बागेश्वरी मन्दिरको हिसाबकिताब : महन्तको भागमा कुल आम्दानीको ७५ प्रतिशत



बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी तथा अर्का एक महन्तलाई मन्दिरमा सञ्चालन हुने पूजाआजाका क्रियाकलापबाट हुने आम्दानीको २५ देखि ७५ प्रतिशत हिस्सा बुझाउनुपर्छ । जसमा खुला दर्शन गर्दा बुझाउनुपर्ने प्रतिव्यक्ति एक हजार एक सय रूपैयाँ शूल्कको ७५ प्रतिशत महन्तहरूले पाउँछन् । यसैगरी विशेष पूजामा भएको आम्दानीको पनि ७५ प्रतिशत महन्तहरूले पाउँछन् । बलीको ७३ प्रतिशत, ब्रतबन्धको ४३ प्रतिशत, विवाह र पञ्चबलीको ३७ प्रतिशत शुल्क पनि महन्तहरूले नै राख्छन् । यसका साथै गाडी तथा मोटरसाइकल पूजा गर्दा तिर्नुपर्ने शुल्कको पनि २५ प्रतिशत हिस्सा महन्तहरूको नाममा जान्छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।

‘कुनैपनि मन्दिरमा मन्दिरको मूल महन्त वा पुजारीले मन्दिरको आम्दानीमा यति भाग पाउने भन्ने व्यवस्था हुँदैन । जो बागेश्वरी मन्दिरमा छ,’ बागेश्वरी मन्दिरको ऐतिहासिकताका बारेमा अध्ययन गरी पहिलोपटक पुस्तक प्रकाशन गरेका डा. राजकुमार सुवेदी भन्छन्, ‘अब महन्तहरूको निश्चित तलब र सुविधा तोकिनुपर्छ ।’

हिन्दु धार्मिक मान्यताअनुसार नेपालको प्रमुख शक्तिपीठमध्ये एक हो बागेश्वरी मन्दिर । यो मन्दिर नेपालीहरू नेपालगन्ज पुगेपछि एकपटक अनिवार्य पुग्ने ठाउँ त हो नै, भारतीय हिन्दु धर्मावलम्वीहरूले दर्शन गर्न आउने मन्दिर पनि हो । यस हिसाबले आर्थिक स्रोत तथा पर्यटकीय दृष्टिकोणले राम्रो सम्भावना भएको मन्दिर पनि हो बागेश्वरी मन्दिर ।

तर यही मन्दिरमा डा. सुवेदीले भनेजस्तै अरु मन्दिरमा नभएको एक अनौठो नियम छ, महन्त र मूल महन्तहरूलाई आम्दानीको निश्चित हिस्सा दिनुपर्ने । यो नियम परिवर्तन हुनुपर्ने माग नेपालगन्जवासीहरूले करिब दुई दशकदेखि उठाइरहेका छन् । तर, उक्त नियम परिवर्तन गर्न अहिलेका मूल महन्त चन्द्रनाथ योगी तयार छैनन् । मन्दिरको व्यवस्थापनका लागि भनेर गठित गुठी समिति पनि महन्तका अघि निरीह बन्न पुगेको छ ।

शनिबार बागेश्वरी मन्दिरको बारेमा जानकारी समेटिएको पुस्तक ‘शक्तिपीठ बागेश्वरी’ को विमोचन कार्यक्रममा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा.धवलशमशेर राणाले पनि महन्तलाई निश्चित तलब दिने निर्णयमा सहमत गराउन नसकिएको स्वीकार गरे । कार्यक्रममा सहभागीहरूले व्यवस्थापन समितिले महन्तलाई मन्दिरको आम्दानीको हिस्सा दिने व्यवस्था किन हटाउन नसकेको भनेर गरेको प्रश्नको उत्तर दिँदै डा. राणाले भने, ‘हामीले धेरै कुरा गर्न सक्यौँ, केही कुरा गर्न सकेनौँ । व्यवस्थित गर्न हामीले पुजारीलाई सकेनौँ । उहाँ (मूल महन्त)को मनस्थिति हामी सबैलाई थाहा छ । त्यसमा मैले अहिले सार्वजनिक रूपमा नबोल्दा राम्रो हुन्छ । तर बडा अप्ठ्यारो । उहाँले कसैलाई टेर्नुहुन्न यो कुरा हामी सबैलाई थाहा छ ।’

