बाँसगढी नगरपालिकाका वडाध्यक्षलाई छुट्टै बसेर परीक्षा दिने व्यवस्था



बाँसगढी, बर्दियास्थित बाँसगढी नगरपालिकाका एकजना वाडध्यक्षलाई विद्यार्थीहरुभन्दा छुट्टै बसेर आधारभूत तह (कक्षा ८) को परीक्षा दिने व्यवस्था मिलाइएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलप्रसाद गौतमलाई परीक्षार्थीहरुभन्दा छुट्टै एक्लै बसेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।


त्रिभुवन माध्यमिक विद्यालय ककौराको परीक्षा केन्द्रमा उनले कक्षा ८ को परीक्षा दिइरहेका छन् । वडाध्यक्षले परीक्षार्थीहरुसँग नबसेर छुट्टै परीक्षा दिएको गुनासो आएपछि पालिकास्तरीय परीक्षा अनुगमन समितिले अनुगमनसमेत गरेको छ । ‘वडाध्यक्षलाई छट्टै बसालेर परीक्षा दिने व्यवस्था मिलाइएको रहेछ,’ बाँसगढी नगरपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले भने, ‘अबदेखि अन्य परीक्षार्थीहरुसँगै बसेर वडाध्यक्षलाई परीक्षा दिने वातावरण बनाइएको छ ।’ उनका अनुसार अहिले वडाध्यक्षलाई अन्य परीक्षार्थीभन्दा पछाडि बसेर परीक्षा दिने भनिएको छ ।

त्यस्तै वडाध्यक्ष गौतमले परीक्षामा फर्जी परीक्षार्थी राखेर परीक्षा दिएको आरोप लागेको छ । यसको भने पुष्टि हुन सकेको छैन । यससम्बन्धी ईलाका प्रहरी कार्यालयमा समेत जानकारी छैन र अनुगमन समितिले समेत फर्जी विद्यार्थीले परीक्षा दिएको भेटाएको छैन । र, पनि सामाजिक सञ्जालमा वडाध्यक्षको आलोचना खेपिरहेका छन् । ‘सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य होइनन्,’ शिक्षा शाखा प्रमुख शाहीले भने, ‘सबै विद्यार्थीहरुसँग वडाध्यक्षलाई राख्न अफ्ठ्यारो मानेर छुट्टै परीक्षा दिने बनाइएको रहेछ ।’ अघिल्ला दुईवटा विषयका परीक्षा वडाध्यक्ष गौतमले छुट्टै बसेर दिएका उनले जनाए ।

यता वडाध्यक्ष गौतमले पनि सामाजिक सञ्जालमा भ्रामक र कपोकल्पित आरोप लागेको बताए । ‘मैले मेरो परीक्षा विद्यार्थीकै हैसियतमा दिएको छुँ,’ उनले भने । ‘म त अभिभावकजस्तो मान्छे हुँ । वडाध्यक्ष पनि,’ उनी भन्छन्, ‘मसँग बसेर परीक्षा दिँदा अन्य विद्यार्थीलाई मानसिक दबाब होला र परीक्षा बिग्रिएले भनेर छुट्टै बसेर परीक्षा दिएको हुँ । पछि गुनासो आएपछि विद्यार्थीहरुसँगै बसेर परीक्षा दिइरहेको छुँ ।’ यस वर्षको कक्षा ८ को परीक्षामा यहाँका एक हजार दुई सय ७७ जना विद्यार्थी सहभागी छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार