बाँके ।
कोहलपुरको थ्रिस्टार मोबाइल पसलबाट पाँच लाख असुली गरेको आरोपमा पक्राउ परेका तीनजना सुरक्षाकर्मीसहित पाँच जना धरौटीमा रिहा भएका छन् । सोमबार बाँके जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै पक्राउ परेकाहरू धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले जनही एक-एक लाख रूपैयाँ धरौटीमा उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।
आपराधिक लाभसम्बन्धी मुद्दा परेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी सहायक हवलदार मोहम्मद सफिक खान, प्रहरी सहायक हवलदार परमानन्द बर्मा, सशस्त्र प्रहरी जवान रामसुन्दर चौधरी, आफूलाई पत्रकारसमेत बताउने मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारी र भ्रष्टाचारविरुद्धको अभियान्ता बताउने सूर्यप्रसाद रिजाललाई पक्राउ गरेको थियो । जेठ अन्तिममा पक्राउ परेका उनीहरूलाई सोमबार बाँके जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको इलाका प्रहरी कार्यालय कोहलपुरका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका सबैजना सोमबार नै अदालतको आदेशअनुसार धरौटी बुझाएर रिहा भइसकेका छन् । प्रहरी निरीक्षक पौडेलले मिसन टुडेलाई दिएको जानकारी अनुसार जनही एक-एक लाख रूपैयाँ धरौटी रकम बुझाएर उनीहरू रिहा भएका थिए । ‘अदालतको आदेशअनुसार पक्राउ परेका सबैजना धरौटी रकम बुझाएर सोमबार नै रिहा भइसकेका छन्,’ उनले भने, ‘फरार रहेका अन्य एकजना प्रतिवादीलाई भने हामीले खोजीरहेका छौँ ।’
पाँच लाख रूपैयाँ असुलीको लागि प्रयोग भएको भारतीय नम्बर प्लेटको कारका धनी फरार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीलाई पक्राउको लागि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारीसमेत भइसकेको छ ।
यस्तो थियो पाँच लाख असुलीको घटनाक्रम
कोहलपुरको पुरानो बसपार्क नजिकै रहेको थ्रिस्टार मोबाइल पसलमा राखिएको सिसिटिभी भिडिओअनुसार तीनैजना घुमुवा जेठ २१ गते बुधबार मध्यान्ह २ बजेर ३६ मिनेट जाँदा मोबाइल पसलको बाहिर पुगेका थिए । उनीहरूमध्ये दुई जना प्रहरीका घुमुवाले आफूहरू प्रहरी भएको भन्दै पसलमा छापा हान्न आएको भनेर प्रहरीको परिचयपत्र समेत देखाए ।
लगत्तै प्रहरीका दुई जना घुमुवाले बाहिरपट्टी सेवाग्राही बस्ने कुर्सीमा बसेर केरकार गर्छन् भने सशस्त्र प्रहरीका घुमुवाले रेकी गर्छन् । मिसन टुडेलाई सोबेला नै प्राप्त सिसिटिभी भिडिओअनुसार केही मिनेट बाहिरबाटै केरकार गरेपछि २ बजेर ४३ मिनेटमा प्रहरी सहायक हवलदार बर्मा पसलभित्र छिर्छन् । लगत्तै प्रहरी सहायक हवलदार खानसमेत भित्र पस्छन् । २ बजेर ५० मिनेट जाँदा प्रहरीसँग कुराकानी गरेर सशस्त्रका घुमुवा चौधरीसमेत मोबाइल पसलभित्र पसेको सिसिटिभी भिडिओमा प्रस्ट देखिन्छ । त्यसपछि तीनै जना मिलेर पसल सञ्चालकलाई सोधपुछ गर्छन् भने पसलमा राखिएका मोबाइल लगायतका सामानहरू खोलेर हेर्छन् ।
घुमुवा प्रहरीले धम्की दिन थालेपछि पसल सञ्चालकले मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ बाँकेका अध्यक्ष गोबिन्द भण्डारीलाई फोन गर्छन् । २ बजेर ५९ मिनेटमा संघका अध्यक्ष भण्डारी दैलेख घर भई हाल नेपालगन्ज बस्दै आएका सूर्यप्रसाद रिजाललाई लिएर भित्र छिर्छन् । ३ बजेर १४ मिनेटमा अध्यक्ष भण्डारीसँग गएका रिजालसहितका व्यक्तिले भित्रबाट सबै सटर बन्द गरिदिन्छन् ।
त्यसपछि घुमुवा प्रहरी, संघका अध्यक्ष भण्डारी उनीसँग गएका रिजाल, पसल सञ्चालकबीच केहीबेर कुराकानी भएको सिसिटिभी भिडिओमा देखिन्छ । ३ बजेर १९ मिनेटमा पसल सञ्चालक हात जोडेर उनीहरूसँग हारगुहार गरिरहेका देखिन्छन् । त्यसपछि संघका अध्यक्ष तथा घुमुवा प्रहरी मिलेर फेरी पसलका सामानहरू हेर्छन् ।
३ बजेर २७ मिनेटमा उनीहरूले पसलमा जडान गरेको सिसिटिभी क्यामेरा सञ्चालनको लागि जडान गरिएको लाइनको तार नै निकालेर सिसिटिभी क्यामेरा बन्द गराउँछन् । सिसिटिभी क्यामेरा बन्द गराएपछि धम्की दिँदै उनीहरूले पसल सञ्चालकसँग पैसाको बार्गेनिङ गर्न सुरु गर्छन् । पसलमा कार्यरत एक कर्मचारीका अनुसार घुमुवा प्रहरीले आफूहरूले मागेको रकम नदिए लागूऔषध लगायतका मुद्दामा फसाइदिने भन्दै धम्की दिएका थिए ।
आफूलाई पत्रकारसमेत बताउने संघका अध्यक्ष भण्डारीले समेत घुमुवासँग निहु नखोज्न र मिलाएर जान नै पसल सञ्चालकलाई सुझाव दिएका थिए । सुरुमा उनीहरूले आठ लाख रूपैयाँ दिनुपर्ने माग गरे । पसल सञ्चालकले त्यति रकम दिन नसक्ने भन्दै मिलाउन भनेपछि उनीहरूले सात लाख रूपैयाँको माग गरेका थिए । सात लाखमा समेत कुरा नमिलेपछि पाँच लाख भए हुनेगरी घुमुवासँग कुरा मिलाए ।
त्यसपछि उनीहरूले आफूलाई तत्कालै पाँच लाख रूपैयाँ दिनुपर्ने र नपाए राम्रो नहुने बताएका थिए । पसल सञ्चालकले आफूसँग अहिले त्यतिधेरै पैसा नभएको र दुई चार दिनमा दिने प्रस्ताव गरे । उनीहरूले त्यो प्रस्ताव नमानेपछि सञ्चालक ऋण खोज्नतिर लागेका थिए । त्यहीबाट नै केही व्यक्तिलाई पैसा चाहिएको भन्दै उनले फोन गरे । कतैबाट समेत पैसाको जोहो हुन नसकेपछि पसल सञ्चालकले एक व्यक्तिबाट पाँच लाख रूपैयाँ सापटी पाएका थिए । ती व्यक्तिलाई उनले आफ्नो स्टाफ मन्सुर खानको नाममा पाँच लाखको चेक काट्न लगाए । खानको नाममा पाँच लाखको चेक आइसकेपछि सडकमा राखिएको सिसिटिभी भिडिओअनुसार घुमुवा प्रहरीहरू चेक साटेर रकम ल्याउनु भन्दै ३ बजेर ५१ मिनेटमा पसलबाट बाहिरिएका थिए ।
३ बजेर ५२ मिनेटमा सय मिटर टाढा हरियाली मार्गमा राखिएको भारतीय नम्बर प्लेटको यूपी५०एए९८८५ नम्बरको कार चढेर तीनै जना घुमुवाहरू गएका थिए । उनीहरूले पसल सञ्चालकलाई चेक साट्न लगाएर नगद रकम ल्याउन संघका अध्यक्ष भण्डारीलाई जिम्मा दिए । घुमुवा गएपछि तत्कालै पसल सञ्चालक आफ्नो स्टाफले बैंकबाट साटेर ल्याएको रकमसँगै आफ्नो मोटरसाइकलमा संघका अध्यक्ष भण्डारीलाई राखेर नेपालगन्जतिर लाग्छन् । चेक साटेर नगद लिएपछि अध्यक्ष भण्डारीले उनलाई पिप्रहवामा रकम बुझाउन जानुपर्ने भयो भनेर उतै लिन्छन् ।
पहिला नै त्यहाँ भएका उनीहरूले नगद पाँच लाख रूपैयाँ भारतीय नम्बरको कारमा राख्न लगाएका थिए । पाँच लाख नगद दिएको कुरा कसैलाई खबर गरे सिध्याइदिने धम्कीसमेत मोबाइल पसल सञ्चालकलाई दिए । त्यसपछि मोबाइल पसल सञ्चालकलाई उनीहरूले एक्लै कोहलपुरतिर पठाइदिए । कारमा राखिदिएको पाँच लाख रूपैयाँ लिएर तीनजना सुरक्षाकर्मीसहित पाँचजना नेपालगन्जतिर लाग्छन् ।
जेठ २२ गते बिहीबार इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता गर्न खोजेका पसल सञ्चालकलाई संघका अध्यक्ष भण्डारीले मुद्दा दर्ता नगरेर मिलेर जानुपर्ने भन्दै नेपालगन्जको गणेशमान चोक नजिकै पु¥याएका थिए । त्यहाँको एक मासु पसलमा तीनजना घुमुवा प्रहरीले पसल सञ्चालकलाई कतै उजुरी गरेर राम्रो नहुने भन्दै चुपचाप बस्न धम्की समेत दिए ।









प्रतिक्रिया दिनुहोस्