राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा कर्णालीको ४.१९ प्रतिशत योगदान



नन्दराम जैशी । सुर्खेत ।

राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८१-०८२ को प्रादेशिक कुल ग्राहस्थ उत्पादन अनुमानसम्बन्धी तथ्यांक सार्वजनिक गरेको हो । उक्त तथ्यांक अनुसार कर्णाली प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालू आर्थिक वर्ष २०८१÷०८२ का लागि करिब २ खर्ब ५६ अर्ब हुने अनुमान छ । गत आर्थिक वर्ष २०८०-०८१ मा करिब २ खर्ब ४५ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।

चालू आर्थिक वर्षमा कर्णाली प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ४.१९ प्रतिशत योगदान पु¥याउने अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०८०-०८१ मा कर्णालीले ४.२९ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ । त्यसैगरी चालू आर्थिक वर्षमा कर्णालीको स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ४.७४ प्रतिशत हुने अनुमान छ ।

गत आर्थिक वर्ष २०८०-०८१ मा ३.२६ प्रतिशत रहने संशोधित अनुमान थियो । चालू आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१.५० प्रतिशत) रहने उल्लेख छ । सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (०.१७ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ । गत गत आर्थिक वर्ष २०८०-०८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३०.१ प्रतिशत सहित अग्रस्थानमा हुने अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१७ प्रतिशत) मा रहने संशोधित अनुमान थियो ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालू आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्रमा (१०.४५ प्रतिशत) रहेको छ । भने सबैभन्दा थोरै खानी तथा उत्खनन् क्षेत्र (१.८५ प्रतिशत) को हुने अनुमान छ । त्यसैगरी गत आर्थिक वर्ष २०८०-८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१.७ प्रतिशत) को र सबैभन्दा थोरै (–१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान थियो ।

प्रतिव्यक्ति कुल ग्राहस्थ १०८९ डलर

कर्णाली प्रदेशमा प्रतिव्यक्ति कुुल ग्राहस्थ उत्पादन १०८९ डलर अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१-०८२ मा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ ।
गत आर्थिक वर्ष २०८०-८१ मा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान छ । चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन यू.एस. डलरमा बागमती प्रदेशको २६०२, गण्डकी प्रदेशको १६१९, कोशी प्रदेशको १४०१, लुम्बिनी प्रदेशको १२०१, सुदूरपश्चिम प्रदेशको ११५३, कर्णाली प्रदेशको १०८९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन यू.एस. डलरमा १४९६ हुने अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ । तथ्यांक कार्यालयका उप प्रमुख तथ्यांक अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कुल २१ ओटा औद्योगिक क्षेत्रमध्ये २० ओटा क्षेत्रलाई १८ ओटा समूहमा समावेश गरी राष्ट्रिय तहका कुल मूल्य अभिवृद्धि अनुमान गरिएको छ ।

सोही बमोजिम प्रदेश तहका कूल मूल्य अभिवृद्धि पनि १८ ओटा समूहमा प्रस्तुत गरी प्रकाशन गरिएको उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०८१-०८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब ७ अर्थ हुने अनुमान गरिएको छ । जसमा बागमती प्रदेशले ३६.५२ प्रतिशत, कोशी प्रदेशले १५.९० प्रतिशत, लुम्बिनी प्रदेशले १४.२३ प्रतिशत, मधेश प्रदेशले १३.१६ प्रतिशत, गण्डकी प्रदेशले ८.९८ प्रतिशत, सुदूर पश्चिम प्रदेशले ७.०३ प्रतिशत र कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पु¥याउने अनुमान छ ।

गत आर्थिक वर्ष २०८०-०८१ को संशोधित अनुमान बमोजिम कुल ग्राहस्थ उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको उनले बताए । गत वर्षको तुलनामा कुल ग्राहस्थ उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको योगदान सिमान्त रूपमा घटेको छ । भने मधेश र बागमती प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।

प्रादेशिक मूल्य अभिवृद्धि तथा वृद्धिदर

तथ्यांक अनुसार औधोगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ ।

आर्थिक वर्ष २०८१-०८२ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको छ । यसैगरी बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको छ ।

बागमती, मधेश र कर्णाली प्रदेश बाहेक सबै प्रदेशहरूको कुल ग्राहस्थ उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ । भने बागमतीमा पानी आपूर्ती तथा फोहर व्यवस्थापनसम्बन्धी क्रियाकलाप, मधेश तथा कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक रहेको छ । चालू वर्ष औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँस (१३.८२ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । जसमा लुम्बिनी र कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने अनुमान छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा भने यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै छ । त्यसैगरी बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा खानी तथा उत्खनन् ः कोशी र सुदूरपश्चिम प्रदेशमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनः मधेश प्रदेशमा शिक्षा र गण्डकी प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार