बाँके ।
बाँकेको कोहलपुर नगरपालिकाले रोजगार रणनीति बनाउने भएको छ । त्यसका लागि पहिलो चरणमा सोमबार कोहलपुरका उद्योगी व्यवसायीसँग छलफल गर्दै सुझाव लिने काम गरिएको रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले जानकारी दिए । रोजगारी सृजनाका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको उद्योगी व्यवसायीले प्रतिबद्धता जनाए ।
उनीहरूले रोजगारी सृजना गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै संघीय सरकारले नै नीतिगत व्यवस्था गरेर यो समस्यालाई समाधान गर्न सुझाए । व्यवसायीहरूलाई व्यवसाय सञ्चालनमा सरकारले जति सक्यो सहज वातावरण बनाउन सक्यो त्यति धेरै रोजगारी सृजना हुने उनीहरूको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष प्रदीप भट्टराईले राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताए । निजी क्षेत्रबाट आफूहरूले केवल सम्मान मात्र खोजेको उनको भनाइ छ । उनले रोजगारी सृजना गर्नका निमित्त सबैभन्दा पहिला व्यवसायीहरूको संरक्षण गरिनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र थिलोथिलो भैरहेको बताउँदै उनले यस्ता कार्यक्रमका माध्यमबाट व्यवसायहरूमा छुट्टै उर्जा आउने पनि बताए ।
उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य चक्र अधिकारीले कोहलपुरको पेरिफेरीमा सानादेखी ठूला उद्योगहरू रहेकाले यसको संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । उनले व्यवसायिक कृषि गर्नेहरूलाई सरकारले प्रोत्साहन गर्नु पर्ने बताए । उनले रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारले कृषिलाई प्राथमिकता राख्नु पर्ने धारण राखेका छन् ।
उद्योग वाणिज्य संघ कोहलपुरका संस्थापक अध्यक्ष कर्ण थापाले रोजगारी सृजनाका लागि आवश्यकताका आधारमा सीप सिकाउन जरुरी रहेको बताए । प्रविधिमैत्री तालिम दिनु पर्ने बताउँदै उनले रोजगारी सृजनाका लागि राजनीतिक इमान्दारीतामा समेत जोड दिए ।
उद्योग वाणिज्य संघ कोहलपुरका पूर्वअध्यक्ष चिन्तामणी धितालले स्थानीय सरकारले रोजगार नीतिनै बनाएर रोजगारी सृजना गर्ने कुरा सकारात्मक रहेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकार बीचका नीतिहरूमा एकरुपता हुनु पर्ने बताए । अहिले स्थानीय बजारमा दक्ष जनशक्ति अभाव रहेको पनि उनले उल्लेख गरे । उनले कृषि क्षेत्र रोजगारीको महत्वपूर्ण स्रोत रहेको बताए । ‘उद्योग, कृषि, पर्यटनलगायत रोजगारीका प्रमुख स्रोत हुन्,’ उनले भने, ‘स्थानीय सरकारले त्यसको पहिचान गरेर रोजगारी उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ ।’
संघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले खुला सीमा नाकाबाट हुने कारोबारमा भन्सार कडाइ नगरेसम्म स्थानीय रोजगारी सृजना गर्न चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘रोजगारी सृजनाका लागि पहिला सरकारी नीति राम्रो हुनु प¥यो । त्यसपछि उपभोक्ता इमान्दार हुनु प¥यो । त्यसो भयो भने कम्तीमा स्थानीय उत्पादनले बजार पाउँछ । स्थानीयले रोजगार पाउछँन् ।’
पूर्वअध्यक्ष नरेन्द्र शर्माले रोजगारी प्रदान गर्नका निमित्त रोजगारदाताहरूको पहिचान गरेर त्यसैअनुसार तालिम दिनुपर्ने बताए । उनले रोजगार खोज्नेहरूलाई सीप सिकाउनै पर्ने बताए । उनले भने, ‘रोजगारी खोज्नेहरूलाई सीपमूलक तालिम दिनै पर्ने जरुरी छ ।’ निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले स्थानीय सरकारले बनाउने नीतिमा रोजगारी दिने कि सृजना गर्ने स्पष्ट हुनु पर्ने बताए । उनले स्वरोजगार बन्नेहरूलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका महासचिव राजकुमार पौडेल, जुत्ता चप्पल व्यवसायी संघका अध्यक्ष आकाश घिमिरे, कपडा व्यवसायी संघका अध्यक्ष राजिव शर्मा, नमस्ते यातायात व्यवसायी संघका थम्मनबहादुर रोकाय, व्यवसायी राजेन्द्र रिजाललगायतले रोजगारी सृजनाका विभिन्न सुझाव दिएका थिए । कोहलपुर नगरपालिकाका बिधायन समिति संयोजक सुनिता सुनारको अध्यक्षतामा भएको कार्यक्रममा रोजगार सेवा केन्द्रका संयोजक वर्माले विषयवस्तुबारे जानकारी गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्