कर्णालीका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक



सुर्खेत ।

कर्णाली प्रदेशका सबै जिल्लामा नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुगिसकेको छ । विगतका वर्षहरूमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि दुर्गम क्षेत्रमा पुस्तक अभाव हुने समस्या यस वर्ष भने धेरै हदसम्म समाधान भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख जमुना ढकालका अनुसार यस वर्ष समयमै योजना बनाइ ढुवानी र वितरण प्रक्रिया अघि बढाइएको थियो ।

जसले विद्यालयहरूमा पाठ्यपुस्तक समयमै पु¥याउन सफल भएको उनले बताइन् । ‘पहिलेजस्तो ढिलाइ हुने अवस्था यसपटक भएन, अधिकांश जिल्लामा शैक्षिकसत्र सुरु हुनुअघि नै पुस्तक वितरण भइसकेको छ,’ उनले भनिन्, ‘कर्णालीका हिमाली तथा पहाडी जिल्लामा कमजोर सडक सञ्जाल, प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण विगतमा पुस्तक वितरणमा ढिलाइ हुने गरेको थियो ।’

तर यस वर्ष स्थानीय तहसँग समन्वय, अग्रिम योजना र वैकल्पिक ढुवानी व्यवस्थाका कारण समस्या कम भएको ढकालले जानकारी दिइन् । शिक्षा क्षेत्रका सरोकारवालाहरूका अनुसार समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पर्नेछ ।विद्यालयहरूले पनि शैक्षिकसत्रको सुरुवातदेखि नै नियमित पठनपाठन सञ्चालन गर्न सहज भएको जनाएका छन् ।

स्थानीय शिक्षकहरूका अनुसार विगतमा पुस्तक ढिलो आउँदा पठनपाठन प्रभावित हुने, विद्यार्थीको रुचि घट्ने तथा शैक्षिक गुणस्तरमा असर पर्ने समस्या थियो । तर केही अतिदुर्गम बस्तीहरूमा अझै पनि सीमित रूपमा ढुवानी चुनौती बाँकी रहेको छ । सम्बन्धित निकायहरूले ती क्षेत्रमा समेत छिट्टै पुस्तक पु¥याउने प्रयास भइरहेको बताएका छन् ।

सरकारले यस वर्ष शैक्षिक कार्यतालिका संशोधन गर्दै वैशाख १५ गतेदेखि भर्ना अभियान र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने व्यवस्था थियो । कर्णालीका जिल्लाहरूमा भने भर्ना अभियान सुरु हुनुअघि नै पहिलो चरणका पाठ्यपुस्तक पुगिसकेको जनाइएको छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार जुम्लामा चैत अन्तिम सातामै पाठ्यपुस्तक पुगेको थियो । सुर्खेत र नेपालगन्ज कार्यालयमार्फत कर्णालीका विभिन्न जिल्लामा पुस्तक वितरण गरिएको हो । हुम्ला, डोल्पा, रूकुम पश्चिम, सल्यान र केही जाजरकोट क्षेत्रमा नेपालगन्जबाट तथा सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, मुगु र अन्य जिल्लामा सुर्खेत कार्यालयबाट पुस्तक पठाइएको छ ।

सुर्खेत कार्यालयका अनुसार हालसम्म सात करोड ६९ लाख ८७ हजार रूपैयाँँभन्दा बढी मूल्यका पाँच लाख ६६ हजारभन्दा बढी पाठ्यपुस्तक बिक्री वितरण भइसकेका छन्, जसमध्ये करिब ७० प्रतिशत पुस्तक बिक्री भइसकेका छन् । दैलेख, सुर्खेत, कालीकोट, जुम्ला, मुगु, हुम्ला र जाजरकोटमा उल्लेख्य मात्रामा पुस्तक वितरण भएको जनाइएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष गणेश रोकायाले पनि सबै जिल्लामा आवश्यक पुस्तक पुगिसकेको बताए । उनका अनुसार भर्ना अभियान ढिलो सुरु भएकाले विद्यार्थी, अभिभावक र शिक्षकमा केही अन्योल भने देखिएको छ ।

‘विगतमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा वार्षिक परीक्षा सुरु हुँदासम्म पनि विद्यार्थीले पूरा सेट पाठ्यपुस्तक पाउन नसक्ने अवस्था थियो, जसले शैक्षिक गुणस्तरमा नकारात्मक असर पार्दै आएको थियो,’ उनले भने, ‘तर यस वर्षको सुधारलाई शिक्षा क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ ।’ सरकार र सम्बन्धित निकायहरूले यस उपलब्धिलाई निरन्तरता दिन दीर्घकालीन योजना तथा प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार