शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर–१३ स्थित बालशिक्षा माध्यमिक विद्यालय (मावि) भरैयाको सरकारी जग्गा अतिक्रमणको चपेटामा छ । विद्यालयको क्षेत्र कायम गरिएको सरकारी जग्गामा वर्षौंदेखि विभिन्न क्षेत्रबाट आएका व्यक्ति बसोबास गर्दै आएका हुन् । विद्यालयको दाबीअनुसार उक्त क्षेत्रमा हाल ५१ जना बढी घरधुरी बसोबास गर्दै आएका छन् ।
विद्यालय कै क्षेत्रभित्र रहेको क्षेत्रमा केही सीमित व्यक्तिले समेत भोग चलन गर्दै आइरहेको विद्यालयले जनाएको छ । अहिलेसम्म नापजाँच केही नभएको तथा समुदायले विद्यालयको नाममा हुने भनि निर्णय गरे पनि बस्ती बस्नुका साथै व्यक्तिले अतिक्रमण गरेर भोग चलन गरिरहेको विद्यालयका प्रधानाध्यापक टर्कबहादुर खत्रीले बताए ।
उनका अनुसार विद्यालय स्थापना हुँदाताका विद्यालयको जमिनको क्षेत्रफल चार बिगाहा थियो । ‘एक वर्षअघि प्राविधिक लिएर नापचाँज गर्दा दुई बिगाहा चार कठ्टा जमिनमा मात्र विद्यालय क्षेत्र छ,’ उनले भने, ‘अन्य जग्गा अतिक्रमित भएको छ ।’ विद्यालयका केही दस्तावेजले विद्यालयको खेतीयोग्य जमिन पहिला केही व्यक्तिलाई ठेक्कामा दिएको पाइएको छ ।
त्यतिबेला भाडामा दिएको जग्गा अहिले व्यक्तिगत आफैँ भोगचलन गरिरहेको छन् । करिब साढे दुई बिगाहा जग्गामा ५० भन्दा बढी घरपरिवारसहितको बस्ती बसेको प्रधानाध्यापक खत्रीको भनाइ छ । उनीहरुले खेतीपाति गरिरहेका छन् । उक्त विद्यालयले हाल मात्रै दुई बिगाहा चार कट्ठा जमिन मात्रै प्रयोग गरिरहेको छ ।
‘मैले विद्यालयको नेतृत्व सम्हालिरहँदा विद्यालयको सम्पूर्ण अवस्थाको जानकारी लिए । जग्गाको विषयमा विवाद रहेछ । यहाँका बस्ती र व्यक्तिलाई आग्रह गर्दा सहमत हुनुभएन,’ उनले भने, ‘त्यसैले नगरपालिकालाई सरकारी जमिन हो भने फिर्ता हुनुपर्छ भनेर प्रमाणसहित निवेदन पेश गरेका छौँ । भोलि मावि सञ्चालन गर्दैगर्दा थप जमिनको आवश्यक हुने भएकोले हामीले सरोकारवाला गुहारिरहेका छौँ ।’
यस्तै समुदायलाई समेत जग्गा जबरजस्ती जोत्नु भएको हो भने फिर्ता गरेर बालबालिकाको उज्ज्वल भविष्यका लागि जमिन सुरक्षित गरिनुहोस् भनेर अनुरोध गरिएको उनी बताउँछन् । केही सीमित व्यक्ति र अदृष्य शक्तिको आडमा त्यहाँका व्यक्ति सहमत नभएका कारण अहिले पनि विद्यालयको जग्गा अतिक्रमणको चपेटामा छ ।
‘यो विशुद्ध सरकारी जग्गा हो । विद्यालय स्थापना गर्दा त्यसैको नाममा हुने गरिएका दस्तावेज भेटिएका पनि छन् । तर दर्जनौ घर बनेका छन् । उनीहरु नै जग्गा उपभोग गरिरहेका छन् । अंशबण्डासमेत भएको पाइएको छ । अहिले पूर्णरुपमा अतिक्रमित नै छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर विश्वकर्माको भनाइ छ । उनले अहिले विद्यालयको लागि थप जग्गा आवश्यक भएको र विद्यालयको जग्गा नाप तथा नक्सांकन गराइ भोगाअधिकार आवश्यक भएकाले स्थानीय सरकारको सहयोग मागिएको बताए ।
यही भदौ ५ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको स्थापनाकालदेखि हालसम्म विद्यालयको जग्गा नाप तथा नक्सांकन नभएकोले नक्सांकन गराइ भोगाअधिकार गर्नका लागि वडा कार्यालयको सिफारिसहित नगरपालिकामा पेश गर्ने निर्णय भएको अध्यक्ष विश्वकर्माले बताए । यस्तै भदौ १३ गते वडा नम्बर १३ को कार्यालयले विद्यालयको जग्गा नाप तथा नक्सांकन नभएकोले उक्त जग्गाको नक्सांकन गरी भोगाअधिकार कायम गर्न आवश्यक सहयोग गरिदिन कोहलपुर नगरपालिकालाई आग्रह गरेको छ ।
विद्यालयको असफल प्रयास श्रृंखला
२०५० सालमा (१–५) सम्मको अध्यापन अनुमति विद्यालयले पाएको थियो । २०५१ सालदेखि स्थायी स्वीकृत भइ अनवरतरुपमा सञ्चालन हुँदै आएको छ ।
जग्गा किचलो कै सम्बन्धमा २०६२ असार १६ गते विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर बुढाको अध्यक्षतामा बसेको जग्गासम्बन्धी किचलोको विषयमा छलफल गरी गरिएको निर्णयमा भनिएको छ, ‘विद्यालयले स्थापनाकालदेखि हालसम्म पूर्व सिराहा गाउँ, पश्चिम रोहिणी खोला, उत्तरतर्फ सिराहा गाउँ र दक्षिण दुई खोला दोभान तथा जंगलतिर चार किल्लाभित्रको अन्दाजी ज.वि.४–०–० भित्र चलन गरी आएको छ ।
सो सम्बन्धनमा दर्ता श्रेस्ताका लागि कोहलपुर गाविस र जिल्ला शिक्षा कार्यालय बाँकेसमेत सिफारिसमा जिल्ला मालपोत कार्यालयमा जग्गा दर्ताको लागि माग गरेको र स्थानीय जनताको जनसहभागितामा र जिल्ला शिक्षा कार्यालय बाँकेको सहयोगमा विद्यालय भवन निर्माण गरी पठनपाठन जारी राखिएको छ ।’
त्योभन्दा अघि असार १२ गते त्रिभुवन मावि स्रोत केन्द्रका विद्यालय निरीक्षक बोधीप्रसाद खनालको अध्यक्षमा बसेको बैठकले विद्यालयसँग सरोकार राख्ने कुमबहादुर खड्का अनुपस्थित भएको र अन्य अभिभावकलाई समेत बोलाउनु पर्ने भएकोले उक्त क्षेत्रमा बसोबास गर्दै आएका १९ जनालाई बोलाउने निर्णय गरिएको थियो ।
असार १६ गतेको बैठकले २०५१ चैत ७ गते विव्यस र स्थानीयको सहभागितामा विद्यालयका अध्यक्षसमेत रहेका कुमबहादुर खड्कालाई वार्षिक पाँच हजार पाँच सयका दरले ठेक्का सोहीअनुसार विद्यालयको खेतीयोग्य जग्गा उपलब्ध गराउने निर्णय ग¥यो । फेरि कुनै पनि व्यक्ति बढीबढाउमा जग्गा ठेक्कामा लिन इच्छुक नदेखिएकोले २०५२ चैतमा खड्काले नै लिएका थिए ।
तर २०५३ जेठ १४ गतेको विव्यस तथा अभिभावक भेलाबाट बढी बढाउमा देवीनाथ योगीलाई दुई वर्षको लागि पहिलो वर्ष नौ हजार एक रूपैयाँ र दोस्रो वर्ष नौ हजार १० रूपैयाँका दरले रकम बुझाउने गरी ठेक्का दिइयो ।
२०५५ वैशाख १३ गते फूलबारी छुट्याउँदा खेतीयोग्य जमिन घट्न गएकोले वार्षिक तीन हजार रूपैयाँ विद्यालयलाई दिने गरेर खड्कालाई ठेक्का दिइयो । सोही बैठकको निर्णय नम्बर २ मा चार किल्लाभित्रको विद्यालयको जग्गा जबरजस्ती जोतभोग गरी खाने व्यक्तिको एकिन गरी समितिले एकपटक व्यवस्थान गर्ने प्रयास गर्ने, त्यसको प्रतिवेदन र निर्णय प्रतिनिधि स्रोत केन्द्रमार्फत जिल्ला शिक्षा कार्यालयमा पठाउने निर्णय गरिएको थियो ।
अहिले त्यतिबेला ठेक्कामा लिएका खड्काका छोराहरु, योगीलगायतका व्यक्ति तथा बादी समुदायले उक्त जग्गा अतिक्रमण गरेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् । यसैगरी टर्कबहादुर खत्री प्रधानाध्यापक र डम्मरबहादुर विश्वकर्मा विव्यस अध्यक्ष भएर आइसकेपछि विद्यालयको जग्गा नाप तथा नक्सांकन गराइ भोगाअधिकारका लागि निरन्तर पहल भइरहेको छ ।
यसै सम्बन्धमा यही भदौ १२ गते बसेको विव्यसको बैठकले विद्यालयको जग्गा लामो समयदेखि कित्ता कायम र भोगाअधिकार गर्ने काम नभएकोले उक्त कार्यलाई पूर्णता दिन वडा कार्यालयको सिफारिससहित नगरपालिकामा विवरण पेश गरी विद्यालयको जग्गा नाप तथा नक्सांकन गराइ भोगाअधिकार कार्य गराउने भनी भनी निर्णय गरेको छ ।
वडाअध्यक्ष नै भोगचलन गर्छन् जग्गा
हालको बालशिक्षा मावि भरैयाका संस्थापक हुन्, कुमबहादुर खड्का । उनले लामो समय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर पनि काम गरे । २०६५ सालमा दिवंगत भएका खड्काले विभिन्न समयमा खेतीयोग्य जमिन ठेक्कामा लिएको दस्तावेजमा पुष्टि भइसकेको छ । अहिले उनका पाँच भाइ छोरा छन् ।
तीमध्येका एक हुन् वडा नम्बर १३ का अध्यक्ष डम्बरबहादुर खड्का छन् । कूल ५१ जनाले त्यहाँ घर बनाएर बसिरहेका छन् । वडाध्यक्ष खड्का पनि विद्यालय क्षेत्रको जमिन प्रयोग गरिरहेका छन् । उनी मात्रै होइन खड्काका अरु चार भाइले पनि यहाँको जग्गा उपभोग गर्दै आएका छन् । विद्यालय व्यवस्थापनको दाबी छ, ‘विद्यालयको चार किल्लाभित्रको क्षेत्रभित्र खड्का दाजुभाइहरुले जग्गा अंश बण्डा गरेर उपभोग गरिरहेका छन् ।’
मिसन टुडे दैनिकसँग कुराकानी गर्दै वडाध्यक्ष खड्काले आफूले अहिले पनि जमिन उपभोग गरिरहेको स्वीकार गरे । उनले भने, ‘यहाँ ५१ घर छन् । मेरो पाँच भाइ छौँ । मैले पनि भोग चलन गरिरहेको छु । भोगचलनभन्दा नि संरक्षण गरिरहेका छौँ । त्यो जमिन सरकारीभन्दा पनि जंगली हो । संकटकालमा सबैले भोगचलन गरे । हामीले ग¥यौँ । त्यहाँ चार किल्ला छ । हाम्रो माग स्थानीय सरकारले सबैलाई व्यवस्थापन गरोस् भन्ने छ । दुईचारजना आठदशलाई मात्र हटाउने अरुलाई राख्ने भयो भने मान्य हुँदैन । सम्पूर्णरुपमा व्यवस्थापन होस् भन्ने पक्षमा म छु ।’