सडकमा उत्रिँदै ‘जेनजी’ पुस्ता



राजनीतिमा खासै रुची नदेखाउने र सामाजिक सञ्जालमै रुमल्लिरहने भनेर अघिल्ला पुस्ताहरूले सामान्यीकरण गर्दै आएको यो पुस्ताले आन्दोलनको केन्द्रमा भ्रष्टाचार र बेथतिको विरोध भनेको छ । पहिलो, सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनाशर्त पुनः सक्रिय बनाउनुपर्ने । दोस्रो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति होइन, निष्पक्षरूपमा आयुक्त नियुक्त गर्नुपर्ने । तेस्रो, बुढा नेताहरूले पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने माग अगाडि सारेको छ ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

सामाजिक सञ्जाल टिकटकमा केही दिनदेखि एउटा ट्रेण्ड चलिरहेको छ, ‘नेपो बेबी’ नाममा । फिलिपिन्स र इन्डोनेसियाको जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता)ले सुरु गरेको यस्तै खालको अभियानबाट सुरु भएर नेपालमा समेत फैलिएको यस ट्रेण्डमा नेताका छोराछोरीको विलासी जीवनशैलीलाई साधारण नेपालीहरूको आर्थिक संघर्षसँग तुलना गरेर भिडिओ तथा फोटोहरू पोष्ट गर्दै भ्रष्टाचारविरुद्ध विरोध जनाउने काम भइरहेको छ ।

यसैबीच सरकारले सामाजिक सञ्जालहरू बन्द गरिदियो । त्यसपछि इन्टरनेट र सामाजिक सञ्जालसँगै हुर्किएको जेनजी पुस्ताले सामाजिक सञ्जालमा चलिरहेकै आन्दोलनको समानान्तररूपमा सडकमा पनि आन्दोलन गर्ने घोषणा गरेको छ । आज सोमबार राजधानी काठमाडौँसहित देशका मुख्य सहरहरूमा गर्ने भनिएको सडक प्रदर्शन ‘नेपलिज स्टुडेन्ट्स फर जस्टिस’ नामक एक समूहले अगुवाइ गर्ने भनिएको छ । न्दोलनमा सहभागिताका लागि सामाजिक सञ्जालहरूबाटै आह्वान भइरहेको छ ।

सार्वजनिक ब्यानरमा ‘स्टुडेन्ट्स एण्ड जेनजी राइज अगेन्स्ट करप्सन’ उल्लेख छ ।राजनीतिमा खासै रुची नदेखाउने र सामाजिक सञ्जालमै रुमल्लिरहने भनेर अघिल्ला पुस्ताहरूले सामान्यीकरण गर्दै आएको यो पुस्ताले आन्दोलनको केन्द्रमा भ्रष्टाचार र बेथतिको विरोध भनेको छ । तर, यस पुस्तालाई सडकमै ल्याउनेगरी काम गरेको छ, सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले नै ।

प्रमुख सामाजिक सञ्जाल बन्दपछि वैकल्पिक सामाजिक सञ्जालमार्फत जोडिएका युवाहरूको समूहले आन्दोलनको योजना बनाएको पाइएको छ । आन्दोलनको अगुवाइ गरिरहेकामध्ये एक युवा आदित्य मिश्रका अनुसार यो आन्दोलनले मूलभूत रूपमा तीनवटा मागलाई अगाडि सारेको छ । पहिलो, सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनाशर्त पुनः सक्रिय बनाउनुपर्ने । दोस्रो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति होइन, निष्पक्षरूपमा आयुक्त नियुक्त गर्नुपर्ने । तेस्रो, बुढा नेताहरूले पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने ।

जेनजी पुस्ताको यो आन्दोलनमा राजनीतिकर्मी र सामाजिक अगुवाहरूले पनि समर्थन जनाएका छन् । सत्तारुढ नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले जेनजी पुस्ताको आन्दोलनलाई सामान्य आँक्न नहुने भन्दै लेखेका छन्, ‘जेनजी र अल्फा पुस्ता आइसक्यो । तर, यहाँ बेबी बुमर पुस्ताले थर्काउँदै छ । हा हु मा हैन क्षितिज पारीसम्म नियालेर उ आयो भने कसैले रोक्न सक्दैन ।’ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आन्दोलन शान्तिपूर्ण हुनुपर्ने शर्तसहित ऐक्यबद्धता रहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन्, ‘पछिल्लो पुस्ता जेनजी राजनीतिक चेतसहित सडकमा आउँदैछ । उनीहरूलाई उनीहरू नै हुन दिउँ । सिकाउन नथालौँ । आवश्यक पर्दा हाम्रा अनुभव सुनाउँला र के गल्ती भएर वा के कमजोरी भएर देश यो हालमा छ भन्ने निष्कर्ष सुनाउँला ।’ राप्रपाका नेता रविन्द्र मिश्रले पनि जेनजीलाई शुभकामना दिँदै लेखेका छन्, ‘यो देश तपाईँहरूको हो, हाम्रो होइन । मैले त भन्दै आएको छु हामी नेपालको इतिहासमा पापी पुस्ता हौँ । तिमीहरूको उदय शान्तिपूर्ण होस् ।’

काठमाडौँका प्रमुख बालेन साहले आन्दोलनमा आफू उमेर बढी भएकोले सहभागी नहुने भएपनि पूर्र्ण समर्थन रहेको बताएका छन् । कवि तथा लेखिका सरिता तिवारीले पनि आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहने भन्दै लेखेकी छन्, ‘प्रदर्शन राजनीतिलाई कमाउ धन्दा बनाउने नेतृत्व, कर्मचारी तन्त्र र सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको सञ्जाललाई चुनौती दिनेगरी बलियो बनोस् । अगाडि यो अभियानका अरु कार्यक्रमहरू पनि तय होउन् ।’

गायक शिव परियार, अभिनेता अनमोल केसी, हास्य कलाकार मनोज गजुरेललगायतले पनि यस आन्दोलनलाई शुभकामना दिँदै समर्थन जाहेर गरेका छन् । सामाजिक सञ्जालमा कन्टेन्ट क्रियटरहरूले पनि आन्दोलनमा सहभागिताका लागि आह्वान गरिरहेका छन् । त्यस्ता आह्वानलाई प्रयोगकर्ताहरूले भाइरल बनाइरहेका छन् । आन्दोलनका सन्दर्भमा सामाजिक सञ्जालमा प्रायः समर्थन र ऐक्यबद्धता जनाइएको देख्न सकिन्छ । इन्टरनेट सेवा प्रदायहरूले सामाजिक सञ्जालहरू बन्द गरेपनि प्रयोगकर्ताहरूले डिएनस परिवर्तन गरेर वा भिपिएनको प्रयोग गरी सामाजिक सञ्जालमा उपस्थिति देखाइरहेका छन् ।

तर, सरकार र स्वार्थ समूहहरूले आन्दोलनलाई दबाउन र तुहाउन सक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । सामाजिक सञ्जालमा कन्टेन्ट निर्माता रोशन श्रेष्ठ भन्छन्, ‘जेनजी पुस्ताले गर्न लागेको यो आन्दोलनमा कुनैपनि राजनीतिक पक्ष वा विपक्षका मानिसहरू उपस्थित नभएकै राम्रो ।राजनीतिक दलहरूले आआफ्नो तरिकाले समर्थन गर्न पाइन्छ । तर, फिल्डैमै गएर जिन्दावाद र मुर्दावादको नारा लगाउने काम भयो भने यो आन्दोलन स्वतः तुहिने छ ।’

काठमाडौँ उपमहानगरपालिका प्रमुख बालेन साहले पनि आन्दोलनलाई जेनजी पुस्ताकै रहन दिन आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘¥याली स्पष्ट स्वतः स्फुर्तरूपमा जेनजीको हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ । जसको लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वतः स्फुर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला ।’ प्रमुख शाहले जेनजी पुस्तासँग आह्वान पनि गरेका छन् । उनले लेखेका छन्, ‘प्रिय जेनजी, भन्नुस् तपाईँहरूले कस्तो देश देख्न चाहनु हुन्छ ?’

अर्काेतिर, सरकारले आन्दोलनलाई दबाउन बल प्रयोग गर्न सक्ने भन्दै त्यसका लागि पनि पूर्वतयारीसहित आउन कन्टेन्ट क्रियटरहरूले आग्रह गरिरहेका छन् । उनीहरूले आन्दोलनमा सहभागी हुँदा स्कुल ड्रेस र झोलामा किताबसहित उपस्थित हुन पनि आह्वान गरेका छन् । सामाजिक सञ्जालमा अभ्यस्त पुस्ताले सामाजिक सञ्जाल बन्द भएकै बेला सामाजिक सञ्जालबाटै सुरु गरेको यस्तो आन्दोलनप्रति अधिकांश सकारात्मक टिप्पणी आइरहेका छन् ।

अर्काेतिर, युवा पुस्ता आक्रोशसहित सडकमा आइरहँदा यसलाई सही दिशा र नेतृत्व दिन नसकिएमा त्यसले अराजकता निम्त्याउने वा आन्दोलन त्यसै तुहिने सम्भावना पनि हुने राजनीतिका जानकारहरूको भनाइ छ । राजनीतिक विश्लेषक तथा लेखक नरेन्द्रजंग पिटर अहिले जेनजी पुस्ता प्रतिक्रिया, अभाव र तनाव बोकेर सडकमा आउने संकेत दिएको बताउँछन् । यसका पछाडि सरकारले गरेको विकल्पविहीन निर्णय जिम्मेवार रहेको उनले बताए । उनले अहिले भनिएको आन्दोलन संवेदनशील परिदृश्यमा हुन लागेको पनि बताए ।

केही दिनअघि प्रधानमन्त्रीले एक सैन्य शक्तिमा आधारित संगठनको सदस्य बन्न चाहेको भन्नु, त्यसपछि सामाजिक सञ्जाल बन्द हुनु र युवा पुस्ता सडकमा आउन खोज्नु संवेदनशील समयमा हुन लागेको बताए । ‘यस्तो अवस्थामा हुने आन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले आन्दोलनलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न नखोज्लान् भन्न सकिन्न । जेनजी पुस्ताको काँधमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने षड्यन्त्र हुनसक्ने मैले देखेको छु,’ पिटरले भने ।

सत्याग्रहमार्फत आन्दोलन गर्दै आएका सामाजिक अभियन्ता ईः ले पनि जेनजीको आन्दोलनलाई सरकारले क्रूर दमन गर्न वा कुनै तिकडम लगाएर बिथोल्न खोज्ने वा अन्तर्राष्ट्रिय शक्तिहरूले दुरुपयोग गर्न सक्ने आशंका व्यक्त गरेका छन् । ‘त्यो नेपाली राजनीतिक इतिहासकै सबैभन्दा भयङ्कर मूर्खता हुनसक्ने सम्भावना छ,’ उनले लेखेका छन् । उनले युवाहरूमा देखिएको चरम निराशाको ऊर्जा असीमित देखिएको बताउँदै आन्दोलनको परिष्कृत, सर्वस्वीकार्य नेतृत्व नभएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्, ‘उत्तेजनाको बाढी अनियन्त्रित बन्नसक्छ, बनाइन सकिन्छ । वैश्विक र क्षेत्रीय माहौल पनि त्यसको लागि उर्वर छ ।’ उनले सरकारलाई नतमस्तक भई उदार हुनुभन्दा उत्तम विकल्प नभएको बताएका छन् । उनले भनेका छन्, ‘सञ्चारमन्त्रीको राजीनामासहित सामाजिक सञ्जालबारे निर्णय आजै सच्याउनु बुद्धिमानी हुनेछ ।’

आज नेपालगन्ज र कोहलपुरमासमेत प्रदर्शन

जेनजी पुस्ताले पश्चिम नेपालका प्रमुख सहर नेपालगन्ज र कोहलपुरमा समेत आज प्रदर्शन गर्ने तयारी गरेका छन् । युवा आदर्श रिजालले कोहलपुरको चौराहमा आज हुने आन्दोलनमा कोहलपुरका सम्पूर्ण युवाहरूलाई सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार देशभर जेनजी पुस्ताले सुरु गरेको आन्दोलनको समर्थनमा कोहलपुरमा समेत शान्तिपूर्ण आन्दोलन हुन लागेको हो । बिहान १० बजे कोहलपुरस्थित चौराहामा शान्तिपूर्ण आन्दोलन हुने उनको भनाइ छ ।

‘सामाजिक सञ्जाल बन्द हटाउनुहोस्, परिवर्तनका लागि बोल्नुहोस्, अभिव्यक्ति स्वतन्त्रताका लागि बोलौँ, भ्रष्टाचार रोक्नुहोस्’ लगायतका पोस्टरसहित आन्दोलन गर्ने तयारीमा यहाँका युवाहरू रहेका छन् । बाँकेका युवामाझ लोकप्रिय फेसबुक पेज कोहलपुर ग्यालरी अफिसियलमार्फत युवाहरूले चौराहामा हुने विरोध कार्यक्रममा सहभागिताका लागि आह्वान गरिरहेका छन् । कोहलपुरमा हुने आन्दोलनमा कुनै संगठन वा समूहमार्फत नभई स्वतस्फुर्त रूपमा युवाहरूको आह्वानमा हुन लागेको हो ।

यसैगरी नेपालगन्जमा समेत सामाजिक सञ्जाल बन्दविरुद्ध आन्दोलन हुने भएको छ । भ्रष्ट राजनीति, भ्रष्टाचारविरुद्ध बोलौँ भन्ने उद्देश्यसहित नेपालगन्जमा पनि युवाहरूको सहभागितामा आन्दोलन हुन लागेको हो । युवा विशाल पन्थीका अनुसार युवाहरूद्वारा आयोजित भ्रष्टाचार विरोधी अभियान र सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा पूर्ण समर्थन गर्दै नेपालगन्जमा समेत कार्यक्रम आयोजना गर्न लागिएको हो । उनी भन्छन्, ‘अब जाग्ने बेला आएको छ । पछि हट्नु हुँदैन । भ्रष्टहरूलाई नलखेटी बिश्राम लिनु हुँदैन । सबै जागौँ देशको लागि । हाम्रै भविष्य र भोलिको पुस्ताको लागि ।’

नेपालगन्जको विपी चोकमासमेत बिहान ९ बजे प्रदर्शनको तयारी गरिएको छ । सामाजिक सञ्जाल नै बन्द गरेर सरकारले देशमा भ्रष्चार विरुद्धका आवाज दबाउन खोजेको भन्दै सडकमा उत्रिन नेपालगन्जका एक जेनजी युवा शौरभ शाहले सामाजिक सञ्जालबाट आग्रह गरेका छन्। यता बाँके प्रशासनले भने कसैले पनि प्रदर्शनका लागि भनेर अनुमति लिन नआएको जानकारी दिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार प्रशासनले नेपालगन्ज, कोहलपुरमा हुने प्रदर्शनबारे कुनै जानकारी नपाएको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले पनि औपचारिकरूपमा जानकारी नआएपनि अनौपचारिकरूपमा सूचना पाएको मिसन टुडेलाई जानकारी दिए । अनौपचारिकरूपमा सूचना अनुसार नै सुरक्षाको व्यवस्थापन मिलाइएको बाँके प्रशासनले जनाएको छ ।

टिकटकमा चल्दै छ ‘नेपो बेबी’ ट्रेण्ड

नेता र शक्तिशालीहरूका सन्तानहरूको विलासी जीवन प्रदर्शन गर्ने फोटो तथा भिडिओलाई आम नेपालीको जीवनसँग तुलना गर्दै फोटो भिडिओ पोष्ट गरेर अहिले सामाजिक सञ्जाल टिकटकमा चलिरहेको छ ‘नेपो बेबी’ ट्रेण्ड । नेपो बेबीको शब्द परिवारवादलाई नकारात्मक अर्थमा जनाउन गर्न प्रयोग भइरहेको शब्द हो । यसको अर्थ शक्तिको आडमा सफलता प्राप्त गरेका वा अवसर पाएका नेता, कलाकार वा शक्तिशालीहरूका सन्तान भन्ने हो ।

अहिले नेपालमा चलिरहेको उक्त ट्रेण्डको निशानमा विशेषगरी पूर्वप्रधानमन्त्रीहरू र तिनका सन्तानहरू रहेका देखिन्छन् । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, डा. बाबुराम भट्टराई र उनीहरूका सन्तानको जीवनशैलीलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडिओ र फोटोमार्फत सार्वजनिक गरिरहेका छन् । उनीहरूको जीवनशैलीसँग आम नेपालीहरूले गर्नुपरिरहेको संघर्षलाई जोडेर भिडिओहरू तयार गर्दै पोष्ट गर्ने क्रम तीव्र छ । सबैभन्दा बढी देउवापुत्र जयवीर देउवा, प्रचण्डकी छोरी गंगा र नातिनी स्मिता दाहाललगातका तस्वीर पनि बढी पोष्ट गरिएका छन् ।

यसैगरी पूर्वमिस नेपाल एवं एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृखंला खतिवडाको जीवनशैली पनि ‘नेपो बेबी’ ट्रेण्डकर्ताको निशानामा देखिन्छ । यसैगरी काँग्रेस गण्डकीका सांसद तथा मन्त्री विन्दुकुमार थापाको छोरा, एमाले नेता महेश बस्नेतको छोरी, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको सन्तान, नेपाल टेलिकमकी महाप्रबन्धक संगीता पहाडीका सन्तान लगायतको विलासी जीवनशैलीका तस्बिर तथा भिडिओहरूलाई सामान्य नेपालीको जीवनशैलीसँग तुलना गरेर सार्वजनिक गरिरहेका छन् ।

उनीहरूले नेता तथा शक्तिशालीका सन्तानहरूले बाँचिरहेको उक्त विलासी जीवनशैलीका लागि आर्थिक स्रोत माग गरिरहेका छन् । उनीहरूले भिडिओ बनाउँदा पाश्र्वमा ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘गाउँ गाउँबाट उठ’, ‘मनि मनि मनि’ लगायतका गीतहरू प्रयोग गरिरहेका छन् । यस्तो ट्रेण्डबारे धेरैजसो नेताहरूले मुख खोलेका छैनन् । तर, एमाले नेता महेश बस्नेतले एमाले नेता महेश बस्नेतले आफ्नो छोरी ज्वाइँको तस्बिर जोडेर भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् ।

उनले ‘जेनजी’ले चलाएको यो अभियानलाई पुनरुत्थानवादी र अराजकतावादी प्रवृत्तिले सोसल मिडिया तथा पेड मिडियालाई हतियार बनाएर राज्य, त्यसका संयन्त्र, स्थापित दल र नेताहरूमाथि बदनाम सञ्चालन गरिएको अभियान भनेका छन् । उनले आफ्नो छोरीको विवाहजस्तो पवित्र पारिवारिक अवसरलाई समेत इष्र्या र द्वेषका आधारमा टिकटकमार्फत तोडमोड गरी गलत प्रचार गरिएको त्यसो गर्नेहरूलाई कारबाहीको माग गरेका छन् ।

यो ट्रेण्ड विशेषगरी इन्डोनेसियाका पूर्वराष्ट्रपति राष्ट्रपति जोको विडोडो (जोकोवी)का छोरा गिब्रान राखाबुमिङ राका उपराष्ट्रपति पदका उम्मेदवार बनेपछि शक्तिको आधारमा नेता बनाउन खोजिएको भन्दै सुरु भएको थियो । त्यहाँको जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले अहिले त्यहाँको राजनीतिलाई तरंगित गरिरहेको छ भने विश्वको ध्यानाकर्षण गरिरहेको छ । यसैगरी त्यहाँका सांसदहरूको आवास भत्ता बढाइएको विरोधमा त्यहाँ आन्दोलन सुरु भएको थियो ।

सांसदहरूलाई मासिक ५० मिलियन इन्डोनेसियाली रूपैयाँ आवास भत्ता दिने निर्णय गरिएको थियो, जुन जकार्ताको न्यूनतम ज्यालाको तुलनामा झन्डै १० गुणा बढी हुन आउँछ । उक्त निर्णयले आम जनतालाई आक्रोशित बनायो किनभने देशमा महँगी, बेरोजगारी र करको बोझ बढिरहेको छ । जनताले आफ्नो जीवनयापन धान्न सङ्घर्ष गरिरहेको बेला नेताहरूलाई यति धेरै सुविधा दिनु अन्यायपूर्ण भएको भन्दै जेनजी पुस्ताले सामाजिक सञ्जाल हुँदै सडकमा आन्दोलन सुरु गरे । त्यहाँ पनि सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेण्ड चलिरहेको छ ।

आन्दोलन सुरु भएपछि जकार्तामा प्रदर्शनकारी र प्रहरीबीच झडप भयो । जसमा २१ वर्षीय मोटरसाइकल ट्याक्सी चालक अफ्फान कुर्नियावानलाई प्रहरीको गाडीले किचेर मा¥यो । यो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशभर आक्रोश फैलियो । यसले गर्दा सवारी चालक, विद्यार्थी, मजदुर र अधिकारकर्मीहरू पनि आन्दोलनमा जोडिए । प्रारम्भमा जकार्ताको संसद भवन अगाडि सुरु भएको आन्दोलन देशका ११० भन्दा बढी सहरहरूमा फैलिँदा सयौँको सङ्ख्यामा नागरिकहरू घाइते भएका छन् ।

प्रहरीले तीन हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरेको अधिकारकर्मीहरूको दाबी छ । आन्दोलनको बढ्दो दबाबपछि त्यहाँका राष्ट्रपति प्रबोवोले विवादित आवास भत्ता खारेज गर्ने र सांसदहरूको विदेश यात्रामा रोक लगाउने निर्णय गरेका छन् । यही आन्दोलनको प्रभाव र प्रेरणाबाट नेपालमा पनि जेनजी पुस्ताले ‘नेपो बेबी’ ट्रेण्ड चलाइरहेकै बेला सामाजिक सञ्जाल बन्द भएपछि अब यो आन्दोलनकै समानान्तररूपमा सडकमा पनि आन्दोलन आइपुग्ने देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार