कोहलपुर ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि बाँकेको कोहलपुर–११ मा रहेको साझा सहकारी संस्था लिमिटेडले बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै सयौँ परिवार विस्थापित भएका छन्। विपद्का कारण घरबार गुमाएका तथा आफन्त गुमाएका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहकारीले आफ्नो तर्फबाट आर्थिक सहयोग गरेको हो।
साझा सहकारी संस्था लिमिटेडले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ। संस्थाका अनुसार विपद्को कठिन अवस्थामा पीडित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत रूपमा १ लाख ९ हजार रुपैयाँ उपलब्ध गराइएको हो। त्यसैगरी संस्थाको सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीहरूले समेत आफ्नो तर्फबाट थप ५६ हजार रुपैयाँ सहयोग गरेका छन्। संस्थाका अध्यक्ष पारसनाथ थारुका अनुसार संस्थागत र व्यक्तिगत सहयोग गरी बाढीपीडितका लागि कुल १ लाख ६५ हजार रुपैयाँ प्रदान गरिएको हो।
अध्यक्ष थारुले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले संस्थाले आफ्नो क्षमताअनुसार राहत अभियानमा हातेमालो गरेको बताए। ‘विपद्को समयमा पीडित परिवारलाई सबैभन्दा बढी साथ र सहयोगको आवश्यकता हुन्छ। हामीले संस्थागत रूपमा सक्ने सहयोग गरेका छौँ,’ अध्यक्ष थारुले भने। भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, सहकारी, व्यवसायी तथा नागरिकस्तरबाट सहयोग जुटिरहेको छ।
बाढीले कतिपय परिवारका घर, व्यवसाय तथा भौतिक संरचनामा क्षति पुर्याएको छ भने कतिपय परिवारले आफन्तसमेत गुमाएका छन्। विपद्पछि तत्कालीन राहतसँगै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणको आवश्यकता देखिएको छ। यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा समुदायबाट प्राप्त आर्थिक तथा भौतिक सहयोगले प्रभावित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।
साझा सहकारीले पनि विपद्को घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार अभियानमा आफ्नो सहभागिता जनाएको हो। सहकारीले विपद्मा परेका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्