पौवाले दुई लाख पाहुनालाई निःशुल्क स्वाद चखाउँदै



नेपालगन्ज ।

होटल पौवा प्रालिले नवौं वार्षिकोत्सवको अवसरमा दुई लाख पाहुनाहरूलाई परिवारहरूको स्वाद चखाउने भएको छ । आजदेखि चैत २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवमा दुई लाख पाहुनालाई निःशुल्क स्वाद चखाउनेछ । स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पौकाका सिओओ कृष्ण गौतमले जानकारी दिए । होटल पौवाले उक्त उत्सवलाई नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर भनेको छ ।

यसैबीच, होटल पौवाले नेपालगन्जमा पाँच तारे होटल ‘पौवा वेष्टर्न’को पहिलो चरणको काम सम्पन्न भएको जानकारी पनि दिएको छ । एक अर्ब रूपैयाँ बढीको लगानीमा होटल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको होटलले जनाएको हो । पौवाको विस्तारमा अहिलेसम्म बिभिन्न बैंकहरूको ८५ करोड लगानी भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले लगानीकर्ताहरूले झण्डै ४० करोड लगानी गरेको बताए ।

उनका अनुसार नेपालगन्जमा मुख्य आवास भवन निर्माण भइरहेको छ भने अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । नेपालगन्जमा फरक–फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल, सात वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिइएको छ ।

९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने पनि होटलले जनाएको छ । होटल पौपा स्थापनाको नौ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौँ र सौराहामा पौवाको सेवा सञ्चालनमा छ । लुम्बिनी प्रदेशको रूपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पनि सेवा दिइरहेको होटलले जनाएको छ ।

त्यसैगरी पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि रिसोर्टसहित होटल सञ्चालनमा रहेको छ । त्यसैगरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा सञ्चालनमा छ । यसैगरी पाल्पाको झिँगामारामा पौवा वनवास रिसोर्ट, कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेको तथा मधेश प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिएको पनि होटलले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ चैत २५ गते सोमबार