायी तटबन्ध निर्माण गर्न ठुलो लगानी चाहिने भएकाले तीनै तहका सरकारको प्रयास र समन्वय आवश्यक छ । बेलामै तीन तहका सरकारले समन्वय र सहकार्य गरेर बलियो तटबन्ध निर्माण गरेर अघि बढ्न जरुरी छ । नागरिकहरु सुरक्षित भएको महसुस गराउन र सरकार भएको अनुभूति दिलाउन आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार