शिविरमा ३ सय ६ जनाको आँखा परीक्षण



नेपालगञ्ज, ३ मंसिर /  लायन्स क्लब अफ नेपालगञ्ज मिड टाउनले सवारी चालकलाई लक्षित गरी नेपालगन्जमा एकदिने निशुल्क आँखा परीक्षण गरिएको छ ।

शिविर मानन्धर चस्मा घर, कलेज अफ अप्थाल्मिक हेल्थ साइन्स नेपालगन्जको सहआयोजना तथा फत्तेबाल आँखा अस्पताल नेपालगन्ज र नेपाल पत्रकार महासंघ बाँकेको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो । शिविरमा आँखा परीक्षण तथा चस्मा र औषधी समेत वितरण गरिएको थियो । शिविरमा ३ सय ६ जनाले आँखा परीक्षण गराएका मध्ये ८७ जनालाई चस्मा वितरण गरिएको थियो ।

चस्मा वितरण गरिएका मध्ये पनि ६ जना मोतियाविन्दुका विरामीलाई नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा थप उपचारका लागि पठाइएको छ । शिविरबाट सिफारिस भई गएका विरामीको उपचारमा सो अस्पतालले उपचार खर्चमा ५० प्रतिशत छुट दिने लायन्स क्लब अफ नेपालगन्ज मिड टाउनका अध्यक्ष लायन रेवती सिंहले बताइन् ।

सवारी चालकलाई लक्षित गरी शिविर सञ्चालन गरिएपनि आँखा उपचारका लागि आएका अन्य व्यक्तिहरुको पनि उपचार गरी चस्मा र औषधी उपलब्ध गराइएको थियो । नेपाल पत्रकार महासंघ बाँके कार्यालयको परिसरमा आयोजना गरिएको शिविरमा यस जिल्लाका पत्रकारहरुको पनि आँखा जाँच गरी चस्मा उपलब्ध गराइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर ३ गते आइतबार