
नन्दराम जैशी । सुर्खेत ।
जिल्लाको लेकबेशी र भेरीगंगा नगरपालिकाका २२६ जना भूमिहीन नागरिकले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । भूमि समस्या समाधान आयोगले शुक्रबार लेकबेशीका २१ जना र भेरीगंगाका २०५ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पूर्वी सुर्खेतको लेकबेशी र भेरीगंगा नगरपालिकाका भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गरेका हुन्।
लालपुर्जा पाएपछि खुसी व्यक्त गर्दै धनबहादुर सार्कीले भूमि आयोगलाई धन्यवाद दिए । उनले भने, ‘२०२७ सालमा सल्यानबाट सुर्खेत भेरीगंगाको मैनतडामा बसाइँ सरेर आउँदा म १७ वर्षको मात्रै थिएँ । अहिले उमेरले ८३ वर्षको भएँ । त्यो बेला बुवाले मैनतडामा ६ हजार रुपैयाँमा १७ रोपनी ऐलानी जमिन खरिद गर्नुभयो । आज दशकौँ अघिको त्यही जमिनको लालपुर्जा हातमा पर्दा खुसीको सिमा नै छैन ।’ जग्गाधनी पुर्जा भएपछि बल्ल आफूले खनजोत गरिरहेको जमिन मेरै हो भन्ने लागेको उनले बताए ।
सल्यानबाट उनीहरु सुर्खेत झर्दा मैनतडा क्षेत्र बनमाराले ढाकिएको थियो । त्यही बनमाराले ढाकिएको क्षेत्रमध्ये १७ रोपनी जमिन उनका बुवा तुल्से सार्कीले खरिद गरे । तर लालपुर्जा पाउने आशमा उनको बुवाको निधन भयो । ‘जग्गा भएर मात्रै नहुँदो रहेछ, लालपुर्जा भइदिएको भए छोरा कालापहाड (भारत) जानुपर्ने थिएन्, ऋण लिएर यतै केही व्यवसाय गर्नेथियो’ उनले थपे, ‘वर्षौँदेखि आफूले हकभोग गरेपनि जग्गाको पुर्जा नपाएरै मरिन्छ जस्तो लागेको थियो । अब छोरा नातिहरुले पुर्जाविहीन भएर बस्नुपर्ने छैन् ।’
भेरीगंगाको काठेघारीकी ७१ वर्षीया मोती खत्रीले जग्गाधनी पुर्जा पाउँदा वर्षौँदेखिको सपना पूरा भएको अनुभूति सुनाइन् । उनले भनिन्, ‘मेरो परिवार २०३० सालतिर सुर्खेतकै सिम्ताबाट बसाइँ सरेर मैनतडा आएको हो । बस्ती बसेको ५२ वर्षपछि जग्गाधनी पुर्जा पाउँदा खुसीले गदगद भएकी छु ।’ लालपुर्जा पाएपछि उनीहरु जस्तै सिंगो मैनतडावासी नै खुसी भएका छन् । उतिबेला जंगल फाँडेर बसाएका बस्तीमा अहिले घरैघर छन् । तर गाउँमा सम्पूर्ण पूर्वाधारहरु पुगेपनि सिंगो बस्ती लालपुर्जाविहीन थियो ।
लालपुर्जा पाएपछि बल्ल अहिले स्थायी स्थानीयवासी भएको उनीहरुमा अनुभूति भएको छ । भेरीगंगा नगरपालिकाका ६, ७ र ८ नम्बर वडामा बसोवास गर्दै आएका २०५ जनाले लालपुर्जा पाएका हुन् भने अरुलाई वितरण गर्ने प्रक्रिया जारी छ । यता लेकबेशी नगरपालिका–४ का २१ जनाले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । ८८ वर्षीय बलबहादुर ज्ञवालीले ५२ वर्षपछि जग्गाधनी पुर्जा प्राप्त गर्दा आफ्नो सपना पूरा भएको बताए । २०२८ सालमा बसाँइसरेको भन्दै ५२ वर्षपछि हातमा जग्गाधनी पुर्जा प्राप्त भएको उनको भनाइ छ ।
उनले भने, ‘यसअघि २०५२ सालमा पनि जग्गाको नापी भएको थियो । तर लालपुर्जा भने प्राप्त भएन् । पटक पटक नापी गर्ने पुर्जा नदिने गरेपछि आशा लागेको थिएन । तर अहिले आएर लालपुर्जा प्राप्त गर्न सफल भइयो ।’ लेकबेशीकै देवबहादुर बुढाक्षेत्रीले चुनावका बेला नेताहरुले गरेको बाचा बल्ल पूरा भएको बताए । उनले भने, ‘नेताहरुले हरेक चुनावमा जग्गाधनी पुर्जा दिन्छौँ भन्थे, प्राप्त भएको थिएन । यो पटक भने बाचा अनुसारको काम भएजस्तो महसुस भयो ।’
पुर्जा वितरणलाई तीव्रता
भूमि आयोग सुर्खेतका अध्यक्ष केशरबहादुर ओलीका अनुसार जग्गाधनी पुर्जा वितरणलाई सुर्खेतमा तीव्र पारिएको छ । केही दिनअघि पश्चिम सुर्खेतको चौकुने र बराहताल गाउँपालिकामा पनि पुर्जा वितरण गरिएको उनले जानकारी दिए । भुमि समस्या समाधान आयोगका केन्द्रीय उपाध्यक्ष सनतकुमार कार्कीले भूमि आयोग सुर्खेत समितिलाई लालपुर्जा तयार गर्नेदेखि वितरणसम्मको सबै अधिकार दिइएको बताए । देशभर लालपुर्जा वितरण गर्ने कुरामा सुर्खेत जिल्ला देशकै उत्कृष्ट जिल्ला बनेकोमा उनले बधाई दिए ।
अझै यसरी नै उत्कृष्ट बनेर काम गर्न उनको निर्देशन छ । ‘लालपुर्जा तयार गरि वितरण गर्ने कार्यमा अहोरात्र खटिएर काम गर्नुभएको छ । गलत व्यक्तिले लालपुर्जा पाएका छैनन्, यसमा कुनै शंका छैन, विविध प्रक्रिया छन् सो अनुसार पारदर्शी तरिकाले लालपुर्जा वितरण भइरहेको छ।’ उनले भने, ‘यसमा सहयोग गर्ने लेकबेशी र भेरीगंगा नगरपालिकालाई पनि आयोगको तर्फबाट धन्यवाद छ । तर सीमित जनशक्ति र स्थानीय तहको असहयोगले कर्णालीका अन्य जिल्लाका आयोगले काम गर्न सकेका छैनन् ।
सुर्खेत आयोगले यसमा उत्कृष्ट काम गरिरहेको छ ।’ भूमिहीनले लालपुर्जा पाएपनि १० वर्षसम्म जग्गा बेच्न नपाउने व्यवस्था छ । कर्णाली सरकारका पूर्वसामाजिक विकासमन्त्री खड्क पोखरेलले नीति र विधि पु¥याएर काम गर्नुपर्ने भएकाले सबैले एकै पटक लालपुर्जा नपाएपनि पाउने आधार बनेकोमा सबै भूमिहीनलाई ढुक्क रहन अनुरोध गरे ।
लेकबेशी नगरपालिका उपप्रमुख विमला खल्लुकले भूमिहीनलाई पुर्जा वितरण कार्य सुरु भएकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन् । भेरीगंगा नगर प्रमुख यज्ञप्रसाद ढकालले भूमिहीन नागरिकलाई जग्गा वितरण गर्ने संविधानले मौलिक हकको रुपमा व्यवस्था गरिएबमोजिम विभिन्न चरणका प्रक्रिया पूरा गरेर जग्गाधनी पुर्जा प्रदान गर्न सफल भएको बताए ।
चाँडै भूमि विधेयक पारित हुन्छ ः खड्का
जग्गाधनी पुर्जा वितरण गर्दै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले पुर्जा पाउनु खुसीको कुरा भएको बताए । वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको उनले उल्लेख गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै भूमि विधेयक पारित हुने बताए ।
‘विधेयक पारित गर्नेगरी छलफल चलिरहको छ, भूमिको अधिकतम उपयोग गर्ने, विशेषगरी व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक छ,’ उनले भने, ‘म उपप्रधानमन्त्री हुँदा २०० प्रतिशत रहेको भूमि राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको हुँ । अहिले पनि मतदाताहरुमा राजस्व धेरै भयो भन्ने गुनासो छ, जग्गाको मूल्य बढेकाले राजस्व बढेको हो भन्ने कुरा मतदातालाई बुझाउनुपर्छ ।’ राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम भइरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने उनको तर्क छ । जिम्मेवारीमा रहेका केन्द्रदेखि टोलसम्मका जनप्रतिनिधिले मतदाता किन असन्तुष्ट छन् भन्ने कुराको ख्याल गर्न जरुरी रहेको उनले बताए ।
‘जनतामा निराशा भन्दापनि जिम्मेवारीमा रहेकाहरुसँग असन्तुष्टि रहेको छ । मत माग्दा भ्रमित हुने गरेर घोषणापत्र बनाउने र पछि सो अनुसार काम नगर्ने चलनका कारण मतदाता रिसाउने गरेका छन्,’ उनले भने, ‘जिम्मेवारीमा रहेकाहरु सच्चिए नागरिकहरु प्रष्ट हुने र सबै क्षेत्रमा सुधार आउने देखिन्छ । अहिलेको चुनौती राजनीतिक दलहरुका लागि यही हो । जिम्मेवारीमा रहेकाहरु लोभबाट, दलगत स्वार्थ भन्दामाथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरे सबै कुरामा सुधार आउँछ ।’
अहिलेको गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने दावी गर्दै प्रमुख २ दल मिल्दा अहिले राजनीतिक स्थिरता भएको उनको भनाइ छ । हाल प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले केही समयपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री छोड्ने र यही गठबन्धनले २०८४ को निर्वाचन गराउने उनको दावी छ ।









प्रतिक्रिया दिनुहोस्