डा. राणाकै शब्दमा कसैलाई नटेर्ने मूल महन्त योगी तथा अर्का एक महन्तलाई मन्दिरमा सञ्चालन हुने पूजाआजाका क्रियाकलापबाट हुने आम्दानीको २५ देखि ७५ प्रतिशत हिस्सा बुझाउनुपर्छ । जसमा खुला दर्शन गर्दा बुझाउनुपर्ने प्रतिव्यक्ति एक हजार एक सय रूपैयाँ शूल्कको ७५ प्रतिशत महन्तहरूले पाउँछन् । यसैगरी विशेष पूजामा भएको आम्दानीको पनि ७५ प्रतिशत महन्तहरूले पाउँछन् । बलीको ७३ प्रतिशत, ब्रतबन्धको ४३ प्रतिशत, विवाह र पञ्चबलीको ३७ प्रतिशत शुल्क पनि महन्तहरूले नै राख्छन् । यसका साथै गाडी तथा मोटरसाइकल पूजा गर्दा तिर्नुपर्ने शुल्कको पनि २५ प्रतिशत हिस्सा महन्तहरूको नाममा जान्छ ।

देशकै महत्वपूर्ण शक्तिपीठको रूपमा रहेको मन्दिरको आम्दानीमै महन्तको भाग लाग्ने यो अनौठो नियमबाट पछिल्ला ७ वर्षमा मन्दिरको तलब तथा दशैँ खर्च शीर्षकको खर्च दुई सय ५३ प्रतिशतले वृद्धि भएको छ । तर मन्दिरको आम्दानी भने एक सय १५ प्रतिशतले मात्रै वृद्धि भएको छ । आव २०७४-७५ मा सात लाख ४० हजार आठ सय २७ रूपैयाँ तलबमा खर्च भएकोमा २०८०-८१ मा १८ लाख ८० हजार आठ सय ९५ रूपैयाँ तलबमा खर्च भएको छ ।

पछिल्लो ७ वर्षमा मात्रै मन्दिरको तलब र दशैँ खर्चमा मात्रै ८८ लाख ७८ हजार आठ सय ३९ रूपैयाँ खर्च भएको छ । जुन पछिल्ला सात वर्षमा भएको कूल आम्दानी तीन करोड ४७ लाख ९७ हजार ६ सय ९९ को करिब २६ प्रतिशत हुन आउँछ ।

बागेश्वरी मन्दिरको यस्तो बेथितिमा नागरिकस्तरबाट अनौपचारिकरूपमा मात्रै आवाज नउठेको होइन कि २०६९ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे संयोजकत्वमा गठित एक सुझाव समितिले पनि मूल महन्त तथा महन्तको पारिश्रमिक यकिन नहुनुलाई समस्याको रूपमा औँल्याएको थियो । तर, उक्त समितिले यस समस्या समाधानका लागि अस्पष्ट सुझाव दिएको थियो ।

समितिले दिएको सुझावमा आम्दानीअनुसार समितिले निर्धारण गरी मासिक तलब तोक्नुपर्ने सुझाव पनि दिएको छ भने आम्दानीको निश्चित प्रतिशत महन्त र पुजारीहरूलाई छुट्याउनुपर्ने सुझाव पनि दिएको छ । यही अस्पष्ट सुझावमा टेकेर महन्तले आम्दानीमा निश्चित हिस्सा तोक्ने नियम लगाएको देखिन्छ । जुन नियम परिवर्तन गर्न अहिले गुठी व्यवस्थापन समितिलाई हम्मे हम्मे परेको छ ।

यद्यपि गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष मधुसुदन शर्मा महन्तको तलब तोक्ने प्रयास सफल हुने चरणमा रहेको बताउँछन् । समितिले बागेश्वरी मन्दिर पूजा व्यवस्थापन कार्यविधिको मस्यौदा पनि तयार पारेको छ । उक्त मस्यौदामा पुजारीको सो सुविधा तोक्ने व्यवस्था पनि उल्लेख छ । जसमा बागेश्वरी मन्दिरस्तरका धार्मिक देवस्थलका मूल महन्त वा मुख्य पुजारीले पाउने सेवा सुविधा उपलब्ध गराइने उल्लेख छ ।

