स्वदेशमा भविष्य देखेकी १७ वर्षीया एलीजा



अधिकांश युवाहरू कक्षा–१२ पास गर्नसाथ सबैको गन्तव्य विदेश बनिरहेको बेला कोहलपुर नगरपालिका–६ की एलीजा आरसी भने स्वदेशमा भविष्य देखिरहेकी छिन् । स्वदेशमा केही गर्न सकिन्छ भन्ने उनमा दृढ संकल्प छ । सोहीअनुरुप स्वदेशमा नै केही गरेर खान सकिन्छ भन्ने उदाहरण दिन उनले भर्खरै ‘स्टुडियो ब्लेन्ज बारबर सप’ सञ्चालनमा ल्याएकी छिन् । ‘नेपालमा केही छैन् भनेर विदेश गएको देख्छु तर, आफ्नो हातमा सीप र क्षमता भए स्वदेशमा केही गरेर खान सकिन्छ,’ उनी भन्छिन् ।

गणेश रावत । कोहलपुर ।

पछिल्लो समय स्वदेशमा केही भविष्य छैन् भनेर युवाहरू विदेसिनेको लर्काे छ । अधिकांश युवाहरू कक्षा–१२ पास गर्नसाथ सबैको गन्तव्य विदेश बनिरहेको बेला कोहलपुर नगरपालिका–६ की एलीजा आरसी भने स्वदेशमा भविष्य देखिरहेकी छिन् । स्वदेशमा केही गर्न सकिन्छ भन्ने उनमा दृढ संकल्प छ ।

सोहीअनुरुप स्वदेशमा नै केही गरेर खान सकिन्छ भन्ने उदाहरण दिन उनले भर्खरै ‘स्टुडियो ब्लेन्ज बारबर सप’ सञ्चालनमा ल्याएकी छिन् । ‘नेपालमा केही छैन् भनेर विदेश गएको देख्छु तर, आफ्नो हातमा सीप र क्षमता भए स्वदेशमा केही गरेर खान सकिन्छ,’ उनी भन्छिन् ।
एलीजा उमेरले १७ वर्ष मात्रै पुगिन् । भर्खरै उनले कक्षा–१२ को परीक्षा दिएर रिजल्ट पर्खेर बसेकी छिन् ।

स्वदेशमा व्यवसाय सञ्चालन गर्दै पढ्ने उनी बताउँछिन् । एलीजाका बाबा नेपाल प्रहरी हुन् भने आमा ब्युटिपार्लर चलाउने गर्छिन् । उनले पनि सोही क्षेत्र रोज्दा आमा खुसीले दंग छिन् । अन्यभन्दा फरक तरिकाले व्यवस्थित रूपमा हेयर कटिङ, मेकअप लगायतका सबै सेवाहरू प्रदान गर्ने उनी बताउँछिन् । सस्तो मूल्यमा राम्रो सेवा प्रदान गर्ने एलीजाको भनाइ छ ।

केटा र केटीहरू दुवै जनाको कपाल काट्नेदेखि मेकअपसम्मको सबै सेवाहरू दिइने जानकारी दिइन् । केटीले केटाहरूको हेयर कटिङ गर्ने कोहलपुरको पहिलो ‘स्टुडियो ब्लेन्ज बारबर सप’ रहेको उनले बताइन् । स्वदेशमा केही गर्न चाहेकाले सबैको साथ र सपोर्ट चाहिएको उनको भनाइ छ । अरुको देशमा भन्दा आफ्नै देशमा केही गर्न चाहेकाले एकपटक आएर सेवा गर्ने अवसर दिन उनले आग्रह गरिन् ।

सोमबार उनले कोहलपुर–११ पिपल चौतारा कजिक ‘स्टुडियो ब्लेन्ज बारबर सप’ हेयर कटिङ सञ्चालनमा ल्याएकी छिन् । उक्त ‘स्टुडियो ब्लेन्ज बारबर सप’को कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले रिबन काटेर उद्घाटन गरेकी हुन् । सानै १७ वर्षको उमेरमा एलीजाले गरेको आँट र हिम्मतलाई सबैको साथको खाँचो रहेको उनले बताइन् ।

अभिभावकको सपोर्ट र इच्छा शक्तिले सफलता पाउनेमा कुनै शंका नरहेको उनको भनाइ छ । स्थानीय तहले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । विदेसिनेको भिडबाट माथि उठेर स्वदेशमा केही गर्न खोज्नु सकारात्मक पक्ष रहेको उनले बताइन् । स्वदेशमा केही गर्न सकिन्छ भन्ने सबैको पे्ररणाको स्रोत बन्न एलीजालाई शुभकामना समेत प्रदान गरिन् ।

यस्तै कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डीप्रसाद गैरैले व्यवसाय सञ्चालन गर्दा पर्ने दुःख सुखमा साथ दिने प्रतिबद्धता जनाए । विदेसिने युवाहरूले पनि अब स्वदेशमा केही गर्न सकिन्छ भन्ने उदाहरण एलीजा बनेको बताए । उद्घाटन समाहरोमा उपस्थित सबै अतिथिहरूले एलीजाको आँट र हिम्मतको प्रशंसा गरेका थिए । आफ्नो परिवार र विशेषगरी दिदीको सपोर्टले ‘स्टुडियो ब्लेन्ज बारबर सप’ सञ्चालनमा ल्याउन सफल भएको उनी बताउँछिन्।

  • No tags available
प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार