
नेपालगन्ज ।
वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण शनिबारबाट सुरु हुने भएको छ । नेपालगन्जमा आयोजना हुँदै आएको ट्राभल मार्टको तेस्रो संस्करण यस वर्ष जेठ २४, २५ र २६ गते गरी तीन दिनसम्म चल्ने मार्टको संयोजक नाट्टा बाँकेले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
मार्टमा भारतका महत्वपूर्ण पर्यटकीय सहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर एण्ड ट्राभल व्यवसायीहरूको सहभागिता रहने मार्टको आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले जानकारी दिए । साथै, भारतबाट डेढ दर्जन पत्रकार, ब्लगर र सोसल मिडिया इन्फ्लुएन्सरलाई पनि आमन्त्रण गरेर यस क्षेत्रका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न लागिएको पनि सिग्देलले दाबी गरे ।
मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायीहरूबीच बिटुबी सेसन, पर्यटनबारे छलफल, बाँके बर्दियाका पर्यटकीय स्थलहरूको परिचयात्मक भ्रमण, कर्णालीमा ¥याफ्टिङ र क्यासिनो तथा होटल भिजिटको कार्यक्रमहरू रहेका पनि जानकारी दिइएको छ ।
यसैगरी नेपालगन्जको त्रिभुवन चोकमा ठेलामा रैथाने खानका परिकारको स्टलहरू राखेर खानको प्रचारप्रसारका साथै व्यवसायीहरूलाई अवसर सृजना गरिने पनि सिग्देलले बताएका छन् । ठेलामा खानाका स्टलका लागि ट्राफिक व्यवस्थापनका साथै खानाको सरसफाईमा विशेष ध्यान दिइने सिग्देलले बताएका छन् ।
‘यसले हाम्रा रैथाने खानाका परिकारको प्रचारप्रसार पनि हुनेछ भने खानाको नयाँ व्यवसाय सुरु गर्ने सोच भएकाहरूका लागि अवसर पनि हुनेछ,’ सिग्देलले भने । त्रिभुवन चोकमा स्ट्रिट फुटको विशेष क्षेत्र बनाउनका लागि स्थानीय तहलाई घचघच्याउने काम पनि उक्त अवसरले गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल एसोसियसन, होटल व्यवसायी संघ बाँके लगायतका संस्थाहरूको सहकार्यमा मार्टको आयोजना हुन लागेको पनि जानकारी दिइएको छ ।
तेस्रो संस्करणमा आइपुगेको मार्ट आयोजनाकले यस क्षेत्रको पर्यटन क्षेत्रमा सकारात्मक प्रभावहरू पार्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । सिग्देलले अघिल्लो संस्करणको बेला बागेश्वरी मन्दिरमा महाआरती सुरु भएको, मनसरोवर लक्षित माउन्टेल फ्लाइट, नेपालगन्ज पोखरा उडान लगायतका सकारात्मक कामहरू वेस्टर्न मार्टको प्रयासपछि भएका दाबी गरे । उनले मार्ट आयोजनापछि परेको प्रत्यक्ष प्रभावका विषयमा विस्तृत मूल्यांकन हुन भने बाँकी रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्