शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
आर्थिक वर्ष २०७७–०७८ मा बाँकेमा सबैभन्दा कम १.२५ प्रतिशत बेरुजु थियो नेपालगन्ज उपमहानगरपालिकाको । उक्त वर्ष दोस्रो नम्बरमा रहेको नरैनापुर गाउँपालिकाको १.८५ प्रतिशत मात्रै बेरुजु थियो । यस्तै तेस्रो नम्बरमा खजुरा गाउँपालिका र चौथो स्थानमा बैजनाथ गाउँपालिका थिए ।
त्यतिबेला खजुरा २.८१ र बैजनाथ २.९५ प्रतिशत बेरुजु थियो । महालेखा परीक्षकको कार्यालयको तथ्यांकअनुसार राप्ती सोनारी गाउँपालिकाको ३.६९, कोहलपुर नगरपालिकाको ३.७१, डुडुवाको ४.३७ र जानकीको ६.२० प्रतिशत बेरुजु रेहेको थियो । उक्त आवमा सबैभन्दा कम नेपालगन्ज र सबैभन्दा धेरै जानकी गाउँपालिकामा बेरुजु देखिएको थियो ।
आर्थिक वर्ष २०७८–०७९ मा बाँकेका आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु कोहलपुर नगरपालिकाको ६.२४ र सबैभन्दा कम खजुरा गाउँपालिकाको बेरुजु २.४७ प्रतिशत थियो । यस्तै, राप्ती सोनारी गाउँपालिकाको ५.३१, नेपालगन्ज उपमहानगरपालिकाको ५.२, जानकी गाउँपालिकाको २.९२, नरैनापुर गाउँपालिकाको २.७१, डुडुवा गाउँपालिकाको २.४५ र बैजनाथ गाउँपालिकाको २.३२ प्रतिशत बेरुजु रहेको थियो ।
महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा आर्थिक वर्ष २०७९–०८० मा बाँकेका आठ स्थानीय तहमध्ये राप्ती सोनारी गाउँपालिकाको २.०५, खजुरा गाउँपालिकाको २.४७, जानकी गाउँपालिकाको २.९४, नेपालगन्ज उपमहानगरपालिको ४.०२, नरैनापुर गाउँपालिकाको समान ४.०२ र कोहलपुर नगरपालिकाको ४.४७, डुडुवा गाउँपालिकाको ४.७८ र बैजनाथ गाउँपालिकाको ५.१३ प्रतिशत बेरुजु देखाएको थियो ।
आव २०८०–०८१ मा खजुराको सबैभन्दा कम बेरुजु
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८०–०८१ मा बाँकेका आठमध्ये सबैभन्दा कम खजुरा गाउँपालिकाको २ करोड ८० लाख ८९ हजार (१.५०) प्रतिशत बेरुजु देखाएको छ ।
विगत चार आर्थिक वर्षको बेरुजु तथ्यांकको तुलना गर्दा खजुरा गाउँपालिका आर्थिक वर्ष २०७७–०७८ मा २.८१ प्रतिशत बेरुजुसहित तेस्रो नम्बरमा थियो । आर्थिक वर्ष २०७८–०७९ मा दोस्रो र आर्थिक वर्ष २०७९–०८० मा दोस्रो नम्बर थियो । आर्थिक वर्ष २०७९–०८० मा खजुरा गाउँपालिकाको २.४७ प्रतिशत बेरुजु थियो । खजुरामा आर्थिक वर्ष २०८०–८१ मा बेरुजु झण्डै आधा घटेको छ । महालेखाको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार खजुरामा जिल्लामै सबैभन्दा कम १.५० प्रतिशत बेरुजु रहेको देखिन्छ ।
दोस्रो नम्बरमा रहेको कोहलपुर नगरपालिकाको बेरुजु १.६६ प्रतिशत रहेको छ । कोहलपुरको कूल बेरुजु ४ करोड ३० लाख ४४ हजार रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९–०८० मा कोहलपुर नगरपालिकाको बेरुजु ४.४७ प्रतिशत थियो । समग्रमा दोस्रो नम्बरमा रहेपनि कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८०–०८१ मा राम्रो छलाङ मारेको देखिएको छ । तेस्रो नम्बरमा रहेको राप्ती सोनारी गाउँपालिकाको कूल बेरुजु ३ करोड ९१ लाख ५२ हजार (२.०५) प्रतिशत रहेको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको ८ करोड ७२ लाख ९७ हजार रूपैयाँ (२.२९) प्रतिशत बेरुजु देखाएको छ ।
