कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले आफ्नो १२औँ स्थापाना दिवस भव्यताका साथ मनाउने भएको छ । वैशाख २५ गते कोहलपुरले १२औँ स्थापना दिवस मनाउन लागेको हो । शुक्रबार नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी वैशाख २५ गते नगरपालिकाको १२औँ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाउन लागिएको वडा नम्बर १२ का अध्यक्ष एवम् १२औँ स्थापना दिवस सचिवालय उपसमितिका संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए ।
‘हामीले कोहलपुर नगरपालिकाको १२औँ स्थापना दिवस तथा वार्षिकोत्सव २०८२ लाई भव्यताका साथ मनाउन लागिरहेका छौँ, स्थानीय कला संस्कृतिको उत्थान, निजीक्षेत्रको साझेदारी र क्रियाशील व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रम आयोजना गरेका छौँ ।’ संयोजक शाहले भने, ‘स्थापना दिवसलाई उत्सवकै रूपमा मनाउनका लागि नगर प्रमुख पूर्णप्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेका छौँ ।’
संयोजक शाहले वडा नम्बर ८ का अध्यक्ष लालबहादुर रानाको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडा नम्बर २ का अध्यक्ष हरी कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडा नम्बर ४ का अध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाइ उपसमिति गठन गरेर तयारीलाई तीव्र पारिएको बताए ।
स्थापना दिवसका अवसरमा पाँच दिने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको उनले बताए । उनका अनुसार वैशाख २१ गतेदेखि वैशाख २५ गतेसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ । पञ्चैबाजा, टप्पा, थारू, गन्धर्व, मयूर, खाँडो र ख्याली सहितको स्थानीय मौलिक परम्परा र पहिचान झल्किने कला संस्कृतिको प्रदर्शनी, सामूहिक नृत्य प्रतियोगिता, खुला कविता प्रतियोगिता, विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, कर्मचारी, जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारबीच भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरू गरिने संयोजक शाहले जानकारी दिए ।
स्थापना दिवसमा उत्कृष्ट करदाता सम्मान, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विद्यालयस्तरीय दौड, उत्कृष्ट खेलाडी सम्मान, विशेष योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान लगायतका कार्यक्रमसमेत रहेको शाहले बताए ।
वैशाख २५ गतेका दिन लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेनाको प्रमुख आतिथ्यतामा कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित खुला मैदानमा भव्य समारोहका बीच औपचारिक कार्यक्रमको आयोजना गरिने र मुख्य समारोहमा कोहलपुर नगरपालिकाको समग्र विकासमा योगदान पु¥याउने व्यक्तिहरू तथा संस्थाहरूलाई सम्मानसमेत गरिने उनले जानकारी दिए ।
वैशाख २१ गते नृत्य प्रतियोगिता, २२ गते कर्मचारी र जनप्रतिनिधि, उद्योगी व्यवसायी र पत्रकारबीच भलिबल प्रतियोगिता र खुला कविता प्रतियोगिता २३ गते महिला कर्मचारी, शिक्षिका, संघसंस्था, सञ्चारकर्मीबीच भलिबल प्रतियोगिता र विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता २४ गते रक्तदान कार्यक्रम, विद्यालयस्तरीय दौड प्रतियोगिता र निःशुल्क स्वास्थ्य शिविर र २५ गतेका दिन मूल समारोह आयोजना गरेर स्थापना दिवस मनाइने संयोजक शाहले जानकारी दिए ।
उनका अनुसार २५ गते बिहान पिपल चौतारादेखि प्रभातफेरी सुरु गरेर कार्यक्रमस्थल पुग्ने कार्यक्रम रहेको छ । नगरपालिकाले स्थापना दिवसलाई भव्यरूपमा सफल बनाउनका लागि सबै पक्षसँग सहयोग, सहकार्य र साझेदारीका लागि अनुरोधसमेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्