प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा मानसरोवर मावि हुम्ला प्रथम



वीरेन्द्रनगर ।

कर्णाली प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा मानसरोवर मावि हुम्ला प्रथम भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमाझ प्रदेशस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा मानसरोवर मावि हुम्ला पहिलो हुन सफल भएको हो ।

प्रदर्शनीमा उक्त विद्यालयका सन्तोस शाही र आकाश शाही सहभागी थिए । यो विद्यालयले प्रथम पुरस्कारस्वरुप नगद ३५ हजार रूपैयाँ प्राप्त गरेको छ ।

यस्तै द्वितीय पुरस्कार कर्णाली मावि अनामनगर जुम्लाले जितेको छ । उक्त विद्यालयले नगद ३० हजार प्राप्त गरेको छ । तृतीय पुरस्कार सिद्दार्थ पाठशाला वीरेन्द्रनगर सुर्खेतले प्राप्त गरेको छ । यस विद्यालयले नगद २५ हजार रूपैयाँ प्राप्त गरेको छ ।

यस्तै सान्त्वना पुरस्कारस्वरुप त्रिभुवन जनता मावि सल्यानले नगद २० हजार रूपैयाँ प्राप्त गरेको छ । शिक्षा विकास निर्देशनालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी प्रत्येक जिल्लाबाट १÷१ विद्यालयका २ विद्यार्थी र १ शिक्षक संरक्षक सहभागी भएका थिए ।

कार्यक्रमले विज्ञान र प्रविधिप्रतिको विद्यार्थीहरूको रुचि, सृजनशीलता र नवप्रवर्तन क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको शिक्षा विकास निर्देशक दिपा हमालले बताइन् । उनका अनुसार कार्यक्रमको मूल्यांकन कार्यमा शिक्षाविद् विवशकुमार ओली, लोकेन्द्र सुवेदी र नरेन्द्रप्रसाद भट्टले निर्णायकको भूमिका निर्वाह गरेका थिए । साथै कार्यक्रममा सहभागी विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहनस्वरूप प्रतिव्यक्ति ४ हजार रूपैयाँका दरले नगद वितरण गरिएको छ ।

यस कार्यक्रमले प्रदेशका विभिन्न स्थानबाट आएका विद्यार्थीहरूबीच आपसी सञ्जाल, सिकाइ आदानप्रदान र वैज्ञानिक सोचको विकासमा सकारात्मक प्रभाव पारेको आयोजक शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
पुरस्कार प्रदान गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनशयाम भण्डारीले विकसित नयाँ नयाँ प्रविधिसँगै विद्यायमा अध्ययनअध्यापन गराउन जरुरी रहेको बताए । सोहीअनुसार राज्यले पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा लगानी बढाउन जरुरी रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ २५ गते आइतबार