डुडुवा गाउँपालिकाको ३ करोड ३० लाख २१ हजार रूपैयाँ अर्थात (२.७२) प्रतिशत बेरुजु रहेको छ । यस्तै २.८६ प्रतिशत बेरुजु रहेको जानकी गाउँपालिकाको कूल ३ करोड ३३ लाख ७२ हजार रूपैयाँ बेरुजु रकम रहेको छ । नरैनापुर गाउँपालिकाको पनि ३.०२ प्रतिशत बेरुजु छ । नरैनापुरमा कूल ३ करोड २६ लाख ५९ हजार रूपैयाँ बेरुजु रकम रहेको छ । बैजनाथ गाउँपालिकाको कूल ६ करोड ११ लाख ९४ हजार रूपैयाँ बेरुजु देखिएको छ ।
राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले महालेखाको प्रतिवेदन राप्ती सोनारीको लागि आत्तिनु पर्ने खालको नभएको बताए । राप्ती सोनारीको हकमा सैद्धान्तिक, नियमित र असुल उपर गरी तीन प्रकारका बेरुजु देखिएको उनले जानकारी दिए । राप्ती सोनारीमा शिक्षक अनुदान, करार कर्मचारी र स्वास्थ्य सेवा कर्मचारीहरूको विषयमा बेरुजु देखिएको अध्यक्ष पौडेलको भनाइ छ ।
नागरिकको नजिकैको सरकार भएका कारण कतिपय अवस्थामा कानुन अनुसार काम गर्दा नागरिकका अपेक्षा नसमेटिने अवस्था रहेको उनी बताउँछन् । सोही अनुसार केही बेरुजु बढेको उनले आँैल्याए । ‘अहिलेको हाम्रो नतिजा विगतको भन्दा सुधारिएर आएको छ । यसको कारण हामीले वित्तीय सुशासनमा दिएको ध्यान हो । असुल उपरसमेत गरिरहेका छौँ । अर्को वर्षमा अझै घटेर आउँछ,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै अध्यक्ष पौडेलले भने ।
खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदीप सुनारका अनुसार गाउँपालिकाले बेरुजुका कारण पहिचान गरेर कम गर्ने अभियान नै थालेको थियो । खासगरी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकको विशेष सक्रियताका कारण बेरुजु कम आएको उनले बताए । ‘उहाँले सधै कर्मचारीलाई यस विषयमा सचेत गराइरहनु भयो । कर्मचारीहरू यस विषयमा गम्भीर भएर लाग्नुभयो । कतिपय नसिकेका कुरा हामीले सिक्यौँ । बेरुजु कम गर्ने कार्यलाई प्राथमिकता दिइयो ।’ उनले मिसन टुडेसँग भने ।
अहिले खजुराको बेरुजु आएकोमा पेश्की रकम देखिएको भन्दै अब आउने वर्षमा यसलाई पनि कम गर्ने उनले बताए । बेरुजु शून्य गर्ने अभियानमा खजुरा लागेको भन्दै केही वर्षमा त्यसको असर देखिने पनि लेखा अधिकृत सुनारको भनाइ छ । कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी महालेखाको प्रतिवेदनमा नगरपालिका सन्तुष्ट रहेको बताइन् । उनका अनुसार विगतका वर्षहरूभन्दा कोहलपुरमा यसपटक राम्रो नतिजा आएको छ ।
नगरपालिकाले संस्थागत सुधार, अनावश्यक खर्च कटौतीका साथै योजना कार्यान्वयनलाई ध्यान दिइएको उपप्रमुख सुवेदीले बताइन् । उनले भनिन्, ‘नतिजा ठिकै आएको छ । विगतको भन्दा सुधारिएको अवस्था छ । यसमा अझै हामीले सुधारको प्रयास गरेका छौँ । सोही अनुसार नगरपालिका लागि परेको छ ।’









प्रतिक्रिया दिनुहोस्