लामो अन्तरालपछि नेपालगन्जमा मुशायरा



नेपालगन्ज ।

जिन्दगी और साथ थोडा दे ।
देश अपना हमे बनाना है ।।

जिन्दगीको ८८औँ वसन्तमा रहेका नेपाल तथा भारतका मुशायरा पारखीहरूमाझ शौक नेपालीका नामले प्रसिद्धि कमाएका अब्दुल लतिफ शौकले आफूभन्दा पाँच दशक कान्छा गजलकार लक्ष्मण सँगमसेत सहभागी मुशायरामा गजलको यो शेर सुनाउँदा हल तालीले गुन्जियो ।

नेपालगन्जमा लामो समयपछि शुक्रबार मुशायरा आयोजना गरिएको थियो । नेपालगन्जका उर्दुभाषी शायरहरू एवं नेपाली भाषी चर्चित गजलकारहरू एकसाथ मुशायरामा प्रस्तुत भएका थिए । नेपालगन्जमा यस्तो मुशायरा करिब एक दशकपछि भएको हो । मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको उक्त मुशायरामा ११ जना शायर तथा गजलकारहरूले आफ्ना छानिएका रचनाहरू सुनाएका थिए ।

नेपालगन्जका साहित्यकार, राजनीतिकर्मी, चिकित्सक तथा अन्य पेशाकर्मीहरूले लामो समयपछि सहरमा मुशायराको आनन्द लिन पाइएको भन्दै खुसी व्यक्त गरे । मुशायरामा शौक नेपालीसँगै उर्दुभाषी शायरहरू शैयद नेपाली, मुस्तफा अहसन कुरैसी, जमिल हाशमी, अन्सर नेपाली, सर्वर नेपाली र मो. आरिफ अन्सारीले आफ्ना उत्कृष्ट गजलहरू सुनाएका थिए । यसैगरी डा. निरज भट्टराई, हुकुम धड्कन र लक्ष्मण सँगमले नेपाली भाषामा र सविन एकतारेले नेपाली तथा अवधी भाषामा गजल सुनाएका थिए । हुकुम, अन्सर र शैयदले गायनमा पनि गजल सुनाए ।

कार्यक्रममा साहित्यिक कार्यक्रममा विरलै सहभागी हुने व्यक्तिहरू पनि सहभागी भएका थिए । उनीहरूले मुशायरामा उच्च कोटीका गजलहरू सुन्न पाइएको प्रतिक्रिया दिए । कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार, सम्पादक एवं साहित्यकार नगेन्द्रराज शर्मा, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, वरिष्ठ कथाकार सनत रेग्मी, प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. हरि तिमिल्सेना, प्राज्ञ सभा सदस्य शशीराम कार्कीसमेतको उपस्थिति रहेको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तुले समाजले आयोजना गर्दै आएको कविता श्रवणको श्रृंखला काव्यगन्जको तेस्रो अंकमा मुशायरा आयोजा गरिएको बताए । यसैगरी सोही कार्यक्रममा विगत ५४ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्तिका संस्थापक सम्पादक नगेन्द्रराज शर्मा र विगत ३२ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको शिवपुरी सन्देश पत्रिकाका पत्रिकाका प्रकाशक सम्पादक तथा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले अनुभवहरू सुनाएका थिए । स्रष्टा समाजकै विमर्श बिन्दु नामक अन्तक्र्रियात्मक कार्यक्रमको पाँचौ अंकमा शर्मा र वियोगीका अनुभवहरू सुनिएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार