10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

उपकार लद्युवित्तको साधारण सभा सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १, २०८०  

नेपालगन्ज।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा भगवती रेग्मी र निशा वाग्ले निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पाँचौँ वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट रेग्मी र वाग्लेलाई चयन गरेको हो ।  कोहलपुरस्थित होटल ट्रि टप ह्याभेनमा अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा सधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०÷८१ का लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ । महिलाको अगुवाइमा स्थापना भएको कोहलपुरमा प्रधान कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्था उत्कृष्ट करदाताका रूपमा पटक–पटक सम्मानित भइसकेको छ ।

महिलाले मात्र सञ्चालन गरेको उक्त लघुवित्तको कार्यक्षेत्र लुम्बिनी प्रदेश हो । पूर्व रुकुम र गुल्मीबाहेक अन्य जिल्लामा ३३ वटा शाखा सञ्चालनमा रहेका छन् । २०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मञ्चले आफ्ना सदस्यबाट १० रुपैयाँ बचत उठाउँथ्यो । मञ्चका अगुवाहरू गाउँगाउँमा गएर महिलाको समूह बनाउँथे ।

त्यही समूहबाट संकलन भएर बनाइएको महिला मञ्च आज राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘घ’ वर्गको वित्तीय संस्था बन्न सफल भएको हो ।
‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था आज ‘घ’ वर्गको वित्तीय संस्था बन्न सफल भएकोमा असाध्यै खुसी छु,’ संस्थाकी शान्ति ढकालले भनिन् । सम्पूर्ण महिलाको सम्पत्तिका रूपमा महिला उपकार मञ्च रहेको अध्यक्ष ढकालले बताइन् । २०६० सालमा महिला उपकार मञ्चले लघुवित्त कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएको थियो ।

प्रकाशित मितिः सोमवार, माघ १, २०८०     9:59:37 AM  |