तर, यो मस्यौदा पारित गरी कार्यान्वयन गर्न वर्तमान समितिले नसकेको भन्दै अध्यक्ष डा. राणाले अब आउने समितिलाई उक्त म्याण्डेट दिनुपर्ने धारणा राखे । नेपालगन्जका एक स्थानीय किशोर लामाले आक्रोश व्यक्त गर्दै भने, ‘हामीले महन्तको सेवा सुविधा तोक्नुपर्छ भन्ने माग अघि सार्दा मलाई राज्यमन्त्रीसरहको सुविधा चाहिन्छ भने । महन्त जस्तो व्वक्तिले सेवा सुविधामा यस्तो लोभ गरेको सुहाउन्न ।’

म्याद नाघेको गुठी समितिले सार्वजनिक ग¥यो आयव्यय 

२०७४ साल असोज १० गते गुठी संस्थान प्रधान कार्यालयले ५ वर्षका लागि डा. धवशमशेर राणाको अध्यक्षमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरेको थियो । उक्त गठन आदेशअनुसार डा. राणा नेतृत्वको गुठी व्यवस्थापन समितिको तीन वर्ष पहिले नै म्याद पुगिसकेको छ । तर, उक्त समितिको म्याद गुज्रिएपनि न गुठी संस्थानले नयाँ समिति गठन गर्न चासो दियो न भएको समितिले नै नयाँ समिति गठनका लागि पहल ग¥यो ।

म्याद गुज्रिएको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिमा सबै राजनीतिक दलको भागबण्डा मिलेका कारण राजनीतिक दलहरूले पनि नयाँ समिति गठनका लागि चासो दिएनन् । बरु आफ्नो म्याद गुज्रिएको तीन वर्षपछि शनिबार पछिल्ला ७ वर्षको आयव्यय सार्वजनिक ग¥यो । सँगै समितिले यस अवधिमा गरेका कामहरूको विवरण पनि सार्वजनिक ग¥यो भने बागेश्वरी मन्दिरको इतिहास तथा महत्वपूर्ण दस्ताबेजहरू संकलन गरिएको पुस्तक पनि प्रकाशन ग¥यो ।

समितिका कोषाध्यक्ष मधुसुदन शर्माले सार्वजनिक गरेको आयव्यय विवरणमा समिति गठन हुँदाको वर्षमा भन्दा आव २०८०–८१ मा मन्दिरको आम्दानी भने एक सय १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस अवधिमा मन्दिरको बचत पनि एक करोड नाघेको आयव्यय विवरणमा उल्लेख छ ।

आव २०७४–७५ मा २७ लाख ७९ हजार चार सय ५५ रूपैयाँ बचत रहेकोमा आव २०८०–८१ मा आइपुग्दा एक करोड नौ लाख ३८ हजार रूपैयाँ बचत रहेको देखिन्छ । कोषाध्यक्ष शर्माका अनुसार समिति गठन हुँदा १७ लाख ८ हजार एक सय २३ रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी थियो । कोषाध्यक्षको प्रतिवेदनअनुसार वार्षिक आम्दानी पनि आव २०७४–७५ मा ५७ लाख ४४ हजार रहेकोमा २०८०–८१ मा ६६ लाख ३७ हजार पुगेको छ ।

यस अवधिमा बागेश्वरी मन्दिरमा अव्यवस्थित पसललाई व्यवस्थित गरिएको, १६ वटा नयाँ सटर बनाइएको, मन्दिरको सम्पत्ति खोजबिन गरिएको, मन्दिरको तिजौरी खोजी व्यवस्थापन गरिएको, कार्यालय व्यवस्थापन गरिएको, नियमित सूचना दिने गरिएको, मन्दिरको वेबसाइट निर्माण गरिएको समितिका सचिव गोपाल अधिकारीले बताए । यसैगरी, मन्दिरमा सीसीटिभीको व्यवस्था, रंगरोगन र मर्मत सम्भार गरिएको, सत्संग भवन निर्माण र चिल्ड्रेन पार्क मर्मत गरिएको, महाआरतिको सुरुवात गरिएको, कार्यविधि निर्माण गरिएको लगायतका कामहरू उपलब्धिका रूपमा समितिले सार्वजनिक गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार